a
![]() |
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दिल्लीले नेपाललाई सिक्किम, क्रिमिया र पूर्वी पाकिस्तानजस्तो बनाउन खोजेको बताएका छन्। दिल्लीले नेपालका आठ जिल्लालाई अलग्याउन खोजेको पनि उनले बताए। भारतले छुट्ट्याउन खोजेका जिल्ला कुनकुन हुन् र किन भारत नेपाललाई अलग्याउन खोज्दैछ भन्नेचाहिँ दाहालले बताएनन्।
उनले भने, ‘नेपाल टुक्र्याउन दिल्लीले राजनीतिक विङको नेतृत्व महन्थ ठाकुर र उपेन्द्र यादवलाई दिएको छ भने मिलिटरी विङको नेतृत्व सीके राउत र जयकृष्ण गोइतहरूलाई दिएको छ।’
क्रान्तिकारी पत्रकार संघको केन्द्रीय कार्यालय बैठकमा दाहालले नेपालमाथि नाकाबन्दी लगाएका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वभर बेइज्जत भएकाले उनी नाकाबन्दी लम्ब्याउने पक्षमा नरहेको पनि बताए। संविधान संशोधन हुनासाथ नाकाबन्दी खुल्ने दाहालको भनाइ थियो।
दाहालले भने, ‘संविधान बनाएपछि भारतले नाकाबन्दी लगाएको छ तर मोहन वैद्यजीहरू समाजवाद उन्मुख संविधानलाई साम्राज्यवादी भनिरहनुभएको छ। बुझिनसक्नु छ।’बैठकमा दाहालले भने, ‘दस वर्ष जनयुद्धमा बिताएँ । दस वर्ष शान्तिप्रक्रियामा बिताएँ। समाजवाद उन्मुख संविधान बनेको छ। अब दस वर्ष समाजवादका लागि लड्छु।’
केही दिनअघि सकिएको पार्टी केन्द्रीय समितिको बैठकमा पार्टी कोषाध्यक्ष हरिबोल गजुरेलले ‘वैद्यजीहरू यही पार्टीमा बसेको भए संविधान बन्दैनथ्यो, बाबुरामजीका कारण पार्टी बनाउन सकिएन’ भनेको सन्दर्भ कोट्ट्याउँदै दाहालले भने, ‘कुरा त्यस्तै हो।’
एक वर्षपछि पार्टी अध्यक्ष दिन्छु भनेकाले बाबुराम भट्टराई एक वर्षसम्म टिकेको पनि दाहालले बताए। संविधान घोषणा गर्ने ८-१० दिनअघिदेखि नै भट्टराई संविधान जारी गर्ने प्रक्रियाबाट पछि हटेको दाहालले बताए। आजको अन्पूर्णपोष्टमा खबर छ ।
a
![]() |

0 comments:
Post a Comment