a
|
प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालको कार्यशैलीले सोही कथाको पुनरावृत्ति गरेको छनक दिन्छ । खासगरी महानगरीय अपराध अनुसन्धान शाखामा उनको आगमनसँगै राजधानीको गुन्डाराजमा ठूलो झट्का लागेको छ ।यसको सिलसिला सुरु हुन्छ, रणजितमाथि बेबिलोन डिस्कोमा गरिएको गोली प्रहारबाट । चलाखीपूर्ण ढंगले आफ्नो कैद सजाय अर्कैलाई भुक्तान गराएर खुला आकाशमुनि चैनको जीवन बिताइरहेका रणजितलाई पक्राउ गरेसँगै एसएसपी खनाल चर्चामा आए । त्यसपछि उनले दोस्रो निसाना बनाए, कुमार घैंटेलाई । घैंटे फिल्मी शैलीको इन्काउन्टरमा मारिएपछि राजनैतिक संरक्षणमा हुने गुन्डाराजमा ठूलो खैलाबैला मच्चियो । वैदेशिक शिक्षाको आवरणमा मौलाइरहेको ठगी धन्दा रोक्न कदम चाल्ने खनालको चर्चा ‘म्याच फिक्सिङ’ कान्डले थप उचाइमा पुर्याएको छ ।राजनैतिक संरक्षण पाएका डनदेखि भित्रभित्रै ठगी धन्दा गर्नेहरूलाई घोक्रेठ्याँक लगाउने पुलिस अफिसर खनालको निजी जीवन कस्तो होला ? स्वभाविक रूपमा चासो हुन्छ । कार्यशैली हेर्दा ‘खरो’ लाग्ने एसएसपी खनाल निजी जीवनमा भने शान्त, सौम्य र शालिन छन् । यद्यपि उनी यस्तो ठाउँमा विराजमान छन्, जसलाई चारैतिर तनावले घेरेको छ । यही तनावले उनको निन्द्रा बिथोल्छ ।
‘ओछ्यानमा पल्टिएर दिनभरको घटनाक्रम मनमनै केलाउँछु,’ खनाल भन्छन्– ‘त्यसले मेरो निन्द्रा बिथोल्छ ।’ त्यसैले होला, उनी बिहान अबेर उठ्छन् । उठ्नासाथ दैनिक पत्रपत्रिका सरसर्ती हेर्छन् । आफ्नो क्षेत्रसँग सम्बन्धित समाचारमा गहिरिन्छन् । राजनीतिक घटना, टीका–टिप्पणीमा भने एकपटक नजर दौडाएपछि पुग्छ ।त्यसो त दिनहुँजसो अखबारमा प्रहरी र अपराधसँग सम्बन्धित समाचारहरू आइरहेकै हुन्छन् । त्यस्ता समाचारमा उनी प्रत्यक्ष/परोक्ष जोडिएकै हुन्छन् । त्यस्ता कतिपय समाचार सन्तुलित हँुदैनन्, जसले उनलाई खिन्न तुल्याउँछ । ‘सत्य–तथ्य र सन्तुलित समाचार पढेपछि रमाइलो लाग्छ,’ खनाल भन्छन् । उनलाई आफ्नो सम्बन्धमा लेखिएका लेख/सामग्रीप्रति खासै आशक्ति छैन, अर्थात् उनी आत्मारत्तिमा रमाउने प्रवृत्तिका मानिस होइनन् ।पत्रपत्रिका हेर्ने क्रममै उनको एक घण्टा बित्छ । त्यसपछिको समय ब्याडमिन्टनका लागि छुट्याएका छन् । सम्भव भएसम्म वसुन्धरास्थित घरनजिकैको क्लबमा गएर ब्याडमिन्टन खेल्छन् । यसका निम्ति कहिलेकाहीं महेन्द्र पुलिस क्लब पनि पुग्छन् । यसबीच प्रशस्तै मनतातो पानी, हल्का ब्रेकफास्ट लिइसकेका हुन्छन् । खनाल ब्याडमिन्टनका अब्बल खेलाडीसमेत हुन् । एक/डेढ घण्टा खेलकुदमा बिताएपछि फ्रेस भएर सोझै उनी टेकुस्थित महानगरीय अपराध महाशाखामा हाजिर हुन्छन् ।बिहानको ९ बजेअघि नै कार्यकक्षामा उपस्थित भएर ब्रिफिङ लिएपछि दैनिक कामको खाका तयार हुन्छ । घटनाक्रमहरूका बारेमा अपडेट हुन्छन् । कामको प्रगति विवरण लिन्छन् । यसैबाट दिनभर गर्नुपर्ने कामको योजना तय हुन्छ । स्टाफको व्यवस्थापन गर्नेदेखि आवश्यक कारबाही चलाउनेसम्मको गतिविधिले उनलाई बेफुर्सदिलो बनाउँछ । यस्तै व्यस्तताकाबीच बिहान ११ बजे बिहानको खाना खान्छन्, त्यो पनि प्रहरीकै मेसमा । उनको खाना अक्सर सादा हुन्छ— दाल, भात, तरकारी।खानामा गान्टेमुला, बकुल्ला, चम्सुर पालुङ्गोको साग, चिचिन्डो बढी स्वादिलो लाग्छ । दुध र भातको बेजोड स्वादमा उनको जिब्रो लोभिएको छ । बिहान भरपेट खाएपछि दिनभरलाई पुग्छ । त्यसपछि बेलुकी घर फर्किएपछि उनी केही टुक्रा चिकेनसँगै हल्का खानेकुरा खान्छन् । कहिले पाउरोटी हुन्छ, कहिले नान वा परौठा । रोटीमा खासै स्वाद नभिजे पनि रातको खानामा यसलाई सामेल गर्छन् । उनी खानपानको उस्तो लोभी होइनन् । मीठो वा नमिठो भनेर त्यति टिप्पणी गर्ने बानी पनि छैन । जस्तो पाक्छ, चुपचाप खान्छन् । भान्छामा छिरेर पकाउने जाँगर पनि चल्दैन । ‘विदेशमा भएका बेला ओभनमा तताएर खान पनि जाँगर चलेन,’ खनाल ठट्यौली शैलीमा भन्छन् ।
९ बजेभित्र खाना खाइसकेपछि एकैछिन टिभी हेर्छन्, पुस्तक पढ्छन् । बीबीसी, सिएनएनजस्ता विदेशी समाचार च्यानलहरू हेरेपछि ओछ्यानमा पस्छन् । त्यतिबेला रातको ११ बजिसकेको हुन्छ ।
जिम्मेवार र संवेदनशील क्षेत्रमा आबद्ध भएकाले उनी सामाजिक सञ्जालमा जोडिन त्यति रुचाउँदैनन् । फेसबुक एकाउन्ट त छ तर त्यसमा खासै अपडेट हँुदैनन् । आफ्नो बखान आफैं गर्ने, फोटोहरू अपलोड गर्ने काममा त्यति जाँगर चल्दैन । ग्याजेट्सका खासै सौखिन नभए पनि उनी एप्पलका उत्पादनमा बढी निर्भर छन् । आइफोन–६ बोक्ने खनाल म्याकबुक एयर चलाउँछन् ।
सकेसम्म टिपटप हुन रुचाउँछन्, उनी । पहिरन समय र मौसम अनुकूल होस् भन्ने कुरामा सदैव सचेत रहन्छन् । अलि भलाद्मी देखिने किसिमको रंगका पहिरन मन पर्छ । व्यक्तित्व विकास र आत्मविश्वास बढाउन पहिरनको भूमिका छ भन्ने ज्ञान उनमा छ । ‘कुन ठाउँमा कस्तो पहिरनमा प्रस्तुत हुने भन्ने कुरामा सचेत छु’ खनाल भन्छन् ।
कालो, नीलो रंगमा आफ्नो व्यक्तित्व खुल्छ भन्ने लाग्छ, उनलाई । कार्यक्षेत्रबाहिर रहँदा भने जिन्स, टिसर्टमै ठाँटिन रुचाउँछन् । यस्ता पहिरन प्राय: आफन्त, साथीभाइले विदेशबाट ल्याइदिने गरेको उनले वताए । ‘साथीहरूले विदेशबाट उपहारमा लुगा ल्याइदिन्छन्,’ खनाल भन्छन्– ‘यस्तै पहिरन मलाई पुग्दो हुन्छ ।’ बाहिर निस्कनुअघि चस्मा लगाउने बानी थियो, जुन अहिले अलि कम भएको छ । नाडीमा राडो वा टिसोट ब्रान्डको घडी भने हुन्छ ।
उनको कार्यशैली हेरेर धेरैले केही रमाइलो गर्न, घुमफिर गर्न, फिल्म हेर्न सुझाव दिन्छन् । यद्यपि यस्ता कुराबाट भन्दा पनि आफ्नो कामबाटै उनी बढी मनोरञ्जन लिन्छन् । खनाल भन्छन्– ‘मलाई त नयाँ–नयाँ चुनौती मोल्नमै बढी रमाइलो लाग्छ ।’ यद्यपि गेट टुगेदर गर्ने, नाच्ने काममा पनि उनी उत्तिकै अग्रसर हुन्छन्- See more at: http://www.zoomnp.net/archives/18776#sthash.uXyw1eOy.dpuf
a
|
0 comments:
Post a Comment