a
|
शेखर क्षेत्री - काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनेदेखि नै विरोध र आलोचना खेप्दै आएका लोकमानसिंह कार्कीमाथि पछिल्लो समय साना माछालाई पक्रेर ठूलो माछा जोगाएको आरोप लाग्ने गरेको थियो । ठूलो माछालाई उम्काएको आरोप खेप्दै आएका प्रमुख आयुक्त कार्कीले निकै लामो तयारीपछि केही पूर्वमन्त्री, पूर्वसचिव, पूर्वप्रशासक लगायतलाई अकुत सम्पत्ति आर्जन गरेको भन्दै बयानका लागि पत्र काटेपछि अहिले हलचल मच्चिएको छ । सत्तासीन दलकै प्रभावशाली नेताहरूलाई समेत छानिछानी पत्र काटिएपछि ती दलहरूमा हंगामा भएको छ भने शक्तिको दुरुपयोग गर्दै आफूलाई सधैं मसिहा ठान्नेहरूको समेत पसिना निस्किएको छ ।यहीबीचमा ठूला माछालाई समाउन खोज्ने प्रमुख आयुक्त कार्कीको प्रयासको समेत कडा रुपमा विरोध हुन थालेको छ । केही नेताहरूले खुलेरै आफूलाई भ्रष्टाचारी साबित गर्न कार्कीलाई ठाडो चुनौती समेत दिन थालेका छन् । आखिर लोकमानसिंह कार्कीको यो प्रयास नेताहरूले भनेजस्तो पूर्वाग्रहबाट प्रेरित हो त ? कतिपयले भनेजस्तो भारतीय इसारामै राष्ट्रवादी अभियानलाई कमजोर पार्न र सत्तासीन दलहरूको आन्तरिक अमनचयन बिथोल्न नै लोकमानसिंहले नाकाबन्दीले सकस भइरहेको अवस्थामा यस्तो कदम चाले होलान् ? वा निरन्तरको आलोचनाबाट आफ्नो भूमिकालाई सफा रूपमा प्रस्तुत गर्न लोकमानले साँच्चिकै ठूलो माछा समाउने आँट गरेका हुन् ?शुक्रबार एकाएक अख्तियारले ठूला माछा (ठूला नेता, प्रशासक)हरूलाई सात दिने पत्र काटेको कुरा आइतबार सार्वजनिक भएपछि यस्ता अनेकन प्रश्नहरू उब्जिएका छन् ।
a
|
0 comments:
Post a Comment