a
|
भारी वर्षाले यसरी भक्तपुरलाई डुबायो (भिडियो सहित)
काठमाडौं, १० भदौ । बुधबार राति देखि बिहीबार बिहान सम्म परेको भीषण वर्षाका कारण आएको बाढीले भक्तपुर र मध्यपुर थिमि नगरपालिका डुबानमा परेको छ । भारी वर्षापछि हनुमन्ते खोलामा आएको बाढीका कारण खोला आसपासका क्षेत्रहरु डुबानमा पर्दा त्यसक्षेत्रको जनजीवन प्रभावित भएको छ । भक्तपुर र मध्यपुर थिमिमा बाढीको पानी पसेपछि स्थानीय मर्कामा परेका छन् । बाढी बस्तीभित्र पसेपछि अरनिको राजमार्ग, अस्पताल, विद्यालय, भूकम्पपीडितका अस्थायी शिविर, जगाती–च्याम्हासिंह क्षेत्र, भेलुखेल, राममन्दिर, बाराहीस्थानका घरहरु डुबानमा परेका छन् ।भक्तपुर नगरपालिकास्थित महेश्वरी खेल मैदानमा रहेको भूकम्पपीडितको ८ सय ५० जना बस्दै आएको शिविर पूरै डुबानमा परेपछि बिहानैदेखि भागदौड मच्चिएको थियो ।शिविरको बस्तीमा बसेका भूकम्पपीडितले कुनै सामान झिक्न पाएनन् भने नेपाली सेना र प्रहरीले शिविरका धेरैलाई उद्धार गरेका थिए । खोलाको बाढी सडक हुँदै बस्तीमा पसेपछि यस क्षेत्रका घरहरु एकतलासम्म डुबानमा परेका थिए ।भक्तपुर नगरपालिका भएर बग्ने हनुमन्ते खोला क्षेत्र आसपासमा जगाते– च्यामासिंह सडकखण्डका दायाँबायाँका बस्ती, महेश्वरी क्षेत्र, हनुमानघाट, भेलुखेल, राम मन्दिर क्षेत्र, बाराही स्थान, सल्लाघारी, सिर्जनानगरका सयौँ घर, पसल एवम् कारखाना डुबानमा परेका छन् ।भक्तपुरको शान्ति निकेतन मावि, शारदा प्रावि, बालसेवक निमावि, ब्राइटस्टार, परोपकारको भवन डुबेपछि पढाइसमेत अवरुद्ध भएको छ भने बाढीले सडक अवरुद्ध बनाएपछि धेरै विद्यालयको पढाइ प्रभावित भएको छ ।
भक्तपुरकै सिद्धिस्मृति अस्पताल, इवामूरा अस्पताल डुबानमा परेपछि बिरामीको उपचार समेत प्रभावित भएको छ । इवामुरा अस्पतालमा पानी पसेर डुबानमा परेपछि आकस्मिक सेवा र ओपिडी सेवा र कलेज नै बन्द गर्नुपरेको थियो ।यता मध्यपुर थिमिमा बाढी पसेपछि यहाँका तीन सय ५० घर डुबानमा परेका छन् । मध्यपुर थिमि नगरपालिका क्षेत्रको निकोसेरा, राधेराधे, चक्रवर्ती मार्ग पूरै डुबानमा परेको छ ।वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसेमा पहिरो जाँदा करिब पाँच घन्टा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा उपत्यकाबाट रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्ला जाने सवारी साधन र उताबाट उपत्यका आउने सवारी साधन बीचमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए । डोजरले पहिरो पन्छाएपछि सडक ९ बजे खुलेको थियो ।
a
|
0 comments:
Post a Comment