a
|
कार्तिक २९, २०७२- तिहार अगाडि वीरगन्जका एक निजी विद्यालयले सादा पोसाकमै विद्यार्थीको पठनपाठन सुचारु गर्ने भन्दै विद्यालय खोले। पहिलो दिन ४ सयभन्दा बढी विद्यार्थी पुगे। अर्को दिन मधेसी मोर्चाका कार्यकर्ता विद्यालय खोल्ने भए जारी मधेस आन्दोलनमा सहयोग वापत १ लाख रुपैयाँ सहयोग गर्नुपर्ने भन्दै दबाब दिए।
लामो बन्दले विद्यार्थीबाट मासिक शुल्कसमेत संकलन नभएकाले भन्दै सञ्चालकले अहिले चन्दा दिने हैसियत नभएको प्रतिक्रिया दिए। चन्दा नदिने भए विद्यालय खोल्न नपाइने भन्दै उनीहरूले बन्द गर्न आदेश दिए। वीरगन्जका विद्यालय ३ महिनादेखि बन्द छन्। लामो समयदेखि शैक्षिक संस्था ठप्प हुँदा विद्यार्थीको पढ्ने बानी नै हराएको अभिभावकले गुनासो गर्न थालेका छन्। विद्यालय जान नपाएपछि विद्यार्थी सडकमा इन्धन बिक्री गरिरहेको, प्रहरी र आन्दोलनकारीको दोहोरो झडपमा ढुंगा हिर्काउने काममा समेत संलग्न हुन थालेका छन्।
वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका अधिकांश उद्योग बन्द भए पनि सञ्चालनमा रहेका केही उद्योगले प्रि–पेड चन्दा दिन बाध्य बनेका छन्। ‘एक दिनको प्रतिप्लान्ट १० हजार रुपैयाँ अग्रीम दिनुपर्छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक उद्योगीले भने, ‘सहयोग नगरेको कुनै उद्योग छैन, चन्दा नदिने उद्योगमा नेताले कार्यकर्ता पठाएर ढुंगा र पेट्रोल बम प्रहार गर्न लगाउँछन्।’ उद्योगीलाई फोनमा धम्कीसमेत दिने गरेका छन्।
नाकाबन्दीले आयात ठप्प भएपछि कच्चा पदार्थ अभावमा उद्योग बन्द हुन थालेका हुन्। ‘यहाँका अधिकांश उद्योग नाकाबन्दीअघिसम्म सुचारु नै थिए,’ ती उद्योगीले भने, ‘मोर्चाका नेतालाई आर्थिक सहयोगमा सबै सञ्चालनमा थिए।’ आन्दोलनकै क्रममा शैक्षिक संस्था, बजार बन्द हुँदा पनि उद्योग सञ्चालनमा रहेको, राति राति ट्रान्सपोर्टबाट सामान ढुवानी भएको भन्दै स्थानीयले मोर्चाको विरोध गरेका थिए। चन्दाबाट उद्योगी/व्यवसायी आजित बने पनि खुलेर विरोध गर्ने अवस्था छैन। मोर्चाका स्रोतका अनुसार एउटै उद्योगबाट १० लाख रुपैयाँसम्म आर्थिक सहयोग लिइएको छ।
गत कात्तिक १९ गतेदेखि करिब डेढ महिनापछि सञ्चालनमा आएको सिर्सिया सुख्खा बन्दरगाहबाट सामान ढुवानी गरेबापत प्रतिट्रक ३ देखि ५ हजार रुपैयाँ आन्दोलन सहयोगका नाममा मोर्चाका केही नेताहरूले लिएको एक आयातकर्ताले बताए। लामो समयदेखि ढुवानी हुन नसक्दा बन्दरगाहमा डेढ लाख टनभन्दा बढी वस्तु थन्किएका थिए।
यसअघि ढुवानी रोक्न बन्दरगाहको मूल गेटमा धर्ना दिएका उनीहरू अहिले उक्त स्थानमा देखापरेका छैनन्। प्रमुख नाकामा धर्ना जारी रहे पनि बन्दरगाहमा थन्किएका सामान ढुवानी हुँदा मोर्चाका नेता मौन बसेकाले आर्थिक सहयोग लिएको आरोप बलियो भएको स्थानीय बताउँछन्। चन्दा लिएर मालवाहक सवारी निर्वाध छाडेको हल्ला फैलिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार आदर्शनगर र बन्दरगाह क्षोत्रमा ३ वटा ट्रकमा तोडफोड र आगजनी गरेका थिए। बन्दरगाहमा नजिकै तोडफोड गर्ने मोर्चाका कार्यकर्तालाई स्थानीयले लखेटेका थिए।
मधेस आन्दोलनको सुरुवात देखि नै वीरगन्जमा २ वटा मोर्चामा मधेसवादी दल गोलबद्ध रही आन्दोलन गर्दै आएका छन्। चन्दा, तोडफोड लगायतका गलत गतिविधि हुँदा एकले अर्कोमाथि आरोप थुपार्ने गरेका छन्। संघीय समावेशी मधेसी मोर्चाका राजकुमार यादवले चन्दा लिने निर्णय आफ्नो मोर्चाको नरहेको दाबी गरे। ‘कोही चन्दा माग्न आएमा जानकारी गराउन सबैलाई आग्रह गरेका छौं,’ उनले भने, ‘आन्दोलन सेफ ल्यान्डिङ भएपछि आयव्यय लिखित रूपमै सार्वजनिक गर्छौं।’ यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रदीप यादव चन्दा उठाउने समूह आन्दोलनकारी नभएर अपराधी भएको टिप्पणी गर्छन्। ‘चन्दा लिने हाम्रो नीति छैन,’ उनले भने, ‘यो आन्दोलनलाई बदनाम गराउने षड्यन्त्र हो।’
मौलाउँदै तस्करी
५३ दिनदेखिको नाकाबन्दीले मुलुकमा इन्धन, खाद्यान्नलगायत अतिआवश्यक वस्तुको अभाव भएसँगै सीमावर्ती क्षेत्रमा तस्करी मौलाएको छ। नेपाल भारत दुवै देशका सीमामा बस्ने कतिपय स्थानीय पेट्रोल, डिजेल, एलपी ग्यास, खाने तेल, चिनी, चामल, कपडालगायत सामग्रीको तस्करीमा संलग्न भएका छन्।
‘बन्दले बेरोजगार भएका अधिकांश कामदार भारतबाट सामान ओसार्ने काममा संलग्न भएका छन्,’ एक उच्च सुरक्षाकर्मीले भने, ‘संकटका बेला अवैध कारोबार नियन्त्रण गर्दा स्थिति झन भयावह बन्छ।’ गत शनिबार वीरगन्जको सीमावर्ती नाका छपकैयामा सशस्त्र प्रहरीले इन्धन तस्करलाई रोक्न खोज्दा दोहोरो झडप भएको थियो। ८/१० जनाको समूहमा राति ११ बजे इन्धन ल्याइरहेको अवस्थामा बोर्डर आउट रिच पोस्ट सिर्सियाले नियन्त्रण लिएपछि विवाद भएको थियो। प्रहरीले तस्करले प्रयोग गरेको मोटरसाइकल र ४० लिटर डिजेल नियन्त्रणमा लिएको थियो।
a
|
0 comments:
Post a Comment