(झटारो) दाजु, अघि बढ्नूस् !

a

निवर्तमान कमरेड बाबुराम भट्टराई प्राय: कसैले नगरेका काम गर्न रुचाउँछन् । यो कमरेड समरेड भन्न छाड्दा हुन्छ होला अब, दाजु भनौँ । दाजुले आफ्नो पालाको एसएलसी परीक्षामा बोर्ड फस्ट पड्काउने कार्यमार्फत यस्ता अद्वितीय कार्यका सिलसिला सुरु गरेका हुन् । मुलुकमा बम, बन्दुक, व्यारेक र पुलहरू पड्काउने काममा पनि उनले रेकर्ड कायम गरेकै हुन् । चालीसौँ वर्ष लगानी गरेको राजनीतिक पार्टी र आस्थालाई अचानक त्यागेर दुनियाँलाई छक्क पार्ने काम पनि अरू कसले गर्‍यो र !

थप अचम्मका काम गर्न उनी अग्रसर छन् । अब उनले आफ्नो खुट्टामा आफैँ उभिएर देखाउने रे ! आमनेताहरूभन्दा बिलकुल फरक आफैँले पैसा कमाएर भात खाने रे ! अब उनी मास्टर भएर कलेज पढाउन थाल्नेछन् । भाउजूलाई पनि आत्मनिर्भर बनाउन विश्वविद्यालयमा जागिर खुवाउने छन् । चन्दा, दान, दातव्य, लेबी, खोसखास, खासखुस इत्याादि कर्मबाट आर्जन गरिएको कमाइ खान अब उनलाई सरम हुनेछ । उनले एउटा अन्तर्वार्तामा आफ्ना आगामी योजना खुलस्त पारेका छन् ।

अझै नौलो काम सुन्नूस् । देशको प्रधानमन्त्री भइसकेका व्यक्तिको श्रमप्रतिको आस्थाको प्रशंसा गर्नूस् । विश्वविद्यालयमा राम्रो जागिर नपाउन्जेल उनले साथीभाइका कन्सल्टेन्सीमा काम गर्नेछन् । श्रीमतीलाई पनि त्यस्तै कुनै कन्सल्टेन्सीमा जागिर मागिदिनेछन् । दुवै जना आर्किटेक्ट र प्लानर भएकाले पक्कै पनि साथीहरूले काम देलान् भन्ने उनलाई विश्वास छ । त्यति भए बूढाबूढीलाई पेटै पाल्न गाह्रो नहोला भन्ने उनलाई लाग्छ । दुवै जना यतिका योग्य छौँ, काम गरेरै सम्मानजनक ढंगले पालिन सक्छौँ, उनले भनेका छन् । विगतमा उनले पार्टीले दिएको तलब, कार्यकर्ताले उठाएको चन्दा र व्यापारी ठेकेदारहरूले दया गरेर दिएका भीखले जीवन गुजारेका रहेछन् । अब त्यस्तो दरिद्र, पराश्रित र अपमानित जीवन नजिउने उनको चाहना छ ।

‘पूर्वप्रधानमन्त्री’ आफू र ‘पूर्वमन्त्री’ श्रीमती जुटेर कमाएको आर्जनले मात्र खान–लाउन नपुग्ने हो कि भनेर व्याकअपका लागि छोरीलाई बाख्रा पाल्न लगाउने दाजुको योजना छ । छोरी पनि तयार भइसकिन् । कति आज्ञाकारी परिवारका सदस्य † घरमूलीले भनेपछि पार्टी न सिद्धान्त !
तर, दाजुले ‘नयाँ शक्ति’को कार्यालय सञ्चालन गर्न थाल्दाचाहिँ ‘डोनेसन’ लिनैपर्ने छ रे !‘डोनर’हरूलाई चेतना भया । तर, त्यस्तो खजाना पहिलाजस्तो भित्रभित्रै गोलमाल गरिने छैन । दाजु एकदमै पारदर्शी हिसाब राख्न रुचाउने व्यक्ति भएकाले विगतमा भएका गोलमालप्रति उनलाई पश्चात्ताप छ । निर्वाचन आयोगलगायत कति ठाउँमा उनले झूटा विवरण पेस गर्नु परेकामा ग्लानि भइरहेको छ । त्यसैले अबको कारोबार गर्दा सूचना प्रविधिको प्रयोग गरेर दुनियाँले छर्लंगै देख्ने गरी हिसाब राख्ने कुरा छ ।

अब उनले सच्चिने, सुध्रिने र आफ्नो परिवारका लागि दालभातको आफैँ जोहो गर्दै नयाँ शक्ति निर्माण गर्नेछन् । त्यसपछि आफैँ नेता बन्ने परम्पराका विरुद्ध नयाँ शक्तिको नेतृत्व नयाँ पुस्तालाई सुम्पेर मुलुकको कायापलट गर्ने उनको लोभलाग्दो योजना छ । अन्तर्वार्ता सुनेपछि हामी भाइ पुस्ता दाजुको नयाँ शक्तिका घोर समर्थक भएका छौँ । किनभने, उनको नयाँ शक्तिले हाम्रा पालामा नभए पनि हाम्रा पनातिका पालासम्ममा केही न केही लछारपाटो लगाउन के बेर ! त्यसैले हामी भन्छौँ, अघि बढ्नूस् दाजु, साथ दिने हामी छौँ । जय नयाँ शक्ति !
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment