a
|
उनले मात्रै होइन, करिब एक दर्जन बालबालिकाहरुले सडकछेउमै रहेको लक्ष्मीनारायण मन्दिरमा यस्तै कविता सुनाएर भारतीय हस्तक्षेपको जमेर विरोध गरे। आठ वर्षीय सौरभ नेपालले 'हामी डटौ देशका लागि, परे लडौ देशकै लागि' भनेर आह्वान गरे।
प्रगतिशील लेखक संघ, सुनसरीले आर्थिक व्यवस्थापन गर्न नसक्दा गरिबी र अभावमा केही समय बाँच्नु परेका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७औं जन्मजयन्तीलाई भारतको नाकाबन्दीका कारण सृजित अभावसँग दाँजेर मनायो।
प्रलेसले जुराई दिएको उक्त खुल्ला बाल कविता प्रतियोगितामा ‘भारतीय हस्तक्षेप र नाकाबन्दी' विरुद्ध बालकवि तथा कवियत्रीहरुले राष्ट्रिय स्वाधीनताका कविताहरु सुनाए।
'छिमेकीको चाला कस्तो नाकाबन्दी गर्छन्
गर्या छैन नाकाबन्दी भन्दै खबर छर्छन्।
भुकम्प पीडित जनता अझ पीडित छन्
छिमेकीको भर पर्दा थपियो दुख झनझन।।'
यसरी इटहरी १७ का विशान नेपालले आफ्नो कवितामार्फत परनिर्भर हुँदा समस्या भोग्नुपरेको बताए भने ‘दुख दिनु अपराध हो भन्छन् बुढापाका, कहिले सम्म सताउँछौ अब खोल नाका' भन्दै अनीता नेपालीले छिमेकी भएर दुख नदिन आग्रह गरिन्।
बालसाहित्यकारहरुले नेपालको राष्ट्रियता र स्वाधिनतामाथी आँखा नलगाउन कविताकै माध्यमले भारतलाई खवरदारी गरे। उनीहरुले कविताका माध्यमले नचाहिदो नाकाबन्दी गरेर स्वाभिमानी नेपाली नझुक्ने सन्देश बाढे। सुमन कोइरालाले कविता पस्के-
'मिठो बोलेर नचाहिदो भाला रोप्यौ तिमिले
नेपालीको स्वाभिमानलाई नमिठो घोच्यौ तिमिले'
सुनसरीका बालबालिकाहरुले भारतको अघाोषित नाकाबन्दीका विरुद्धमा कविता बाचन गरेर खवरदारी गरे । खबरदारीसँगै बालकवि संयोग सुवेदीले एकताको सन्देश पनि बाँडे-
‘मेची महाकाली जहाँ बसे पनि हौ हामि नेपाली
मधेसी, पहाडी, हिमाली सबै हौ हामी नेपाली'
छेउमै रहेको महाकवि देवकोटाको शालिकमा माल्यापर्णपछि भएको कविता प्रतियोगितामा क्रमशः पुरस्कृत हुने श्रीबृद्धि, सुमन, संयोग, अनीता, सौरभ र विशानलाई प्रोत्साहनस्वरुप पुरस्कार वितरण गरियो।
प्रगतिशील लेखक संघका अध्यक्ष केशव कुमार सुनामको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय हस्तक्षेपविरुद्ध अग्रज साहित्यकारहरू पदम प्रसाद पौडेल, टीका आत्रेय, केशव भट्टराई, नरेश खडका, कृष्ण प्रसाद नेपाल, मीना श्रेष्ठ, सृजना सापकोटालगायतले राष्ट्रिय भावना र देशप्रेमका कविता सुनाए।
कविता वाचन गर्दै छिमेकी मुलुकले राख्ने हेपाहा प्रवृतिको अन्त्यका लागि स्वावलम्वी नेपाली बन्नुको विकल्प नभएको सर्जकहरुले बताए। उनीहरूको कवितामा भारतीय नाकाबन्दी र सरकारी लाचारीविरुद्ध चर्को स्वर थियो।
भारतीय सत्ताको प्रभुत्वको विरोध सँगसँगै विगतको नाकाबन्दीबाट पाठ नसिक्ने राज्यसत्ता विरुद्ध पनि यो कार्यक्रम रहेको कार्यक्रम संयोजक नरेश खडकाले बताए।
प्रमुख अतिथि प्रा. डा. बद्रीविशाल पोखरेलले आफै मात्र नभई समाजलाई सचेत बनाउनुपर्नेमा जोड दिए भने साहित्यकार श्यामभाई गौतमले शिर नझुकाउन, आशावादी बन्न अभिप्रेरित गरे। 'शहरदेखि गाउँसम्म राष्ट्रियता र सदभावको विकास तथा बालबालिकाको प्रतिभा प्रष्फुटन गर्न खोजेका हौँ’, अध्यक्ष सुनामले बताए।
जनजागरण पुस्तकालयका भैरव सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा साहित्यकार बासुदेव तिम्सिनाले उदघोषण गरेका थिए।'भारतले सांस्कृतिक रूपमा हस्तक्षेप गर्दै आएको थियो, आर्थिक रूपमा पनि नाकाबन्दी गरेर हस्तक्षेप गर्यो' सहभागी संजिव कटवालले आक्रोश पोखे।
राष्ट्रिय स्वाधीनताको चेतना सुदृढ गर्न हस्तक्षेप कायम रहेसम्म साहित्यकारहरुले अभियान जारी राख्नुपर्ने बताए।
a
|
0 comments:
Post a Comment