a
|
विगत दुई वर्षदेखि विषेशतः नयाँदिल्लीमा केजरीवालको आम आदमी पार्टीको चामत्कारिक सफलतापछि नेपालमा पनि नयाँ शक्तिको चर्चा, परिचर्चा, बहस सुरु भएको हो । एनेकपा माओवादीका पूर्ववरिष्ठ नेता डा. बाबुराम भट्टराई वरिष्ठ पत्रकार रविन्द्र मिश्र, बैंकर अनिल शाह र विवेकशील नेपालीका नेतृत्वले यो विषयमा छलफल, बहस चलाउँदै आएका थिए । तथापि संविधान जारी भएपछि गत ९ असोजमा डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि भने यो विषयमा बहस झनै घनीभूत भएको छ, हुँदै छ । सञ्चार माध्यममा नयाँ शक्तिका विषयमा लेख, समाचार सुन्न–पढ्न पाइएको छ । डा. भट्टराई जता प्रेस पनि उतै भनेजस्तै भएको छ । आममानिसमा नयाँ शक्तिका विषयमा झनै अन्योल, दुविधा तथा उत्सुकता बढेर गएको छ ।
केही माओवादी ब्रान्डका नेता र मधेसी दल बाहेकका राननीतिक दलका नेताका अनुसार नेपालमा राजनीतिक क्रान्ति सकिएको छ । अबको बाटो आर्थिक क्रान्तिको हो । यसको अर्थ अबको राजनीतिक दलहरूको लक्ष्य पनि आर्थिक क्रान्तिसँगै हार्मोनी मिल्ने खालको हुनुपर्छ । यसको अर्थ हाल नेपालको मूलधारमा रहेका पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी तीनवटै पार्टी राजनीतिक परिवर्तनको एजेन्डा लिएर स्थापित पार्टीहरू हुन् । यिनीहरूको लक्ष्य आर्थिकभन्दा राजनीतिकतर्फ नै उन्मुख छन् । यसका साथै आर्थिक उन्नति हासिल गर्नका लागि विश्वमा राजनैतिक परिवर्तन गरेका नेतृत्वले नसकेका धेरै उदारहण छन् । चीनमा माओत्से तुङको नेतृत्वमा राजनीतिक परिवर्तन भयो भने आर्थिक उन्नतिका लािग डेङ जिआओपिङको युग कुर्नुपर्यो । त्यस्तै, मलेसियामा डा. महाथिर मोहमदको युग पर्खनुपरेको थियो । विश्वको अति गरिब र पिछडिएको देश भनेर चिनिएको इथोपिया हाल मुलाटु तेसोमेको नेतृत्वमा दोहोरो अंकका साथ आर्थिक वृद्धि गरिरहेको छ । हिजो भोकमरीको देश भनेर चिनिएको इथोपियाले सन् २०१४ मा १०.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको छ । भने समग्र अफ्रिकन देशको औसत आर्थिक वृद्धिदर केवल ३.९ प्रतिशत रहेको छ । नेपाल प्रचुर सम्भावना हुँदाहुँदै राजनीतिक खिचातानीले यो वर्ष केवल दुई प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको छ । यसैले पनि अबको आर्थिक क्रान्तिका लागि नयाँ सोच, नयाँ भिजन, नयाँ मिसन, नयाँ लक्ष्य रहेको राजनीतिक शक्ति चाहिएको छ, त्यस्तो राजनीतिक नेतृत्व चाहिएको छ । यसैका लागि नयाँ शक्तिको बहस स्थानीयस्तर सम्म पुग्ने गरी चलाउनु आवश्यक छ ।
नयाँ शक्ति आवश्यक छ, यसमा हाल मूलधारमा रहेका दल तीनका नेता, कार्यकर्ताबाहेक आमनेपाली लगभग सहमत छन् । नयाँ शक्तिको सन्दर्भमा यो नयाँ शक्ति गठन कसरी गर्ने, यसका राजनीतिक आधार के हुने, आर्थिक आधार के हुने, वैचारिक लाइन के हुने तथा नेतृत्व कसको हुने यस्ता प्रश्नको उत्तर गहन रुपमा खोज्न आवश्यक छ । डा. भट्टराईले एमाओवादी पार्टी परित्याग गरी स्वतत्त्र भएसँगै उनैको नेतृत्वमा नयाँ शक्तिको गठन हुने आँकलन गरिएको थियो । पटकपटकको छलफलमा उनले अबको नयाँ शक्तिको गठन आफ्नो नेतृत्वमा नहुने स्पष्ट गरिसकेको अवस्थामा उनी मूल नेतृत्वमा नरही सहयोगीको भूमिकामा बस्ने स्थिति देखिन्छ । डा. भट्टराईले साँच्चै नै नयाँ शक्तिको खोज गरेकै हुन् भने पनि उनी मूल नेतृत्वमा नरही नयाँ क्षमतावान् युवालाई नेतृत्वमा ल्याउँदा विश्वसनीय हुन सक्छ । हिजो अर्थमन्त्री हुँदाका केही सफल काम र प्रधानमन्त्री कालको सडक फराकिलो बनाउने र राष्ट्रिय गौरवका केही योजना छनोट गरेको ब्याज अब अध्यक्ष पनि खाउँला भन्यो भने नेपाली उखानजस्तै नयाँ बोतल पुरानै रक्सी हुनेछ ।
a
|
0 comments:
Post a Comment