चर्पी सफा नभएसम्म पशुपतिनाथ नै जान्नँ : पर्यटनमन्त्री

a


कार्तिक २८, २०७२- भाइटीकाको दिन बिहान ७ नबज्दै नयाँ पर्यटनमन्त्री आनन्द पोखरेल अध्ययन र आर्शिवाद लिइरहेका थिए, आफ्नै निवास लोकन्थलीमा । पुस्तकै पुस्तकले भरिएको बैठक कोठामा उनलाई आफन्तले बधाई दिइरहेका थिए ।

एकजना आफन्तले पशुपतिनाथबाट ल्याएको टिका र फूल दिएर आर्शिवाद दिए । मन्त्रीले आदरपूर्वक टिका लगाए, फूल कानमा सिउरिए । ‘पशुपतिनाथ पुगेको छैन, टिका, माला र फूल चाँही लगाइरहेको छु,’ उनी भन्दैथिए, ‘खै साथीहरुले के गर्दैछन्, खबर पनि आएको छैन ।’

यहिँबाट सुरु गरे मन्त्रीले आफ्ना केही योजनाहरु । भएछ चाँही के भने, मन्त्री भएलगत्तै पशुपतिनाथको व्यवस्थापन गर्दै आएको पशुपति क्षेत्र विकास बोर्डका पदाधिकारीहरुले भ्रमण निम्तो दिएछन् । रुद्राक्षको मालासहित आएका बोर्ड पदाधिकारीलाई मन्त्रीले सानो ‘एसाइन्मेन्ट’ दिएर पठाएछन् ।

‘कम्तिमा पनि म भ्रमणमा आउँदा पशुपतिनाथ मन्दिर परिसरमा रहेका चर्पीहरु गन्हाउन छाडून् । शौचालय सफा भएपछिमात्र मलाई बोलाउनु भनेको छ,’ सानो कामबाट काम थाल्ने उल्लेख गर्दै मन्त्री पोखरेलले भने, ‘यतिमात्रै भयो भने पनि पशुपतिनाथमा भक्तजनलाई ठूलै राहत हुन्छ ।’

मन्त्री पोखरेलले पशुपतिनाथ मन्दिर परिसर आध्यात्मिक आस्थाको थलो बनाउन शान्त र स्वच्छ हुनुपर्नेमा जोड दिए । ‘पशुपतिनाथ क्षेत्रमा पार्किङ गाडी गर्न मिल्छ कि मिल्दैन ?, घर थपेको थप्यै गर्न मिल्छ कि मिल्दैन ?,’ उनले भने, ‘अब घर बनाउन दिन्नँ, बगैंचा बनाउनुपर्छ, धार्मिक र पर्यावरणीय क्षेत्रकोरुपमा विकास हुनुपर्छ ।’

मन्त्री पोखरेलले पशुपतिनाथ क्षेत्रमा स्नान गर्न प्रयाप्त मात्रामा पानी नभएको भन्दै त्यसको व्यवस्थापनबारे छलफल सुरु गरिसकेको बताए ।

मन्त्रीको दोस्रो योजना सूचिमा भने पर्यटन मन्त्रालयलाई कानुनीरुपमा झण्झटमुक्त बनाउनेतिर छ । ‘मेरो मन्त्रालय १३ वटा ऐनले बाँधिएको छ, काम गर्न होइन, चटपटाउन नसकिने अवस्था रहेछ,’ उनले एक साताको प्रगति भन्दैथिए, ‘कार्यदल बनाएर अध्ययन गर्न निर्देशन दिइसकेको छु ।’

नेपाल पर्यटन बोर्डबाट मात्रै समग्र पर्यटन क्षेत्र उँभो नलाग्ने भन्दै पर्यटन काउन्सिलको अवधारणा ल्याएका छन् । तेस्रो महत्त्वपूर्ण कार्यसूचीमा राखेका उनले यसबारे छलफल सुरु गरेको बताए । ‘अहिले बोर्ड भनेको पर्यटन प्रबद्र्धन गर्ने भन्ने तर कामकाजी नभएको गुनासो पाएँ,’ कृषि र जलस्रोतका विज्ञ पोखरेलले भने, ‘अब बन्ने काउन्सिलले खोजी र अध्ययनको काम पनि गर्छ ।’

पर्यटन क्षेत्रमा सामान्यभन्दा सामान्य खोजी र अनुसन्धान पनि हुन नसकेको उनको भनाइ छ । ‘कुन पदमार्ग कस्तो छ भन्नेसम्मको व्यवस्थित अध्ययन पनि हामीसँग छैन,’ काउन्सिलको अवधारणाबारे उनले भने, ‘कम्तिमा काउसिन्ल बनेपछि त्यसमुनिका निकायलाई अध्ययनमा बढी खटाइनेछ ।’

पर्यटन भनेको ट्रेकिङ र होटलमात्र नभएको भन्दै प्राकृतिक सुन्दरता, वातावरणमैत्री पर्यटन, कृषि पर्यटन, हर्बल पर्यटनलाई पनि सँगसँगै अगाडि बढाइने योजना उनले सुनाए ।

मन्त्री पोखरेलको चौथो प्रतिबद्धता भने नेपालको हवाई सेवालाई अझै प्रभावकारी बनाउने थियो । थाई एयरभन्दा पुरानो नेपाल एयरलाइन्सको सुधारको काम सुरु गरिहाल्ने उनको योजना छ । ‘वायु सेवा निगम किन घाटामा जान्छ, ४०–५० वटा जहाज हुँदा पनि बिजनेस किन घाटामा छ, पुराना जहाजको ‘रिसेल’ मूल्य तीन गुणा बढी छ भए पनि किन घाटामा छ भन्ने अध्ययन गरिरहेको छु,’ उनले भने ।

प्रारम्भिक अध्ययनमा राजनीतिकरण, अस्थिरता, लगानीको अभाव र कर्मचारीको अमुक शक्तिको प्रवक्ता बन्ने प्रवृत्ति दोषि देखिएको उनको भनाइ छ ।

मन्त्री पोखरेलले नेपाल एयरलाइन्सलाई बलियो बनाउन अब १० वटा जहाज थप्ने र यूरोपसँगको हवाई गन्तव्य खोल्ने योजना रहेको सुनाए । उनले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको नराम्रो छवि सुधारको काम प्राथमिकतामा रहेको बताए ।

पर्यटन मन्त्रीको पाँचौ योजना भने प्रस्ताविक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीब्रता दिने छ । ‘आएको समस्या व्यहोर्छु तर निर्णय गर्न डराउँदिन,’ उनी भन्छन्, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अब अघि बढ्छ ।’


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment