अन्तिम अभ्यासमा हार्‍यो नेपाल

a


कार्तिक २९, २०७२- विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम तयारीमा रहेको नेपाल शनिबार ओमानसँग अभ्यास खेलमा ३ विकेटले पराजित भयो। यूएईको अबुधाबीमा ब्याटिङमा संघर्ष गर्नुपरेपछि नेपालले पराजय भोगेको हो।

च्याम्पियनसिपअन्तर्गत सोमबार र बुधबार हुने पपुवा न्युगिनीसँगको खेल अगाडि नेपालको यो अन्तिम अभ्यास खेल थियो। टस हारेर ब्याटिङ गर्न आएको नेपाल ४९.३ ओभरमा १ सय ८४ रनमा अलआउट भयो। ओमानले ११ बल अगाडि लक्ष्य पूरा गर्‍यो।

पहिलो क्रमका ३ ब्याट्सम्यान सस्तैमा आउट भएपछि नेपालको संघर्ष सुरु भएको थियो। तेस्रो ओभरको पहिलो बलमा सुवास खकुरेल २ रनमा रनआउट भए। अर्का ओपनर नरेश बुढाऐर दुई चौका प्रहार गरी ९ रनमा आउट भए। तेस्रो नम्बरमा पठाइएका सागर पुन पनि ७ रनमा पेभेलियन फर्केपछि नेपाल दबाबमा परेको थियो।

तर कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले २१ ओभरभित्र ७७ रनको साझेदारी गरी नेपाली इनिङ्स सुधारेका थिए। पारस ४९ रनमा आउट भए। उनले ७५ बल खेली ७ चौका प्रहार गरे। शरद भेषावकर (९), महबुब आलम (७) र करण केसी (५) पनि धेरै टिक्न सकेनन्। वसन्त रेग्मी ७ र शक्ति गौचन पनि शून्यमा आउट भए।

उपकप्तान ज्ञानेन्द्रले ७१ रन बनाए। ४९ औं ओभरमा नवौं खेलाडीका रूपमा आउट भएका उनले १ सय १३ बल खेली ७ चौका प्रहार गरे। विक्रम सोब १ रनमा नटआउट रहे। ओमानका ओपनिङ बलर बिलाल खानले ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दै २६ रन खर्चे। खावर अलीले ९ ओभरमा ३४ रन खर्चेर ३ र मुनिस अन्सारीले २ विकेट लिए।

ओपनर जिसान मक्सुदले ५२ रन बनाई जितको कथा कोरे। ५२ बल नै खेलेका उनले ८ चौका प्रहार गरे। अकिव इल्यास ४ रनमै आउट भए पनि खावरले २३, जतिन्दर सिंहले ४१ र एडनान इल्यासले २१ रन बनाउँदै ओमानलाई सजिलो जित नजिक पुर्‍याएका थिए। तर शक्ति गौचनले छोटो समयमा तीन विकेट लिएपछि नेपालको झीनो आशा फर्किए पनि ओमानले अन्तिम समयको नर्भसलाई पार गरेको थियो।

अजय लालचेटाले २० र मोहम्मद नदिमले नटआउट १० रन बनाउँदै ओमानलाई विजयी बनाए। शक्तिले १० ओभरमा २ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए। महबुबले ८ ओभरमा १ मेडन राख्दै २९ रन खर्चेर २ तथा विक्रम र सागरले १–१ विकेट लिए। यूएई भ्रमणमा नेपालले हङकङसँगको दुई दिवसीय खेलमा बराबरीको नतिजा निकालेको थियो। त्यसपछि पाकिस्तानिज्सँग १ सय २१ रनले पराजित रहेको थियो। यसपछि नेपालले स्थानीय डानुबुसँगको खेल जितेको थियो।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment