नयाँ शक्तिमाथि गजुरियल बहस

a


कार्तिक २०, २०७२- यो ब्रह्माण्डमा प्रत्येक क्षण नयाँ–नयाँ घटना भैरहेका हुन्छन् । नयाँ सिर्जना, नयाँ योजना, नयाँ विचार, नयाँ बहस, नयाँ चुनौती, नयाँ समाधान आदि–इत्यादि । जो पुरानैमा अड्किन्छ, त्यो अड्काउवादी हो, जो नयाँ खोज्दैन, सोच्दैन र स्वीकार गर्दैन, त्यो भड्काउवादी हो । जो नयाँ विचार, नयाँ योजना र नयाँ बहस ल्याउँछ, त्यो प्रगतिशील हो, सिर्जनशील हो ।

यद्यपि कुन बहस कतिबेला गर्ने भन्नेचाहिं गम्भीर भएर सोच्नुपर्छ । न्वारानको दिन मृत्युसम्बन्धी बहस गर्नु हुँदैन । विवाहको दिन पारापाचुकेको बहस चलाउनु हुँदैन । मलामी जाँदा सम्पत्तिको बहस बढाउनु हुँदैन । योगको बेला भोगसम्बन्धी बहस गर्नु हुँदैन । भोगको बेला बिजोगको चर्चा चलाउनु हुँदैन । जोकको बेला शोकको बहस हुँदैन । सबै शक्ति एक हुनुपर्ने बेला नयाँ शक्तिको बहस पनि सुहाउँदैन भन्ने गजुरीयल ठम्याइ छ ।

‘नयाँ शक्ति’, ‘पुरानो सिद्धान्त’, ‘ओलीको भविष्य’, ‘कांग्रेसको इतिहास’, ‘प्रचण्डको प्रेम’, ‘कमल थापाको कथा’, ज्ञानेन्द्र शाहको व्यथा’, ‘विद्याको विगत’, ‘रामवरणको आगत’, ‘देउवाको गणित’, ‘सुशीलको इंग्लिस’, यो जनवादी, त्यो सामन्ती, ऊ प्रतिगामी, म अग्रगामीजस्ता असान्दर्भिक बहस अहिले ठ्याक्कै रोकौं । यी बहस चुनावका मुखमा मात्र काम लाग्छन्, त्यसलाई खोपीमा लुकाएर राखौं । अहिले त ‘नाकाबन्दी अन्त्य’, ‘आपूर्ति व्यवस्था सुचारु’, ‘स्वाधीनताको संरक्षण’ एवं ‘आन्दोलनको अन्त्य’ मात्र बहसका विषय हुन् । सबैको तत्कालीन ‘पार्टीलाइन’ यही मात्र हुनुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।

त्यसको अर्थ नयाँ शक्ति नै चाहिंदैन भन्ने होइन । सबैथोक नयाँ नै राम्रो हुन्छ । विश्वमा प्रत्येक सेकेन्ड नयाँ–नयाँ सिर्जना भैरहेका छन् । विज्ञान, साहित्य, उद्योग, गीत, संगीतका क्षेत्रहरूमा नयाँ शक्तिको बहस, योजना र कार्यान्वयन भैरहेका छन्, तर राजनीतिमा नयाँ शक्ति यसभन्दा अघि पनि प्रशस्तै असफल देखिएको गजुरियल ठम्याइ छ ।

केही वर्षअघि वामदेव गौतम नयाँ शक्ति खोज्दै हिँडे, शक्ति सिद्धियो, नयाँ भेटेटनन्, पुरानैमा फर्किए । शेरबहादुर दाइको नयाँ शक्ति खोज्ने प्रयास पनि असफल भयो । नयाँ खोज्दै हिंड्ने वैद्य बा पनि पुरानैतिर फर्कने प्रयास गर्दैछन् । यसको गजुरियल भावार्थ हुँदै नभएको नयाँ शक्ति खोज्ने होइन, भैरहेकोलाई नै नयाँ शक्ति बनाउने हो भने केही आशा गर्न सकिन्छ, होइन भने झन् बुझ्यो झन् कठिन भन्ने गजुरियल ठम्याइ छ ।

अग्रगामी मान्छेले सोच्ने भनेकै नयाँ हो तर शब्दमा होइन, काममा नयाँ देख्न चाहन्छ अहिलेको मान्छे । उही मानिस, उही व्यवहार, उस्तै मनोदशा, पुरानै संस्कार, त्यही संस्कृति बोकेका हामीहरूले नयाँ शक्ति जन्माउन त सकौंला तर त्यसलाई हुर्काउन र गरी खाने बनाउन सक्छौं कि सक्दैनौं, रियल प्रश्न यो हो । जनताले अनुभव गर्ने गरी नयाँ शक्तिको दुईवर्षे कार्य योजना सार्वजनिक गरेपछि मात्र केही सोच्न सकिन्छ भन्ने गजुरियल ठम्याइ छ ।

म पनि देशमा नयाँ शक्ति खोजिरहेको छु । म मात्र होइन, हजारौं सिर्जनशील युवा नयाँ शक्तिमा सामेल हुन आतुर छन् । छलफल, बहस, सेमिनार, गोष्ठी धेरै भए । तर्कले मान्छे तान्न सकिन्छ तर अड्याइराख्न अप्ठेरो छ । नयाँ शक्तिले कस्तो नेपाल बनाउन चाहेको हो भन्ने कुराको एउटा सानो उदाहरण बाबुराम सरले व्यवहारबाटै दिनुपर्ने गजुरियल ठम्याइ छ ।

अहिलेलाई सिंगो नेपाल बनाउनु पर्दैन । राष्ट्रिय गौरवका आयोजना पनि चाहिएन । प्रान्त वा प्रदेशको विकासको योजना पनि भन्नुपरेन । जिल्ला र नगर विकासको रूपरेखा पनि सुनाउनु जरुरी छैन । गाउँ वा वडाको विकास गर्ने स्केच पनि आवश्यक छैन । गोर्खा जिल्लाको खोप्लाङ गाविसको बेलबास टोललाई एउटा नमुना योजना बनाएर देखाइदिनोस् कि नयाँ शक्तिले बनाउन खोजेको नयाँ नेपाल यस्तो हो भनेर ।

खानेपानी, बाटो, विद्यालय, स्वास्थ्यकेन्द्र, बिजुली, सामाजिक सुरक्षा, जीवन बिमा, सूचना, प्रविधि, खेलकुद, मनोरञ्जन सबै सुविधा भएको नयाँ शक्तिको त्यो मास्टर प्लान पूरा गर्न धेरैमा एक वर्ष पर्याप्त छ । जम्मा दुई महिनामा सीताराम कट्टेल धुर्मुसले यस्तै सुन्दर योजना सफल बनाएर देखाइसकेका छन्् । मानुषीले बाख्रा पालेर खर्च बनाउनुहुन्छ । हिसिला भाउजूले प्लानिङ गर्नुहुन्छ । तपाईंले त्यसलाई एक्सनमा लानुहुन्छ । स्वयंसेवाका लागि हामी छँदैछौं ।

यसो गर्ने हो भने एक वर्षपछि नयाँ शक्ति आफैं बन्छ, बहस चलाउनै पर्दैन । होइन भने एक वर्षमा शक्ति त बन्ला, तर नयाँ भने बन्छ–बन्दैन, भन्न नसकिने गजुरियल ठम्याइ छ ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment