सरस्वतीको साधना गर्नुहोस्, लक्ष्मी पछिपछि आउँछिन्

a


उमेर र जीउडाल हेर्ने हो भने भरत आचार्य साधारण अल्लारे युवा जस्तै देखिन्छन् । हालै ३४ वर्ष टेकेका भरत एक्लैले १० वटा उद्योग हाँकिरहेका छन् र ती उद्योगमा ४ सय मानिस प्रत्यक्ष रूपमा रोजगार छन् । आचार्यको शिक्षण संस्थाबाट सयौं प्राविधिक उत्पादन भएका छन्, जसलाई उनले विभिन्न औद्योगिक क्षेत्रमा रोजगारी दिएका छन् । उनको औद्योगिक साम्राज्य शिक्षा, स्वास्थ्य, ऊर्जा हुँदै अन्य उद्योगी–व्यवसायीहरूको उत्पादनलाई सहयोगी भूमिका निर्वाह गर्नेसम्म पुगेको छ ।
१५ वर्षअघि कलेज पढ्ने साथीहरूसँग मिलेर उनले बालबालिकासँग सम्बन्धित ‘सपोर्ट कम्युनिटी नेपाल’ नामक गैरसरकारी संस्था खोलेका थिए । कलिलो उमेरमा खोलिएको उक्त संस्था चलाउने रहर त थियो तर ज्ञान थिएन । उनका साथीहरू विभिन्न उद्योगी–व्यवसायीकहाँ धाउँथे, तर सहयोग पाइँदैनथ्यो । उनलाई संस्था चलाउनकै लागि उद्योगी–व्यवसायी हुनुपर्छ भन्ने लाग्यो । यही बाध्यतामा उनको समूहले १२ वर्षअघि ‘ट्रेड स्ट्राटेजी नेपाल’ नामक कम्पनी खोल्यो । यो संस्थालाई मिनरल वाटरसम्बन्धी मल्टिनेसनल कम्पनी ‘बिसलेरी’ ले विश्वास गरेर मार्केटिङसम्बन्धी काम दिएको थियो । एक वर्षपछि त्यो संस्था माथि जान त सकेन तर भरतको काम गर्ने शैली देखेर बिसलेरी कम्पनीले उनलाई जागिर दियो । उक्त जागीरमा उनी एक वर्ष टिके । जागिर छाड्दा उनको मनमा ठूलो उद्योगपति बन्ने सपना पलाएको थियो । जागिर छाडेर उनले आफ्नै सानोतिनो काम गर्दै यो क्षेत्रमा हात हाले । त्यसपछिका १० वर्षमा उनी १० वटा उद्योगका मालिक भैसकेका छन् ।

तपाईंको कथा सुन्दा कुनै चलचित्रको हिरोको जस्तो लाग्छ, तपाईं आफैंलाई यो प्रशंसा कस्तो लाग्छ ?
खुसी लाग्नु स्वभाविक हो । काम सुरु गर्दा यति चाँडै यसरी उद्योगहरू विस्तार होलान्, यसरी उद्योगपति भइएला भन्ने लागेको थिएन । आज म उद्योग वाणिज्य महासंघमा उद्योग समितिको उपसभापति छु । त्यहाँ म सबैभन्दा सानो उमेरको व्यक्ति छु । कहिलेकाहीँ मलाई पनि अलि संकोच लाग्छ । फेरि मलाई लाग्छ, आजको पुस्ताले जति बुझेको छ, त्यति पुरानो पुस्ताले बुझेको छैन । मैले उद्योगमा नयाँ युगको प्रतिनिधित्व गरिरहेको छु । आजको युग हाँक्ने हामी जस्तै युवाले हो । यसले मलाई अझ अघि बढ्ने हौसला पनि दिन्छ ।

धेरै युवा नेपालमा केही गर्न सकिँदैन भनेर विदेश गैरहेका छन् । अभिभावकहरू पनि निराश छन् । किन होला ?
नेपालमा केही गलत प्य्राक्टिस भएका छन् । पहिलो कुरा, हामी मेहनत नगरी पैसा कमाउन चाहन्छौं । नेपालमा सर्टकर्टमा पैसा कमाउने बाटो खोज्नुपर्छ भन्ने धारणा छ । जो आफूले खाएको प्लेट उठाउन चाहँदैन, ऊ विदेशमा अरूको प्लेट उठाउन मञ्जुर हुन्छ अर्थात् म जुनसुकै तरिकाले पनि मेहनत गर्न डराउँदिनँ भन्ने सोच नेपालमै राख्ने हो भने यहाँ पैसा कमाउनु ठूलो कुरा होइन ।
अर्को गलत प्य्राक्टिस के छ भने एक जनाले स्कुल खोल्यो भने सबैले स्कुल खोल्ने, एक जनाले पत्रिका वा टेलिभिजन खोल्यो भने सबै त्यसैको पछि लाग्ने अर्थात् एक जनाले चाउचाउ उद्योग खोल्यो भने अर्कोले पनि त्यही कुरा पछ्याउने प्रवृत्ति छ । यसो गर्दा बढी प्रतिस्पर्धा गर्नुपर्छ । जबकि प्रतिस्पर्धा गर्नै नपर्ने सयौं स्थान खाली छन् ।

नेपालमा काम गर्ने वातावरण छैन, बन्द–हड्ताल, राजनैतिक असन्तुलन धेरै–धेरै अप्ठ्यारा छन् । यो पनि त सत्य हो नि ?
संसारमा जहाँ अनुकूल हुन्छ, सबै त्यहीँ थुप्रन्छन् । यस्तोमा प्रतिस्पर्धा धेरै गर्नुपर्छ । मेरो अनुभवअनुसार अनुकूलै अनुकूल कहीँ पनि हुँदैन । कतै केही कुराको समस्या हुन्छ, कतै अर्को कुराको समस्या हुन्छ । मेरो दृष्टिले हेर्दा नेपालमा उद्योग वा व्यापार गर्न साह्रै सजिलो छ । यो कुरा बाहिरका मानिसले देख्दैनन् तर हामी युवाहरूले किन नदेखेका हौंला भनेर म छक्क पर्छु ।

केही उदाहरण दिन सक्नुहुन्छ ?
नेपालमा वार्षिक ९ सय अर्ब रुपैयाँको सामग्री खपत हुन्छ । हामी २ सय अर्बको सामग्री नेपालमै उत्पादन गर्छौ । बाँकी ७ सय अर्ब रुपैयाँको सामग्री बाहिरबाट मगाउनुपर्छ । एउटा उद्योगमा वार्षिक दुई–चार करोडको ट्रान्जेक्सन भयो भने तपाईं एउटा मध्यमस्तरको उद्योगपति बन्नुहुन्छ । त्यसो भए तपाईं एउटा डिपार्टमेन्टल स्टोरमा जानुहोस्, विदेशबाट आयात भएका सयौं सामग्रीमध्ये एउटा सामग्री उत्पादन गर्न थाल्नुहोस् । यति सजिलो कहाँ पाइन्छ । हामी कहाँ धेरै कुरा उत्पादन हुन बाँकी नै छ, उपभोक्ताको रुचिअनुसार धेरै काम गर्न सकिन्छ । यस्तो सजिलो अरू कहाँ हुन्छ ?

यति धेरै अवसर हुँदाहुँदै पनि नयाँ उद्योग नखुल्नुको अर्थ वातावरण ठीक नभएर हो भन्ने तर्क पनि उठाउन सकिन्छ नि, सकिँदैन ?
हामी कहाँ खुला बजार अर्थनीति सुरु भएको २०४९ सालदेखि हो । २३–२४ वर्षअघिसम्म कुनै उद्योग खोल्न लाइसेन्स लिनुपथ्र्यो । त्यो लाइसेन्स दरबारले चाहेको व्यक्तिले मात्र पाउँथ्यो । त्यसलाई लाइसेन्स राज भनिएको पनि सुन्नुभएको होला । त्यसैले आममानिसले उद्योग खोल्न पाउँदैनथे । केही व्यक्तिको हालीमुहाली थियो । आज नागरिकताको फोटोकपी र केही हजारका भरमा उद्योग दर्ता गर्न पाइन्छ । यति थोरै समयमा नेपालमा जे–जति प्रगति भएको छ, त्यतातिर कसैको ध्यान गएको छैन । हामीले १० वर्ष माओवादी द्वन्द्वमा समय बितायौं, जसले गर्दा उद्योगधन्दा फस्टाउन पाएन । फेरि ८ वर्ष संविधान बनाउन लगायौं । संविधान बनेपछि पनि विभिन्न समस्या छन् । यति हुँदाहुँदै पनि नेपालमा निजी एयरलाइन्स, निजी सञ्चारहरू र बडे–बडे निजी उद्योग खुलेका छन् । जसले नेपालमा ठूलो अवसर छ भन्ने बुझे, उनीहरूले धमाधम एक–एक क्षेत्रमा झन्डा गाडे र रातारात नाम अनि दाम कमाए । जसले उचित समय आएको छैन भनेर कुरे, उनीहरू पछि परे । अझै १०–२० वर्ष नेपालमा अवसर नै अवसर छ । केवल त्यसलाई देख्ने आँखा चाहिन्छ ।

तपाईं सामान्य विद्यार्थी मान्छे, अवसरहरू कसरी देख्नुभयो ?
जब मैले बिसलेरी कम्पनीमा जागिर खाएँ, मेरो संगत मल्टिनेसनल कम्पनीका म्यानेजरहरूसँग भयो । उनीहरूको संगतकै कारण मैले अवसरहरू देख्न थालेको हुँ । सुरुमा पुराना कम्पनीलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउन थालेँ । प्याकेजिङ म्याटेरियलहरू पनि उपलब्ध गराएँ । बुझ्दै जाँदा स्थापित उद्योगहरूलाई धेरै खालका अन्य सहायक कम्पनीहरूको आवश्यकता पर्ने रहेछ । मैले उनीहरूलाई चाहिने मेसिनरी पनि उपलब्ध गराउन थालेँ । करिब ४ सय वटा कम्पनीलाई विभिन्न किसिमका प्राविधिक सहयोग गरेपछि हाम्रो बजार कति ठूलो छ र हामीले के–के गर्न सक्छौं भन्ने जानकारी पाउन थालेँ । अध्ययनका क्रममा मलाई के थाहा भयो भने बजार धेरै खाली छ । यो खाली बजारमा भारत र चीनका कम्पनीहरूले हाली मुहाली गरिरहेका छन् । हामी विदेशबाट पैसा ल्याएर केवल विदेशकै सामग्री मात्र उपभोग गरिरहेका छौं । त्यसपछि धमाधम जुन–जुन क्षेत्र खाली छ, त्यही क्षेत्रमा लगानी गर्न थालेँ ।

अहिले कुन–कुन क्षेत्रमा लगानी गर्नुभएको छ ?
सबै डिटेलमा भन्न पनि गाह्रो, तपाईंलाई लेख्न पनि गाह्रो । (लामो हाँसो) प्राविधिक शिक्षा, स्वास्थ्य, ऊर्जा, उद्योगहरूलाई चाहिने मेसिनरी, त्यसका पार्टपुर्जा र सेवा, प्याकेजिङ सामग्री र त्यससँग सम्बन्धित सेवाहरू दिइरहेका छौं । एकातिर हामी उद्योग पनि चलाइरहेका छौं, अर्कातिर सेवा व्यवसाय पनि सञ्चालन गरिरहेका छौं ।

तपाईंले बहुवचन प्रयोग गर्नुभयो, कति जर्ना पार्टनर हुनुहुन्छ ?
कम्पनीको हिसाबले मेरो एक्लै हो, तर मसँग जोडिने ४ सय व्यक्तिकै कारण मेरा कम्पनीहरू यहाँसम्म आइपुगेका हुन् । म एक्लैले यी सबै काम गर्न सक्ने कुरा होइन । यो सामूहिक प्रयासको प्रतिफल हो । हाम्रो कम्पनी टिचनएन कर्पोरेसन तथा ट्रेड स्ट्राजेडी नेपालको प्रगति सामूहिक प्रयासको प्रतिफल हो ।

जहाँ लक्ष्मीको बास हुन्छ, त्यहाँ सरस्वती अडिन सक्दिनन् भन्ने भनाइ छ । तपाईंको अनुभव के छ ?
म एउटा प्राचार्यको छोरा हुँ, कक्षामा सधैं प्रथम हुन्थेँ । भविष्यमा डाक्टर बन्ने सपना पाल्थेँ । समयमा भर्ना हुन नसक्दा मैले अस्कल पढ्न पाइन । त्यही भएर अर्थशास्त्र र अंग्रेजी अध्ययन गर्न थालें । यतिबेला म अर्थशास्त्रमा स्नातकोत्तर छु । कलेज खोलेको छु । यस अर्थमा सरस्वतीको बास छ । अर्कातर्फ सबै कम्पनीले राम्रै प्रगति गरेका छन् । यसरी हेर्दा लक्ष्मीको बास पनि छ । मेरो अनुभवमा तपाईं सरस्वतीको आराधना गर्नुहोस्, लक्ष्मी आफै पछि आउँछिन् ।

हामी केही काम गर्न चाहन्छौं तर कहाँबाट सुरु गर्ने भन्ने भेउ पाउँदैनौ । त्यस्ता युवाहरूलाई के भन्न चाहनुहुन्छ ?
हामी सपना देख्छौं तर त्यो सपना यथार्थमा आधारित हुँदैन । हामी कुनै चाउचाउ कम्पनीको मालिक हुन चाहन्छौं भने त्यो कम्पनीमा मैदा मुछ्ने कामदार हुन पनि तयार हुनुपर्छ । एकैपटक हावामा महल बनाउने सपनाको अर्थ हुँदैन । हामीमध्ये कतिपय मैले के गर्न सक्छु र मसँग कुनै अनुभव छैन भन्ने मान्छौं । वास्तवमा हामी जहाँ उभिएका छौं, काम त्यहीँबाट सुरु गर्नुपर्छ । जीवनमा कुनै न कुनै त अनुभव त पक्कै हुन्छ ।

काम गर्छु भनेर अघि बढ्ने धेरै मानिस असफल भएका उदाहरण छन्, के भन्नुहुन्छ ?
असफल हुनु नै सफल हुने बाटो हो । जबसम्म असफल भइँदैन, सफल हुने तरिका सिक्न सकिँदैन । शिक्षा भनेको एउटा युनिभर्सिटीबाट प्राप्त हुन्छ । यस्तो शिक्षाले सैद्धान्तिक ज्ञान त देला तर व्यवहारिक ज्ञानका लागि त्यो बाटो हिँड्नै पर्छ, ठक्कर खानैपर्छ । अर्थशास्त्रमा उद्योग विषय पढेर उद्योग खोल्न सकिँदैन, त्यसका लागि उद्योग खोलेर असफल पनि हुनुपर्छ । त्यसले शिक्षा दिन्छ । हरेक मानिस जुन स्थानमा छ, त्यही स्थानबाट उ व्यवसायी हुनुपर्छ । हामी उद्योग–व्यवसाय भन्नेबित्तिकै ठूलो कुरा सोच्न थाल्छौं, तर त्यो यथार्थ होइन ।

तपाईं धेरै सफल व्यक्तिको सम्पर्कमा हुनुहुन्छ, कस्ता व्यक्ति सफल हुँदा रहेछन् ?
जो कडा मेहनत गर्छन्, नयाँ कुरा गर्न रुचाउँछन् । जोखिम मोल्ने साहस गर्छन् र जो अनुशासित हुन्छन्, उनीहरू सफल हुन्छन् ।

सफल व्यक्ति केही आध्यात्मिक पनि देखिन्छन्, यसको कारण के होला ?
सफल मानिस अनुशासनमा बस्छ । १२ घण्टा सरकार, उद्यमी, कामदार, बजार सबैसँग इमान्दार रूपमा प्रस्तुत हुन्छ । जसको १२ घण्टाको जीवन अनुशासित हुन्छ, बाँकी ४–५ घन्टा पनि अनुशासनमा बस्ने बानी हुन्छ । अनुशासित मानिस बाहिरबाट आध्यात्मिक देखिएको हो ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment