a
|
काठमाडौं – नेकपा–माओवादीका केन्द्रीय सदस्य अजय शर्माले नेकपा–माओवादीको साधारण सदस्यसमेत नरहने गरी राजिनामा पत्र बुझाएका छन् । लामो समय पार्टीले अवलम्बन गर्दै आएका तात्कालिक राजनीतिक कार्यदिशा तथा कार्यनीतिहरूको सम्बन्धमा दुई लाइन संघर्ष चलाउँदै आएका शर्माले गत कार्तिक १९ गते राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा पत्रमा शर्माले पार्टीले जातिवादको शिकार बनेको, दक्षिणपन्थी अवसरवादी तात्कालिक राजनीतिक कार्यदिशा तथा कार्यनीतिहरूको अवलम्बन गरेको, जनयुद्धको सिद्धान्तलाई जनविद्रोहको सिद्धान्तद्वारा प्रतिस्थापन गरेको लगायतका २१ बुँदे आरोप समेत लगाएका छन् ।
पार्टीको केन्द्रीय मुखपत्र माओवादी को सम्पादक मण्डलमा समेत रहेका थिए ।
राजीनामाको पूर्णपाठ
मिति : २०७२/७/१९
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी–माओवादी
केन्द्रीय समिति, बुद्धनगर,
काठमाडौँ, नेपाल ।
विषय : राजिनामा सम्बन्धमा ।
कमरेडस्,
सातौँ राष्ट्रिय महाधिवेशनदेखि आजसम्मको अवधिमा पार्टीले अवलम्बन गर्दै आएका तात्कालिक राजनीतिक कार्यदिशा तथा कार्यनीतिहरूको सम्बन्धमा मेरा गम्भीर मतभेदहरू रहेका र तत्सम्बन्धी आफ्ना फरक मतहरूलाई लिखित रूपमै पार्टी मुख्यालयमा बुझाएको परिपे्रक्षमा पार्टी नेतृत्व त्यस सम्बन्धमा पूर्णरूपले जानकार छ । पार्टी नेतृत्वसित मेरा मतभेदहरू मुख्य रूपले तात्कालिक राजनीतिक कार्यदिशा तथा कार्यनीतिहरूसित सम्बन्धित छन् । पार्टीलाई एउटा बस्तुवादी तात्कालिक राजनीतिक कार्यदिशा तथा कार्यनीति अवलम्बन गराउने उद्देश्यले मैले एउटा लामो समय दुई लाइनको सङ्घर्षमा खर्च गरेँ । नेपालको संविधान–२०७२ को घोषणापूर्व र पश्चात् देशमा विकसित घटनाक्रम र नेपालको आन्तरिक मामिलामा भारतीय विस्तारवादको नाङ्गो हस्तक्षेप एवम् आर्थिक नाकाबन्दीको परिपे्रक्षमा पार्टीले अवलम्बन गरेका नीतिपछि म यो निश्कर्षमा पुगेँ कि अब पनि दुई लाइनको सङ्घर्षबाट पार्टी नेतृत्वलाई सच्चाउने कोसिस गर्नु देशमा चलिरहेको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको आन्दोलनबाट अलग रहनु हुन्छ । त्यसो गरेर मैले केही महिना अघिमात्र प्राकृतिक विपत् (भुइँचालो) बाट क्षत–विक्षत भएको देश र जनतामाथि भारतीय विस्तारवाद र त्यसद्वारा सञ्चालित कथित मधेश आन्दोलनद्वारा थोपरिएको आर्थिक नाकाबन्दी लगायतका समस्याहरूका विरुद्ध एउटा सचेत देशभक्त नागरिकको जिम्मेवारी पूरा गर्न विल्कूल सम्भव हुन्न । नेपालमाथिको यो भारतीय हस्तक्षेपको प्रत्येक स्वाभिमानी नेपालीले डटेर प्रतिकार गर्नुपर्दछ । यसै पार्टीमा रहेर यो जिम्मेवारी पूरा गर्ने भन्ने त धेरै टाढाको कुरा बरु त्यसबाट भारतीय विस्तारवादलाई नै मद्दत पुग्ने देखिन्छ । त्यस्तो कुरामा पार्टी नेतृत्वसित हिस्सेदारी नगर्ने सोच बनाएर तत्काल पार्टी परित्याग गर्ने निर्णय लिएको छु । त्यसैले, मैले नेपाल कम्युनिष्ट पार्टी–माओवादीको केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभाग, आन्तरीक प्रकाशन विभाग र पार्टीको केन्द्रीय मुखपत्र माओवादी को सम्पादक मण्डल लगायत साधारण सदस्यबाट समेत राजिनामा दिएको कुरा यसै पत्र मार्फत् जानकारी गराउँदछु ।
पार्टीबाट राजिनामा दिनुपर्नाको मुख्य कारणहरू यसप्रकार छन् ः
पार्टीले,
१) नेपालको जातीय समस्याको सम्बन्धमा एउटा सच्चा माक्र्सवादी–लेनिनवादी दृष्टिकोण अवलम्बन नगरेर जातिवादको शिकार भएकोले;
२) जातीय आधारमा, मुख्य रूपले, पार्टीका राज्य समितिहरूको विभाजन गरेकोले;
३) एनेकपा (माओवादी) सित सम्बन्ध विच्छेद गरेपछिको अवधिमा जातिवादी समूह तथा गैर सरकारी संस्थाहरूलाई राजनीतिक दलको मान्यता दिएर मोर्चाबन्दी गरी गतिविधिहरूलाई अघि बढाएर पार्टीको स्वतन्त्र सर्वहारावर्ग चरित्र र सङ्घर्षलाई अपुरणीय क्षति पु¥याएकोले;
४) माओका योगदानहरूको मुल्याङ्कनको क्रममा “माओवाद” को अतिशयोक्तिको शिकार भएकोले;
५) क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माणको सम्बन्धमा गैर माक्र्सवादी–लेनिनवादी दृष्टिकोण र तरिका अवलम्बन गरेकोले;
६) पार्टी सङ्गठनको निर्माण एवम् सञ्चालनको सम्बन्धमा माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको परित्याग गरेर अराजकतावादी तौर तरिका अवलम्बन गरेकोले;
७) तात्कालिक राजनीतिक कार्यदिशा, कार्यनीति र सङ्घर्षको स्वरूप निर्धाणमा वस्तुगत परिस्थिति होइन क्रान्तिकारी लफ्फाजी हावी भएकाले;
८) रूपमा क्रान्तिकारी र सारमा दक्षिणपन्थी अवसरवादी तात्कालिक राजनीतिक कार्यदिशा तथा कार्यनीतिहरूको अवलम्बन गरेकोले;
९) सामन्त, दलाल एवम् नोकरशाही राज्यसत्ता अन्तर्गत “सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा
(नेपाली कांग्रेस, पूर्व पञ्चका पार्टीहरू र मधेशवादी दलहरू सहितको — अजय) को गठन एवम् राष्ट्रिय संयुक्त सरकारको गठन” बाट “जनसंविधानका लागि (अर्थात् नयाँ जनवादी क्रान्तिको सफलतापछि बन्ने संविधान — अजय) जनआन्दोलन तथा जनप्रतिरोध सङ्घर्षलाई नयाँ उचाईमा” उठाउन सकिन्छ भनेर तत्सम्बन्धमा माओ त्से–तुङ विचारधाराको प्रष्ट दिशावोधको परित्याग गरेर खु्रस्चोभको शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्तको अवलम्बन गरेकोले;
१०) नेपालजस्तो अर्ध (नव) औपनिवेशिक मुलुकमा हुने क्रान्तिको सम्बन्धमा माओ त्से–तुङ विचारधाराको दीर्घकालीन जनयुद्धको सिद्धान्तलाई जनविद्रोहको सिद्धान्तद्वारा प्रतिस्थापन गरेकोले;
११) सङ्क्रमणकालको, अर्थात् क्रान्ति र प्रतिक्रान्ति मध्य कसले जित्छ भन्ने कुराको, अन्त्यको सम्बन्धमा सही दृष्टिकोण अपनाउन नसकेकोले;
१२) युद्ध राजनीतिको विकासको क्रममा अस्तित्वमा आउने राजनीतिकै उच्चतर चरण हो भन्ने कुराको पूर्णरूपले उपेक्षा गरी तात्कालिक राजनीतिको महत्व र भूमिकालाई कमजोर पारेकोले;
१३) भौतिकवादी द्वन्द्ववादको परित्याग गरेर सर्वसङ्ग्रहवादको नमुना बनेकोले;
१४) विचारधारात्मक रूपमा ‘सङ्घर्षनै सबै थोक हो’ भन्ने अर्थवादी दृष्टिकोणद्वारा निर्देशित भएर तेङ शियाओ–पिङको मुसा मार्न सेतो र कालो बिरालो बीच फरक नहुने मान्यता राखेर अघि बढेकोले;
१५) भारतीय शासकहरूको नेपालमा विस्तारवादी हितलाई अगाडि बढाउने एउटा साधनको रूपमा सञ्चालित कथित मधेशवादी आन्दोलनकारीहरूसित कार्यगत एकता गरी पूरै पाटी पङ्क्तिलाई त्यसमा सामेल गरेर भारतीय शासकहरूका अगाडि संविधानको घोषणाको सम्बन्धमा नभूmकेका एनेकपा (माओवादी), नेकपा (एमाले), एक निश्चित हदसम्म नेपाली कांग्रेसलाई कमजोर पार्न प्रयत्नरत रहेकोले;
१७) संविधानको घोषणालाई भारतीय विस्तारवादको नेपालमाथिको हस्तक्षेप र आर्थिक नाकाबन्दी र मधेश आन्दोलनको कारण बताएर भारतीय शासकहरूको नेपालप्रतिको रणनीतिमा साथ दिएकोले;
१८) पछिल्लो समयमा नेपालको मामिलामा भारतीय शासकहरूद्वारा भइरहेको हस्तक्षेपको, ाबअभ कबखभ गर्ने उद्देश्यले, सामान्यरूपबाट हल्का आलोचना गरेपनि त्यसका विरुद्ध देशव्यापी रूपमा चलिरहेको आन्दोलनबाट पार्टीलाई अलग राखेकोले;
१९) नेपालको संविधान–२०७२ को घोषणा, रूपान्तरित व्यवस्थापिका संसद, प्रधानमन्त्री र राष्ट्रपतिको निर्वाचन सबैमा पराजय व्यहोरेको भारतीय शासक गुटको व्यवस्थापिका संसदको विघटन गराउने र संविधान खारेज गराउने रणनीतिलाई सहयोग पुग्ने हिसाबले “व्यवस्थापिका संसदको विघटन, प्रतिगामी संविधानको स्थगन (वास्तवमा खारेजी — अजय) र संवाद मार्फत् राष्ट्रिय सहमति कायम गरी अग्रगामी राजनीतिक निकास” को तात्कालिक कार्यनीति निर्धारित गरेकोले;
२०) भारतको शासक गुटद्वारा नेपाललाई सकेसम्म सिक्किम बनाउने, नभए भुटान बनाउने र त्यो पनि नभए पानीमाथि अग्राधिकार कायम गर्ने, तराई फुटाएर भारतमा मिलाउने ग्राण्ड डिजाइनका साथ अघि सारिएको नेपालको संविधानमा संशोधनका लागि सात बुँदे प्रस्ताव प्रति मौन समर्थन रहेकोले; र,
२१) एनेकपा (माओवादी) सित सम्बन्ध विच्छेद गरेदेखि आजसम्मको अवधिमा अवलम्बन गरिएका तात्कालिक राजनीतिक कार्यदिशा एवम् कार्यनीतिहरू पूर्णतः असफल भएर पार्टी नेतृत्व असफल भएको प्रमाणित भएकोले ।
अन्त्यमा, म पार्टी नेतृत्वसित तत्काल मेरो राजीनामा स्वीकृत गरी देशमा चलिरहेको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको आन्दोलनमा प्रत्यक्ष वा भौतिक रूपबाटै सामेल हुनको निम्ति ढोका खोलेर सहयोग गरिदिनुहुन आग्रह गर्दछु ।
a
|
0 comments:
Post a Comment