नेपालको मधेसको कथा बडो करुणाजनक छ । मधेसको ठूलो भाग सन् १९४० को दशकभन्दा अघिसम्म घना जंगलले भरिएको थियो । नेपालको सिमानामा खासगरी कटारिया थरका मारवाडीहरुले कटियार भन्ने ठाउँमा ठूलाठूला उद्योगहरु स्थापना गरिसकेपछि तिनै घरानाका केही नातेदारहरुले नेपालका राणाशासकसँग सम्बन्ध बनाएर विराटनगरमा कारखानाहरु खोले । त्यसपछि ब्रिटिस भारतमा जुन रेल लाइन ओछ्याएको थियो, त्यो रेल लाइनमार्फत नेपालको जंगल कटान गरी ब्रिटिस भारतमा लगियो । साथै, नेपालका जडिबुटी पनि लगिए । त्यतिबेला मधेसमा औलोको ठूलो प्रकोप थियो । औलोसँग प्रतिरोध गर्न सक्ने थारु, दनुवार, कोच जस्ता कछाडमा बस्ने जाति मधेसमा थिए । पछि जंगल फँडानी हुँदै गइसकेपछि मधेसलाई काठमाडौंले राजस्व संकलन गर्ने ठाउँको रुपमा मात्रै बुझ्यो । अनुकूल समयमा त्यहाँ पहाडका जमिनदार जान थाले, कामत बनाउन थाले । कामत भनेको जग्गासहितको अस्थायी घरबास । सँगसँगै मधेसमै पनि जमिनदारहरु देखापरे । मुख्यतः माथिल्ला जातका जस्तो राजपुत, झा, केही कायस्थहरु, भूमियारहरु र केही संख्यामा यादवहरु जमिनदारका रुपमा उदाउन थाले । राजा महेन्द्रको पालामा नेपालीकरणको अभ्यास भयो । त्यो बेला नेपालीकरण वा नेपाली हुनु भनेको स्वाभाविक रुपमा राजाको संस्कृति, राजाको भाषा, भेषभूषा आदिलाई राष्ट्रिय मान्ने भन्ने नै थियो । मैले बाल्यकालमा मधेसका मान्छेहरु दौरा–सुरुवाल, टोपी लगाएर हिँडेको देख्थेँ । उनीहरुलाई मधिसे भनेर भन्यो भने रिसाउँथे । मधिसे भन्दा राष्ट्रिय भइँदैन कि भन्ने जस्तो चिन्ता उनीहरुमा देखिन्थ्यो । त्यो स्थितिमा नेपालमा प्रजातान्त्रिक आन्दोलन अगाडि बढ्दै गयो । यस्ता आन्दोलनले स्वाभाविक रुपमा सबै ठाउँमा जागरण ल्याउँदै गयो । मलाई राम्रो थाहा छ, एक समय हामी रामराजा प्रसाद सिंहलाई आफ्नो नेता मानेर मर्न वा मार्न तयार भयौँ । त्यसमा ठूलो संख्या पहाडियाको थियो । जस्तो, तपाईंले अहिले नाम सुन्नुहुन्छ– खेमराज मायालु, कटक मल्ल, अनारसिंह कार्कीलगायत सोलु, डडेल्धुरा, बझाङका त्यस्तै म ओखलढुंगाको मान्छेहरु थियौँ । हामीले यो सोचेनौँ कि कसैलाई मधेसी र कसैलाई पहाडिया भनेर । हामीले मुख्य रुपमा आदर्शलाई लिएर हामीले रामाराजाको नेतृत्व स्विकार्यौँ । त्यतिबेला अर्थात् ०३२–३४ तिर हामी नेपालको तराईका विभिन्न ठाउँमा पुग्यौँ । तराईमा अन्याय भएको छ, काठमाडौंले तराईलाई अन्याय गरेको छ भन्ने कुरा जनस्तरमा पुर्यायौँ । मधेसमा जुन पार्टीहरु देखापरे, मधेसवादको नाममा, तिनीहरुको पृष्ठभूमि विचार नगरीकन, तिनीहरुको चरित्र विचार नगरीकन, नेपालका कम्युनिस्ट नेतृत्वले ती पार्टीहरुसँग अंकमाल गर्यो । यहाँनेर कांग्रेसले गर्यो होला, त्यो फरक कुरा भयो । पछि खासगरी माओवादीको नेतृत्वमा जनयुद्ध भयो, त्यसले विशाल जागरण ल्याइदियो । कम्युनिस्टको आन्दोलनको हिसाबले भन्नुपर्दा, कम्युनिस्टहरुले एउटा मधेस चाहिँ तयार गरेका थिए । कम्युनिस्टको आफ्नै एउटा मधेस चाहिँ तयार हुँदै थियो । पहाडबाट गएका जमिनदारहरु र मधेसमै भएका जमिनदारहरुको आँखा छल्दै, उनीहरुको विरुद्ध एउटा मधेस तयार हुँदै थियो । जस्तो, नेकपा मालेले आफ्नो तत्कालीन अधिवेशन नै सिरहामा गर्यो । चौथो महाधिवेशन धारका जुन पार्टीहरु हौँ, हामीले खासगरी कमला नदीको वारि र पारि धनुषा र सिरहालाई आधारभूमि जस्तै बनायौँ । यता, मानन्धरजीहरुको रौतहटलगायत क्षेत्र थियो । बिर्सन नहुने कुरा के हो भने, कम्युनिस्ट पार्टीहरुले जुन चार सिट जितेका थिए, ०१५ सालमा, त्यसमध्ये दुई सिट रौतहटबाटै जितेका थिए । मतलब, यसरी किसानहरु कम्युनिस्ट पार्टीमा आएका थिए । मलाई लाग्छ, अहिले आएर बिग्रिएको कारण के भने, कम्युनिस्टहरुले त्यो आफ्नो मधेसलाई छाडे, त्यहाँ कम्युनिस्टहरुको प्रभाव बढिसकेको अवस्थामा जातीय आन्दोलन अगाडि आए । गहिरिएर हेर्ने हो भने, जातीय आन्दोलनहरु अन्ततः कम्युनिस्ट आन्दोलनको विरुद्धमै जान्छ । कम्युनिस्ट पार्टीको नेतृत्वमा चल्ने जातीय मुक्तिको संघर्षले भने एउटा सही ठाउँमा पुर्याउँछ । अर्थात् वर्ग संघर्षले अगुवाइ नगरेको, वर्ग संघर्षको लगाम नलागेको जातीय मुक्तिको कुराले जहिले पनि अन्ध जातिवादलाई जन्म दिन्छ । त्यसले जातीय अन्तरविध्वंश निम्त्याउँछ, त्यही कुरा मधेसमा पनि भयो । मधेसमा जुन पार्टीहरु देखापरे, मधेसवादको नाममा, तिनीहरुको पृष्ठभूमि विचार नगरीकन, तिनीहरुको चरित्र विचार नगरीकन, नेपालका कम्युनिस्ट नेतृत्वले ती पार्टीहरुसँग अंकमाल गर्यो । यहाँनेर कांग्रेसले गर्यो होला, त्यो फरक कुरा भयो । तर, कम्युनिस्ट नेतृत्व चुक्यो । मधेस त दुइटा छ– एक, श्रमजीवी, राष्ट्रवादीहरुको मधेस । अर्को, शोषक, ठालु, दलाल, मौका परस्त, मान्छेहरुको मधेस । यसमा विचारै नगरी कम्युनिस्टहरुले त्यहाँबाट आउने असाध्यै गलत पृष्ठभूमि भएका, संकीर्ण, मौकावादी, हिजो दलाली गरेका मान्छेहरुलाई पनि अंकमाल गर्ने काम गरे । जसले कम्युनिस्टहरुको जुन मधेस थियो, त्यो डिमोरलाइज भयो । त्यसले अपमानित महसुस गर्यो । आज कम्युनिस्टहरु त्यहाँ गएर राजनीति गर्न सकिरहेका छैनन् । सिरहा, धनुषा, जहाँ हामी विचरण गर्ने गथ्र्यौं, हाम्रा मिटिङमा रातभरि मधेसका साथीहरुले रखबारी गर्ने गर्थे, हामीलाई एक ठाउँबाट अर्को ठाउँ पुर्याउँथे, पञ्चायतको त्यो कहरमा पनि । र, जनयुद्धकै बेलामा पनि मधेसले साथ दिएको थियो । त्यो ठाउँमा आज कम्युनिस्ट नेताहरु गएर काम गर्न नसक्ने स्थिति जो तयार भएको छ, यसको कारण के हो भने कम्युनिस्टहरुले दुइटा मधेस छन् भन्ने कुरा बिर्सिए । आज पनि कैयौँ कम्युनिस्ट नेताहरु चाहिँ यही भ्रममा दौडिरहेका छन्, कि मधेसलाई सम्बोधन गर्ने भनेर मधेसभित्रका असाध्यै अविश्वनीय मान्छेहरुसँग गएर अंगालो मार्दै छन् । यसरी मधेसको समस्या समाधान हुँदैन । मधेस समस्याको दुई पाटा छन् । स्वाभाविक रुपमा मधेसको कार्डलाई भारतले बारम्बार उठाउने गर्छ । मलाई सम्झना छ, परमानन्द भन्ने एकजनाले जेएनयुबाट पिएचडी गर्दै थिए, त्यतिबेला उनी रामराजालाई भेट्न आएका थिए । म रामाराजासँगै थिएँ । परमानन्दले रामराजालाई भनेका थिए, ‘भारतीय चेलीहरु जो विवाह भएर नेपाल आउँछन्, उनीहरुले नागरिकता पाउन गाह्रो हुन्छ, उनीहरुलाई अंगीकृत नागरिकता दिइन्छ अथवा लामो समय लाग्छ ।’ यसबारे रामराजाले भनेका थिए, ‘त्यो त भारतको समस्या हो । नेपालको समस्या त भएन । हामी नेपालीले त उता बिहे गर्न समस्या भयो भने, पहाड र मधेसबीचका मानिसबीच बिहे गरौँला । पहाडका क्षेत्रीले मधेसका क्षेत्रीसँग, मधेसका बाहुनहरुले पहाडका बाहुनहरुसँग बिहे हुन सक्छ । त्यसले भावनात्मक एकतालाई मजबुत बनाउँछ ।’ अहिले आवश्यकता के छ भने, भारतको विकल्प मेरो विचारमा अहिले पनि भारतै हो । छिमेकीको विकल्प हुँदैन । भारतको ठाउँमा अर्को देशलाई राखिदिउँ भन्न मिल्दैन । नेपाली राजनीतिका शीर्ष नेताहरु अहिले बडो अलमलमा देखिन्छन् । एउटा त दृष्टिकोण स्पष्ट छैन । अर्को, डर छ, लोभ छ र अतीत छ । भारतका सत्ताधारीहरुसँग थुप्रै कामहरु गरेको एउटा अतीत पनि छ । त्यसले गर्दा नेताहरु ठूलो अलमलमा छन् । न उनीहरुले भारतको विकल्प भारत नै हो भन्ने ढंगले अगाडि बढ्न सक्नु भएको छ, न त भारतको विकल्प अरु पनि खोज्यौं भनेर अन्तर्राष्ट्रिय समुदायकै अगाडि कुरा राख्न सकेको अवस्था छ । तर, जनतालाई ढाँटिरहेका छन्, विकल्पमा पनि कुरा चलिरहेको छ भनेर । वास्तवमा केही भएको छैन, दुई महिनामा त केही न केही हुनुपर्ने हो । मधेस समस्या समाधानको सूत्र के ? अब सरकारले मधेसबाट नेता बनेर जो देखापरेका छन्, आ–आफ्ना पार्टीहरुसहित, ती सँगसँगै मधेसका जनतासँग पनि संवाद गर्ने मेसो मिलाउनुपर्यो । वास्तविक मधेसी जनता के चाहन्छन् ? आफ्नै जनतासँग संवाद गर्न डराउनु भएन । मधेसका जनतासँग संवाद गर्ने एउटा वातावरण बनाउनुपर्यो । सम्पूर्ण मधेस कुनै अमुक नेताको गोजीमा छैन । त्यसो हुनाले मधेससँग संवाद गर्न थाल्नुपर्यो । मधेसको जायज माग के हो ? यो देशका मगरले पाएको, क्षेत्रीले पाएको, तर यादवले नपाएको, महतोले नपाएको, साहले नपाएको कुरा के हो ? आजसम्म मधेसलाई जुन दोस्रो दर्जाको नागरिकको व्यवहार गरियो, त्यसलाई पहिलो दर्जा बनाउने कुरा के हुन् ? त्योचाहिँ एउटा खोला उता राखिदिएर र एउटा पाखा यता राखिदिएर, काल्ना उता राखेर हुने हो कि त्यसको अरु केही सूत्र छ ? यसमा सरकार स्पष्ट नीति लिएर आउनुपर्यो । मधेस यसरी उठ्छ भनेर आउनुपर्यो । मधेसको सम्मान यसरी स्थापित हुन्छ भन्ने नीति लिएर अगाडि आउनुपर्यो । जस्तो, मधेसमा आन्तरिक रुपमा पनि त्यो समावेशी हुनुपर्यो । त्यहाँ मुसहर, त्यहाँका खत्वे, त्यहाँका पासवानहरु, डोम, चमार, बाँतरहरु, जो छन् उनीहरुलाई पनि कसरी मधेसी समाजभित्र समावेश गर्न सकिन्छ ? यसमा स्पष्ट दृष्टिकोण आवश्यक छ । कहाँनेर अर्घेलो पर्यो त ? गुरुङले पाएको, तपाईंहरुले नपाएको, के हो यो देशमा ? स्पष्ट हुनुपर्यो । र, नेपालको बारेमा पनि जानकारी दिनुपर्यो नेताहरुलाई, जो अहिले संवाद वार्तामा छन्, उनीहरुलाई जानकारी दिनुपर्यो नेपाल भनेको धौलागिरि पश्चिममा पनि छ, त्यहाँ क्षेत्री–बाहुनको स्थिति के छ ? त्यहाँ दलितहरुको स्थिति के छ ? सेती–महाकाली, भेरी–कर्णालीमा । त्यो चित्र दिनुपर्यो । तिनले के पाए ? यहाँ राजनीतिको अवमूल्यन कसरी भइदियो भने, राष्ट्रले आशा गरेका नेताहरु आफ्नो जिल्ला, आफ्नो निर्वाचन क्षेत्रलाई पोस्ने, अहिले भारतमा आएको छ नि, धर्मपुत्र पालेजस्तो एउटा गाउँलाई आफ्नो गाउँ बनाउने । गोद लिने भन्छन् भारतमा । हाम्रा नेता पनि आफ्नो निर्वाचन क्षेत्रलाई गोद लिन थाले । नेपालमा जबसम्म कर्णालीलाई आफ्नो क्षेत्र मान्ने नेता प्रधानमन्त्री बन्दैन, तबसम्म नेपालको कायापलट हुन सक्दैन । तर, अहिलेसम्म नेताहरु कस्ता देखापरे त भन्दा आफ्नो निर्वाचन क्षेत्रमा अन्तको पनि चुँडेर ल्याएर बजेट ओइर्याउने र त्यो ठाउँमा चुनाव जित्ने । यस्ता नेताको घातक विचार र संकीर्णताले बडा ठूलो नोक्सान पुर्याएको छ । त्यसैले मधेसका यी देखा परेका नेताबाहेक त्यहाँका समुदायसँग, त्यहाँ स्थानीय नेताहरुसँग, स्थानीय अगुवाहरुसँग सरकारले संवाद गर्नुपर्छ र उनीहरुका जायज मागलाई पूरा गर्नुपर्छ । अर्कोतिर, हाम्रा कवि, लेखक, विभिन्न पार्टीका नेताहरु, व्यापारीहरुको एउटा टोली दिल्ली पठाउनुपर्छ । संवाद गर्यौं कि नेपाललाई निचोरेर भारतीय सत्ताधारीले चाहेको के हो ? यो कुरा स्पष्ट बाहिर आउनुपर्छ । नेपालको भलो चाहने, नेपालको सार्वभौमिकतालाई कदर गर्ने नेता पनि छन् भारतमा । एकातिर भारतको विकल्प भारत ढंगले जानुपर्यो भने, अर्कोतिर हामीले नेपाली जनताको सबिस्ताका निम्ति चीन, बंगलादेशलगायत अन्य देशबाट के के ल्याउन सक्छौं, त्यो बाटो पनि खोल्नुपर्छ । मुख्य कुरा नेताहरुमा नैतिकता चाहियो । चाहे त्यो सानै देशको किन नहोस्, ऊसँग यथेष्ट आत्मविश्वास छ, जनताको समर्थन छ भने उसलाई कच्याककुचुक पार्न कुनै पनि ठूलो शक्तिराष्ट्रका नेताले सक्दैनन् । सानो देश क्युबाको फिडेल क्यास्ट्रो विश्व राजनीतिमा सधैं चर्चित रहे । क्युबा ठूलो भएर होइन । अझ क्युबा अमेरिकाको नाकैमुनि छ । ६० वर्षदेखि अमेरिकाको इम्बार्गो (बन्दरगाहबन्दी) उसले झेल्दै छ । तर पनि क्युबा बाँच्यो । त्यसो हुनाले नेपाली जनताले पनि यी नेताबाट काम चल्दैन भने, नयाँ नेता पैदा गर्नुपर्छ, यस्तो बेला पनि आइसकेको जस्तो मलाई लाग्छ ।
0 comments:
Post a Comment