एकै ठाउँ बस्छन्, १२ ‘आमा’का १५० सन्तान

a


‘यी असहाय बालबालिकालाई हेर्दाहेर्दैै बिहे गर्न मनै लाग्दैन । आफैँले जन्माएको जस्तै लाग्छ,’ ३० वर्षीया बाटुला भट्टराईले भनिन् ।
बाटुला चारमहिने शिशुलाई बोतलको दूध चुसाउँदै थिइन् । ‘यो झाडीमा फेला परेको हो,’ बाटुलाले भावुक हुँदै भनिन्, ‘यो बाबु यहाँ ल्याउँदा २८ दिन जतिको हुँदो हो । चिसोले पूरै शरीर नीलो भइसकेको थियो । सास फेर्न पनि नसक्ने अवस्थामा थियो । हामीले झन्डै दुई हप्ताजति अस्पतालमा राख्यौँ । अझै यो बिरामीजस्तै छ ।’

केही दूधे बालबालिका छन् । कोही आफ्नै तालमा घिस्रँदै खेलिरहे छन् । कोही मस्त निद्रामा छन् । हुर्केकाहरू विद्यालय गएका छन् । असहाय बालबालिका रहेको नक्सालस्थित एक कोठाको अवस्था हो यो ।
यहाँ हाल बाबुआमाले बेवारिसे छाडेका १२ कलिला बालबालिका हुर्कंदै छन् । दुई वर्षमुनिका पाँच छोरी र सात छोरा गरी १२ बालबालिका छन् । जम्माजम्मी यहाँ एक सय ५० भन्दा बढी बालबालिका छन्, कतिपय हुर्किसकेका छन् ।
यस्ता असहाय बालबालिकालाई स्याहारसुसार गर्न १२ ‘आमा’ छन् । यी आमाहरु मन्दिरका जागिरे हुन् । यहाँ २२ देखि ५६ वर्षसम्मका ‘आमा’ रहेका छन् । तर, सबै अविवाहित हुन् । तीमध्ये एक हुन्, बाटुला भट्टराई ।
यहाँका आमाहरु असहाय सन्तानलाई हुर्काउँदैमा बिहे गर्न मन नलागेको बताउँछन् ।


१२ वैशाखको भूकम्पले नक्सालस्थित बालमन्दिर भवनमा क्षति पु¥याएपछि त्यहाँ रहेका असहाय बालकालिकालाई ‘शिक्षाका लागि खाद्यान्न’ कार्यक्रमको सरकारी भवनको एक कोठामा सारिएको छ ।
नक्सालको यो बालमन्दिर तत्कालीन रानी रत्नराज्य लक्ष्मीको अवधारणा र संरक्षकत्वमा ०२१ सालमा स्थापना भएको हो । बालबालिकाको क्षेत्रमा काम गर्ने यो मन्दिर पञ्चायती कालभरि चर्चित थियो । राजसंस्था ढलेसँगै यसलाई सरकारले नेपाल बाल संगठनका नाममा सञ्चालन गरेको छ । अहिले यो बालमन्दिर विभिन्न निकायको सहयोगबाट सञ्चालित छ ।
मन्दिरले आमाले जन्म दिएर बेवारिसे छाडेका सन्तानलाई संरक्षण गर्दै आएको बालमन्दिरकी व्यवस्थापन प्रमुख सविता लम्साल बताउँछिन् ।
पुरुषवादी समाजमा वंश निरन्तरताका लागि छोरा नै चाहिने अन्धविश्वासका कारण पनि कतिपयले छोरी जन्माएर अस्पताल वा एकान्त स्थलमा बेवारिसे छाड्ने गरेको उनको भनाइ छ । अनैतिक सम्बन्ध वा बलात्कारबाट जन्मिएका सन्तानलाई आमाले बेवारिसे छाडिदिएको पाइएको पनि लम्साल बताउँछिन् ।



‘अहिले लभ गर्नेदेखि लिभिङ टुगेदर गर्नेजस्ता पश्मिेली संस्कृति भित्रिएका छन् । यसरी जन्मिएका सन्तानलाई अस्पतालमै छाडिएको पनि पाएका छौँ,’ लम्साल भन्छिन्, ‘कतिलाई खोला किनार, झाडी वा जंगलजस्ता एकान्त ठाउँमा प्लास्टिक र बाकसमा बेरेर फालिएको हुन्छ ।’
सन्तानलाई जन्म दिएपछि बाबुआमाले उसलाई हुर्काउनुपर्छ । उसलाई बेवारिसे छाड्नु गैरकानुनी हुन्छ । तर, सामाजिक अन्धविश्वास, अनैतिक सम्बन्ध, बलात्कार, गरिबीलगायत कारण कतिपय शिशुलाई आमाबाबुले बेवारिसे छाड्ने गरेका छन् । कतिपय घरबार नभएका असहाय महिलाबाट पनि जन्मने गरेका हुन्छन् ।
अनैतिक सम्बन्ध र हाडनाता सम्बन्धबाट जन्मेका शिशुलाई खासगरी आमाले छाडेर जाने परोपकार प्रसूतिगृह थापाथलीकी डाक्टर सुधा श्रेष्ठ बताउँछिन् । यता, वैदेशिक रोजगारीका लागि श्रीमान् विदेश जाने र श्रीमतीले नाजायज सन्तान जन्माउने समस्या रहेको पनि बताइन्छ । ‘बेवारिसे शिशु संख्या बढ्नुमा यस्ता कारण पनि प्रमुख हुन्,’ नेपाल प्रहरी प्रवक्ता कमलसिंह बम बताउँछन् ।
शिशुहरूको हेरचाह गर्ने अर्की महिला प्रभा महतले भन्छिन्, ‘साना बच्चा हुर्काउन कम्ता गाह्रो हँुदैन ।’ उनी एक नौमहिने शिशुलाई र अर्कीलाई झोलुंगोमा हल्लाउँदै थिइन् । ‘यो बाबु यहाँभरिको ज्ञानी र स्वस्थ छ, यहाँ ल्याएदेखि आजसम्म बिरामी भएको छैन,’ एक बच्चालाई देखाउँदै उनले भनिन् ।
यी बालबालिकालाई बजारबाट दूध किनेर खुवाइन्छ । ‘बजारबाट ल्याएको दूध आमाको जस्तो कहाँ हुन्छ र ?’ अर्की आमा निर्मला तिमिल्सिना भन्छिन्, ‘शिशुलाई पाँच महिनासम्म हुर्काउन निकै मुस्किल हुन्छ । अझ जाडो महिनामा धेरै बिरामी पर्छन् ।’
बालाजुको पुलमुनि भेटिएको तीनमहिने सन्देश नामको बालकलाई उनले स्याहार गर्दै थिइन् । देखाउँदै उनले भनिन्, ‘अस्पतालबाट ल्याएका बालबालिकाभन्दा बाटो, झाडीमा भेटाएर ल्याइएकालाई हुर्काउन मुस्किल हुन्छ, सन्देशलाई पनि हामीले सुरुमा एक हप्तासम्म अस्पतालमा राखेर ल्याएका हौँ,’ उनले भनिन्, तर, हामी सक्दो हेरचाह गरेर उनीहरूलाई सकभर बिरामी हुन दिँदैनौँ, कलंकीको पुलमुनि भेटिएकी जेसिका नामक बालिकालाई पनि हामीले सुरुमा १५ दिनसम्म अस्पतालमा राखेर ल्याएका हौँ । भेटाएर ल्याएका बालबालिकाको नाम हामीले राख्छौं ।’


कलिला बालबालिकाको हेरचाहका लागि दिन र रात गरी दुई सिफ्ट आमाहरु खटिनुपर्छ । ‘दिन र रात गरी आमाहरुले पालैपालो हरेचाह गर्छन्,’ मन्दिर व्यवस्थापन प्रमुख लम्सालले भनिन्, ‘कलिला बालबालिकालाई हेर्न मात्रै हामीले दुई नर्स र ६ आमा खटाएका छौँ ।’
आमाको दूध नखाएकाले बालबालिकालाई ५/६ महिनासम्म हुर्काउन अति नै मुस्किल हुने नर्स संस्कृति श्रेष्ठ बताउँछिन् ।
गर्भ पतनलाई कानुनी मान्यता दिए पनि यस्ता बेवारिसे शिशु भेटिने क्रम रोकिएको छैन ।
थापाथलीस्थित प्रसूतिगृहमा बेवारिसे छाडिएका शिशु कसैले लैजाने आशामा अस्पतालले १५ दिनसम्म स्याहार गर्छ । त्यसपछि पनि बच्चा लिन कोही नआए नक्सालस्थित बालमन्दिर पठाइन्छ ।
यस वर्ष मात्र अस्पतालमा चार शिशु छाडिएका थिए ।


‘यसअघि जति बच्चा पठाए पनि बालमन्दिरले राखिदिने गथ्र्यो । तर, अहिले थोरै संख्यामा भेटिएका शिशुलाई पनि राख्न समस्या भएको छ,’ प्रसूतिगृहका प्रशासक अमर अमात्यले भने, ‘बालमन्दिरमा पहिलेजस्तो बजेट छैन । यसै वर्ष पनि हामीले पठाएका शिशु राख्न नसक्ने जवाफ आएको थियो, हामीले धेरै अनुरोध गरेपछि बल्लतल्ल राखियो ।’
गत वर्ष अस्पतालमै छाडिएको टाउको ठूलो भएको एक बच्चालाई आवासगृहले नलिएपछि अस्पतालमै राखेर ६ महिनासम्म रेखदेख र औषधोपचार गरिएको थियो । उपचारकै क्रममा ६ महिनापछि बच्चाको निधन भएको थियो । अमात्यका अनुसार काठमाडौंमा गलैंचा उद्योग सञ्चालन हुँदा कामदार युवतीले शिशु जन्माएर छाड्ने गर्थे । पछिल्लो समय दुई–तीन छोरी भइसकेका, पति विदेश गएका, बलात्कारका घटनाबाट जन्मिएका र अविवाहित युवतीले अस्पतालमा बच्चा जन्माई छाडेर भाग्ने गरेका छन् ।
‘एक वर्षमा मैले अस्पतालमा छाडिएका ४० बच्चासम्म बालमन्दिर पठाएको छु,’ उनले भने, ‘बच्चालाई बेडमा सुताइराखेर डिस्चार्जको कागजातसमेत नलिई यस्ता आमाहरू भाग्ने गर्छन् ।’
पछिल्लो समय गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि अस्पतालमा बेवारिसे छोडिएका बच्चाको संख्या घटेको उनी बताउँछन् ।

a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment