मधेशमा जे सुनियो, जे बुझियो

a


२०६४ को मधेश विद्रोहमा नागरिक आन्दोलनको टोली थलैमा गएर यथार्थको नाडी छाम्न मधेश झरेको थियो । हाम्रो टोलीनेता थिए डा. देवेन्द्रराज पाण्डे । आन्दोलनमा अश्रुग्याँस, लाठी र गोलीको अन्धाधुन्ध क्रीडाबीच आन्दोलनकारीको आक्रोशको पारो नापियो र प्रहरीको ज्यादती हेरियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए । मधेशबाट फर्केपछि डा. पाण्डे र म कोइरालालाई आन्दोलनको यथार्थ अवगत गराउन बालुवाटार पुग्यौँ । गुत्थ फुलेका कोइरालाले असन्तोषको धुवाँ ओकल्दै भने— ‘मधेशमा अगो झोसेर आउनु भो, हैन ?’ हामी स्तव्ध भएर फक्र्यौँ । अलिदिनपछि उनै कोइरालाको कमाण्डमा मधेश विद्रोहले उठाएको संघीयताको मागलाई विधिवत्रुपले अन्तरिम संविधानमा प्रवेश गराइयो ।
चालू मधेश आन्दोलनमा म फेरि मधेश झरेँ । झर्न सजिलो थिएन । माथि पहाडमा मौसमी राष्ट्रवादको बाढी उर्लिएका बेला मधेश झर्दा राष्ट्रवादी पहिचानमा दाग लाग्ने खतरा थियो । मौसमी राष्ट्रवादको चश्माले हेर्दा मधेश आन्दोलनमा विखण्डनको अनिष्ट दृश्य दृष्टिगोचर हुन्थ्यो । तथापि नागरिक कर्तव्यबोध गर्दै म लागेँ ओरालो । मलाई तल डोर्‍याउने अगुवा पमत्र रामरिझन यादव थिए । उनले पिताजीको सम्झनामा मधेशी छोरीहरुका लागि छात्रवृत्तिको राखेका गरेका रहेछन् । हो त्यही छात्रवृत्ति वितरण मेरो मधेश झर्ने निहुँ बन्यो । म मोटरसाइकलमा हुइँकिँदै सिरहा, सप्तरी र धनुषा घुमेँ । मैले कोठामा बुद्धिजीवीहरुका विचार सुनेँ, सडकसभामा अग्निवर्षी भाषणहरु श्रवण गरेँ र सडक किनारमा उभिएर गतिमान् आन्दोलनकारीहरुका उत्ताल आवेग र आक्रोशले भरिपूर्ण अनुहारहरु पढेँ । त्यत्रो दमन र त्यतिका हत्याहरुमाझ मधेश आन्दोलन यतिका दिनसम्म टिक्नुको रहस्य के हो ? आन्दोलनकारीहरु किन टाउका–टाउकामा बेचैनीयुक्त आक्रोशका ससाना बम बोकेर हिँडिरहेका हुन् ? यो दिर्घायु आन्दोलनको गर्भमा के छ ? मधेश घुम्दा आफूले देखिजानेका र सुनिजानेका कुराका आधारमा म यहाँ आफ्नो अवलोकलन र अनुभवको कथा सुनाउँछु ।
उदास र उजाड बर्दिबास
बाइरोटको बोटोमा टाटा सुमोमा चढेर पुगियो बर्सिबास । उदास र उजाड बर्दिबास । गर्नलाई काम छैन, हातमा दाम छैन, मन रित्तो छ । बर्दीबास पूर्व आन्दोलन छ, बर्दिबास पश्चिम सडक सुनसान छ । सडक किनारै–किनारका पहाडी बन्धुहरु न आन्दोलनमा छन् न विरोधमा । तिनको एकमात्र चिन्ता छ— साम्प्रदायिक हिंसा नभड्कियोस्, आफ्नो चर्मरक्षा होस् । हामी हाजिर भएको ग्याँसविनाको चिया पसलको शो केश रित्तो थियो । साहुनीले भनिन्— पकाउनु नपर्ने कोक छ, अरु सबै शून्य । धन्न सडककिनारमा दाउराले पकाएको चिया खान पाइयो । सडकमा पूर्व र पश्चिम दुबैतिर फर्केर माखा मार्ने धूनमा रहेका ट्रक र बसको लम्बेतान लामबन्दी थियो । कुरैकुरामा कुरा बुझियो— आन्दोलनकारी दिवाचर रहेछन्, राज्य निशाचर । फाटफुट मोटरसाइकल कालो झण्डा हल्लाउँदै गुडिरहेका थिए । कालो झण्डा रहेछ आन्दोलनकालीन रक्षाकवच । राति ११/१२ बजे भूमिगत र भयभीत राज्य अन्धकारको बर्को ओडेर बन्दुकको आडमा वाहनहरु पूर्व र पश्चिम चलान गर्दो रहेछ ।
मोटरसाइकलको तुफानी यात्रा शुरु भयो । म चन्द्रेश्वर पूर्वेको मोटरसाइकलमा चढेँ, युग पाठक र रामरिझन यादव रामकुमार महतोको मोटरसाइकलमा । रिझनको रायमा विषम परिस्थितिमा पेट्रोल किफायत गर्ने जुक्ती हो रे त्यो एकवाहनमा तीन जन । केही अगाडि मेरा सारथीले एक बोतल पेट्रोल किने । परिचित मित्रले मित्रसँग लिटरको रु. ३०० असुले । ढल्केबरमा सडकभरि छरिएका शीशाका टुक्राले अघिल्लो मधेश यात्राको सम्झना गरायो । त्यहीँनेर त हो आन्दोलनकारीको लठ्ठीले डा. पाण्डे र मेरा थाप्ला झण्डै नकुच्चिएका र आन्दोलनकारीको ढङ्गोले विष्णु निष्ठुरी झण्डै शहीद नभएका †
मिर्चैया पुग्नु के थियो आन्दोलनकारीको सानो टोलीले बाटो छेक्यो । टोली आक्रोशको उच्चतम् विन्दुमा थियो । ‘सप्पै पहाडे उस्तै हुन्, उतै फर्क ।’ अग्ला र छरिता टोली कमाण्डर कड्किए । हाम्रो निवेदन र तर्क परास्त भयो । हामीले दायाँतिर खेतका आलीको चोरबाटो समात्यौँ । बृद्ध नितम्बलाई रोटी बनाउँदै र ढाड दु:खाउँदै केही हप्ताअघि कैलालीको र अहिले मधेशको घुमघाममा जे बुझियो, बुँदागत रुपमा त्यो यस प्रकार छ ।
मागको हैसियत–माथि उच्च, तल न्यून
मस्यौदा संविधान माथि हिमाल–पहाडमा पनि र तल तराई–मधेशमा पनि असन्तुष्टिको कारक बन्यो । असन्तुष्ट जनहरु आ–आफ्ना मागको बिस्कुन लगाएर सडकमा उत्रिए । राज्यका हर्ताकर्ताका दृष्टिमा माथि र तलका मागको हैसियत उच्च र न्यून देखियो । माथि बागलुङ, सुर्खेत र जुम्लाका माग विना वार्ता, विना आलटाल र विना दमन झटपट पूरा गरिए । तल थारु, मधेशी र अन्यहरुका माग उपेक्षा, आलटाल र दमनको शिकार बन्न पुगे । माथि पहाडमा निषेधाज्ञा तोड्दा आन्दोलनकारीलाई बढीमा पानीका फोहराले तर्साइयो, तल तराई–मधेशमा उही निषेधाज्ञा तोड्दा आन्दोलनकारीलाई गोली दागियो, त्यो पनि घुँडामुनि होइन, छाती र टाउका ताकीताकी । माथि र तलका समान प्रकृतिका मागको हैसियतमात्र फरक नभई मागकर्ताका क्रियाकलापप्रति राज्यको दण्डात्मक प्रतिक्रिया पनि फरक भयो । राज्यका कर्ताहरुको माथि र तलप्रतिको यो विभेदकारी दृष्टि र व्यवहार तलका उपेक्षित जनहरुका आहत चित्तमा साह्रै बिझायो । राज्यका दृष्टिमा ती सदाझैँ न्यून हैसियत भएका पराई ठहरिए । त्यसैले राज्यबाट तिनले फेरि पनि उपेक्षा र वञ्चनाको निर्मम उपहार पाए । र, संविधानसभाबाट लेखिने संविधानमा पहिचान, हक र प्रतिष्ठा प्राप्त गर्ने तिनका आकांक्षामा फेरि पनि ऐँठनकारी ठेस लाग्यो ।
मानिसको मूल्य—माथि बढी, तल घटी
टीकापुरको वीभत्स घटना राज्यद्वारा थारु समुदायमाथि इतिहासभरि गरिएको विभेद, वहिष्करण र वञ्चनाबाट सञ्चित आक्रोशको उग्रतम् प्रतिक्रिया थियो । घटनाको ठीकअघि आन्दोलनरत थारु समुदाय प्रहरीबल र अखण्डमार्गी बन्धुहरुको घेराउ, लखेटाइ र उपहासको अखण्ड शिकार बनेको थियो । आफ्ना माग पूरा हुँदा अखण्डमार्गी पक्ष विजयको उन्मादमा थियो, आफ्ना माग पूरा नहुँदा थारु समुदाय मर्माहत भयो । थारु समुदायका विरोध प्रदर्शनहरुलाई दुर्भावका कारकका रुपमा चित्रण गर्दै अखण्डमार्गीद्वारा सद्भाव जुलुसहरु निकालिए । थारुजनका आफन्तको शवयात्राका बाटाहरु छेकिए । अखण्डको विजय उत्सवमा तामसी मोटरसाइकल र्‍याली निकालेर थारु समुदायका हृदयको चहर्‍याइरहेको घाउमा नूनचुक थपियो । थारु समुदायको धैर्यको बाँध टुट्यो र टीकपुरको अप्रिय घटना घट्यो । त्यो घटना आक्रोशित थारु समुदयद्वारा पहाडी समुदामाथि लक्षित थिएन । त्यो त केवल विभेदकारी र असहष्ण्ुिा सत्ताको प्रत्यक्ष प्रतीकका रुपमा उपस्थित प्रहरीहरुमाथि लक्षित थियो । कर्तव्यपालनाको क्रममा रहेका प्रहरीहरु दुर्भाग्यवश सत्ताको प्रतीकका रुपमा आन्दोलनकारीका निशाना बने । विभेदबाट उत्पन्न आक्रोशको कारक सत्ता थियो, बबुरा प्रहरी घानमा परे ।
सत्तावृत्त र मिडियामा परिणामको चर्चा भयो, कारणतर्फ आँखा चिम्लिइयो । थारु समुदायलाई राक्षसका रुपमा चित्रण गरियो र जीवन गुमाउने प्रहरीहरुमाथि आँसुको असीम वर्षा भयो । तथ्यको पुच्छर समातियो, तथ्यको शिर र गिँडको पर्बाह गरिएन । घटनापछिको कफ्र्यूकालमा थारु समुदायका घरहरुमा तोडफोड भयो, पसलहरु लुटिए वा आगो लगाइए, महिलाहरुमाथि दुव्र्यवहार गरियो । कफ्र्यूमाझ त्यो वितण्डा र विनाशको कर्ता को थियो ? त्यसलाई संरक्षण र पुठ दिने को थियो ? सत्तावृत्त र मिडया यसबारे मौनप्राय: रहे । मानौँ थारु समुदाय त्यस्तो राक्षस हो जसलाई यो सत्ता र यसका आफन्तहरुले जे गरे पनि न्यायोचित हुन्छ ।
टीकापुर घटनामा एक निर्दोष पहाडी बालकको ज्यान गयो । र, सत्तावृत्त र मिडियामा ती बालकको जीवनहरणप्रति करुणाको अजस्र वर्षा भयो । रुपन्देहीमा प्रहरीका हातबाट एक निर्दोष मधेशी बालकको जीवन हरण भयो । तर सत्तावृत्त र मिडियासँग ती बालकको नाउँमा चुहाउन एक थोपो आँसु पनि भएन । मारिने दुबै बालक थिए । दुबै नेपाली थिए । दुबै अबोध थिए । तर उद्भव, वर्ण र भूगोलका हिसाबले तिनका जीवनको मूल्य आनका तान घटीबढी हुनगयो । एउटाको मूल्य असीमित, अर्काको मूल्य शून्य । महोत्तरीमा आन्दोलनकारीद्वारा एक असईको ज्यान गयो । त्यसै दिन मधेशमा प्रहरीका हातबाट पाँचजना आन्दोलनकारीको ज्यान गएको थियो । सत्तावृत्त र मिडियामा ती प्रहरीप्रति करुणाको अजस्र वर्षा भयो । तर मृत पाँच आन्दोलनकारी लगभग बेखबर रहे । हेर्ने आँखा उनै हुन् । घटनाको प्रकृति उस्तै हो । तर परिणामप्रतिको यो प्रतिक्रिया कति विभेदकारी †
मोदी जिन्दावाद— कहिले माथि, कहिले तल
मोदीको नामसँगै स्मृतिको भित्तोमा संविधानसभाको दासवत् दृश्य सजीव भएर आउँछ । डायसमा चतुर मोदी सम्मोहक भाषण गर्दैथिए, श्रोतादीर्घामा नेता र सभासद्हरु म्यादी राष्ट्रवादको चेतलाई चित्तमै थाती राखेर भक्ति मुद्रामा फुट्ने गरी टेबुल ठोक्दैथिए । आफ्नो भाषणमा अभिनेता मोदीले कृपाको वर्षा गरे । तिनले भने—नेपाल सार्वभौमसत्तासम्पन्न देश हो । र, भने— बुद्ध नेपालमा जन्मेका हुन् । धर्मनिरपेक्षताबारे मौन रहे पनि मोदीले उदारतासाथ गणतन्त्रको उच्चारण गरिदिए । आत्महीन राष्ट्रका लागि मोदीका यी वचन नेपालको नेपालत्वको आधिकारिक प्रमाणपत्र बने । यसको अतिरिक्त, मोदीले बन्न लागेको संविधान सय वर्षको दूरदर्शितासाथ ऋषि मनले मनन गरी लेखिएको द्वन्द्व निराकरण र सामाजिक सामञ्जस्यको लिखत हुनुपर्ने सल्लाह पनि दिइहाले । र, सत्तावृत्त र मिडिया दुबैमा मोदीको ‘जिन्दावाद’ गुन्जियो ।
जब कतै गुप्त खोपीमा १६ बुँदे स्रेस्ता रचियो, मौसमी राष्ट्रवाद एकाएक जागृत भयो र मोदीको ‘जिन्दावाद’मा स्खलन शुरु भयो । सोह्रबुँदेले मधेशी मोर्चालाई संविधान निर्माण प्रक्रियाबाट विष्मयकारी ढङ्गले पाखा लगायो । र, संविधानसम्बन्धी दिव्य मोदीवाणी उपेक्षाको किनारातिर हुत्तिँदै गयो । तथापि मोदीले भनिरहे— संख्याको मात्र भर नपर, पक्षहरुको संलग्नता र सहमतिमा ध्यान देऊ । हतार नगर, धैर्य गर, मधेशका आकांक्षाहरुलाई संविधानमा सम्मान गर । चोटबोटो हिँडेर संविधान बनाइरहेका कर्ताहरुमा न कसैका कुरा सुन्ने धैर्य थियो न त तिनलाई लेसमात्र पर्बाह नै थियो । कृपाको याचना गर्न दिल्लीधाम धाउनेहरुले मोदीसँग केही वाचा गरेका हुँदा हुन् । ठूल्दाइसँग सान्भाइले गरेको वाचा हो, त्यसको पालाना कसो नहोला ? शायद मोदी आश्वस्त मुद्रामा अन्तिम घडीसम्म त्यो वाचामा झुन्डिएर प्रतिक्षारत रहे । जब संविधान हस्ताक्षर गर्ने क्षणमा पुग्नैलाग्यो, शायद मोदीलाई आफू छक्किएको महसुस भयो । र, क्रूद्ध र असंयमित दिल्ली कूटनीतिका यावत् मानक र मर्यादाहरुलाई कुल्चिँदै नग्न भेषमा हस्तक्षेप गर्न आइलाग्यो । आन्दोलनकारी मोर्चा र न्यायप्रेमी जनगणले संविधानलाई अलिदिन थाती राखेर द्वन्द्व समाधानका जुक्ती खोज्न निवेदन गर्दा संविधानका कर्ताहरु आफ्नै हठको यात्रामा गतिमान् थिए । तर जब दिल्ली आक्रामक मुद्रामा आइलाग्यो, मौसमी राष्ट्रवादलाई बिसाएर दुई दिन संविधानलाई विश्राम दिइयो । ढिलो भइसकेको थियो, दिल्लीको हस्तक्षेपले हावा खायो ।
संविधान निर्माताहरुको आकलन हुँदो हो— भूकम्पले लोकको मन–मानस क्षतविक्षत भएको छ । यस्तोमा जसरी र जस्तो संविधान बनाए पनि उति ठूलो विवाद र प्रतिकारविना नै त्यो ट्याक्क स्वीकृत हुनेछ । तर थारु, मधेशी, लिम्बू, तमु र मगर समुदाय असहमति र विरोधमा उठे । संविधानका कर्ताहरुको अर्कोे अँकाइ हुँदो हो— दमनको उपकरणद्वरा आन्दोलनलाई सहजै निस्तेज पार्न सकिन्छ । र, यता संविधान लेखिँदै गयो, उता थरुहट र मधेशमा आन्दोलनकारीको रगत बग्दैगयो । जति रगत बग्यो, राज्यका कर्ताहरुको अपेक्षाविपरीत आन्दोलनको आकार र राप–ताप उति नै बढ्दै गयो । तथापि रक्तपातबीच सुझाव सङ्कलनको अभिनय गरियो, रक्तपातबीच संविधान जारी गरियो । मधेश झनै अशान्त भयो, दमनचक्र झनै तीव्र बन्यो । र, दिल्लीले हाकाहकी मधेशको मुद्दामा हात लाग्यो । हिजो माथि हिमवत् खण्डमा गुन्जिएको ‘मोदी जिन्दावाद’ अब तल मैदानी मधेशमा सर्‍यो ।


नजिकैबाट मधेश आन्दोलनलाई नियाल्दा दुईवटा नाम घरिघरि सुनिए— केपी ओली र पृष्पकमल दाहाल । आन्दोलनको विस्तारभरि टुक्काविषारदी केपीका तीन उद्गार नामी रहेछन् । मानव साङ्लो माखे साङ्लो हो, आन्दोलनका शहीद कुहेर झर्ने आँपसरह हुन् र वारिको समस्त समतल भाग दाबी गर्नेले पारिका विहार–उत्तर प्रदेश पनि दाबी गरे भयो नि ।

काठमाडौँबाट मधेशको ‘मोदी जिन्दावाद’ सुन्दा मलाई ननिको र अप्रिय लागेको थियो । मौसमी राष्ट्रवादका कानले सुन्दा त त्यसमा अराष्ट्रवाद र विखण्डनको दुर्गन्ध आएको हुँदो हो । त्यसो त यता हिमवत् खण्डको ‘मोदी जिन्दावाद’ पनि मलाई निको र प्रिय लागेको होइन । थलैमा गएर मधेश आन्दोलनको यथार्थ बुझ्न जब म मधेश झरेँ, ‘मोदी जिन्दावाद’को अर्कै अर्थ लाग्यो । आन्दोलनमाथि राज्यको दमन अति भएपछि शायद निरुपाय र हताश मधेशी मोर्चाले दिल्लीछेउ गुनासो गर्‍यो— रोटी–बेटीको नाताका हामी यसरी मारिँदा हजूर कति दिन रमिता हेरेरे बस्ने हो ? प्रत्युत्तरमा शायद दिल्ली संवेदित भयो र मधेश आन्दोलनप्रति समर्थनको हात अघि बढायो । भुक्तभोगी मधेशीहरु गहभरि आँसु लिएर भन्छन्— त्यसपछि मधेशमा मान्छे मारिएन । र, पीडित मधेशीहरुका दृष्टिमा राज्य जीवन–भक्षक ठहरियो, मोदी जीवन–रक्षक मानिए । बिडम्बनावश, स्वदेशी जनले घरिघरि पुकारा गर्दा राज्यका कर्ताहरुमा लेसमात्र पनि करुणा जागृत भएन, तर दिल्लीको इसाराले तिनलाई नतमस्तक तुल्यायो । मधेशको ‘मोदी जिन्दावाद’ प्रकारान्तरले हिमवत्खण्डका कर्ताहरुको मुर्दावाद हो । यो मुर्दावादका कारक र प्रेरक यी कर्ताहरु स्वयं हुन् ।
केपीको उपहास, पुष्पको विश्वासघात
नजिकैबाट मधेश आन्दोलनलाई नियाल्दा दुईवटा नाम घरिघरि सुनिए— केपी ओली र पृष्पकमल दाहाल । आन्दोलनको विस्तारभरि टुक्काविषारदी केपीका तीन उद्गार नामी रहेछन् । मानव साङ्लो माखे साङ्लो हो, आन्दोलनका शहीद कुहेर झर्ने आँपसरह हुन् र वारिको समस्त समतल भाग दाबी गर्नेले पारिका विहार–उत्तर प्रदेश पनि दाबी गरे भयो नि । केपीका यी कटाक्षबाट मधेशी जनले असीम उपहास र अपमानबोध गरेका छन् । उता पुष्पकमलका दुईवटा भनाइ मधेशको आकाशभरि गुञ्जिरहेका छन् । पहिलो, ‘मधेशसँग मेरो लभ पर्‍यो, प्राण छउन्जेल यो छुट्दैन’ । र दोस्रो, ‘मधेश मुक्त नहुन्जेल म आन्दोलन छाड्दिन, बरु मर्न तयार छु ।’ मधेशी मोर्चलाई लत्याउँदै प्रतिपक्षको मैदान त्यागेर सोह्रबुँदेसामु आत्मसमर्पण गर्दा पुष्पकमलले यी दुबै भनाइ बिर्से । मधेशी आन्दोलनकारीका दृष्टिमा यो पुष्पकमलको आफ्नै वाचाप्रतिको र उत्पीडित मधेशीहरुप्रतिको विश्वासघात हो । आफूअनुकूल संविधान बनाएर जब उनै केपी र पुष्प सत्ताधारी बने, आहत मधेश झनै तर्सियो । यिनले अधिकार होइन, केवल दमनको उपहार पो दिने हुन् कि † सशंकित आन्दोलनकारीहरुका चित्तमा यस्तो भाव जाग्यो, आन्दोलनकारी झनै उग्र बने र आन्दोलनको आकार झनै विस्तारित भयो । र, आन्दोलनमा सर्वत्र केपी र पुष्पका पुत्ला जल्नथाले ।
अभी नहीं तो कभी नही
अघिल्लो मधेश विद्रोहमा ५४ जना आन्दोलनकारीले सहादत प्राप्त गरेका थिए । त्यो घाउमा खाटा बसिसकेका छैनन् । अहिले मारिनेको संख्या ५० नाघिसक्यो । र, मधेश पीडामय आक्रोशले छट्पटाइरहेको छ । आन्दोलनकारीहरु सोध्छन्— छातीभरि आँसु लिएर नयाँनयाँ शहीदलाई श्रद्धाञ्जलि दिइरहन हामी किन अभिशप्त ? के पहाडी राव्यद्वारा मारिनु नै हाम्रो नियति हो ? गए ज्यान जाओस्, अब आन्दोलन छाडिँदैन । अभी नहीं तो कभी नहीं †
‘अभी नहीं तो कभी नहीं’को संकल्पका साथ सिंगै मधेश आन्दोलनरत छ । उद्योगी र व्यापारी, शिक्षक र प्रोफेसर, सरकारी जागिरे र अन्य पेशाकर्मी, मारवाडीगण र जनसाधारण सबै लामबद्ध छन् । मधेशबासी पहाडी बन्धुहरु ‘हामी मधेशी, हाम्रो मधेश, हाम्रा माग पूरा गर’ भन्दै ऐक्यबतामा उत्रिएका छन् । थरीथरीका क्लबहरु र युवा समूहहरु क्रियाशील छन् । आन्दोलनलाई जीवन्त र संयमित बनाउनमा तिनको ठूलो हात छ । महिला सहभागिता रमितलाग्दो छ । यसबीच बन्दव्यापर ठप्प छ । जीवन अभावग्रस्त छ । होटलहरु बन्द छन् । शहरहरु उजाड देखिन्छन् । तैपनि आन्दोलन अडिग छ । न त्यसको आकार घ्ट्दो छ न त्यसको तेज सुस्ताउँदो छ ।
नाकाबन्दी वारिको, ढाल पारिको
वारिका आन्दोलनकारीहरुले नाकाबन्दी गरेका छन्, दिल्ली पारिपट्टि नाकाबन्दीको ढाल भएर खडा भएको छ । आन्दोलन लम्बियो । राज्यले उपेक्षापछि उपेक्षा र अपमानपछि अपमान गर्‍यो । दर्जनौ नागरिकको ज्यान गयो । आन्दोनकारीहरुमाथि तिनकै रगतका छिटा परेको संविधान थोपरियो । मधेशी चीत्कारले आकाश ढाक्यो, तैपनि सुनुवाइ भएन । र, राज्यमाथि दबाब बढाउने अभिप्रायले आन्दोलनकारीहरुले नाका छेके । प्रहरी दमनबाट जोगिने मनशायले ती दशगजामा बसे । केही सहानुभूति र समभाव तथा केही अहंको चोट र केही स्वार्थवश दिल्ली छद्म भेषमा नाकापारि हाजिर भयो । नाकाबन्दी गर्ने जो हो, त्यो खोल्ने पनि उही हो । समस्या हाम्रो घरभित्र छ । घर सफा गरे बाहिरबाट भन्किन आउने कीटपतङ्गहरु स्वत: गायब हुन्छन् । नाकाबन्दीको वास्तविक उपचार आन्दोलनले अघि सारेका हकदावीहरुको यथोचित सम्बोधन हो । माग सम्बोधन भएपछि जब आन्दोलकारीहरु घर फर्कन्छन्, ‘नेपलीलाई पीडा दिने अभिप्राय नभएको’ भन्ने मोदीवाणीको परीक्षा हुनेछ ।
माग ठोस छन्, माग बुझिएनन्
आन्दोलनकारीहरु भन्छन्— जी, हाम्रा मगहरु ठोस छन् । राज्यका कर्ताहरु, हिमवत् भेगका अत्यधिक बुद्धिजीवीहरु र मूलधारे मिडियाका थुप्रै सूचना सुराकीहरु भन्छन्— खै, मधेशका माग बुझिएनन् । केपी ओली र पुष्पकमलले दाहाल मधेश झरेर संयम र सहिष्णुता साथ आन्दोलनकारीका मुखबाट तिनका माग सुने शायद ती बुझिँदा हुन् । सिमाना किटान भएको आर्थिक सामथ्र्यसहितको स्वायत्त प्रदेश । जनसंख्याका आधारमा निर्वाचनक्षेत्र निर्धारण । समानुपातिक प्रनिधिनित्वसहितको समावेशीताको बन्दोबस्त । आमालाई नागरिकताको समान अधिकार । थरुहट प्रदेशको व्यवस्था । आन्दोलनमा सर्वत्र सुनिने माग वा दावीहरु यिनै हुन् । सोह्रबुँदेद्वारा संलग्नताबाट पाखा लगाएर मिथ्या वार्तामा अल्झाउँदै मधेशी मोर्चाका चित्तमा लगाएको ठेस वा अहंको चोट शायद त्यति ठूलो समस्या होइन ।
झन् तल धकेलियो मधेश
मधेश र पहाडी राज्यबीच भूगोलको दूरी जति छ, मनोविज्ञानको दूरी यसै पनि त्योभन्दा कता हो कता बढी छ । राज्यका अधिपतिहरुका मधेशतर्फ लक्षित उपहासजनक अभिव्यक्ति, विश्वासघाती कर्म, मिथ्या वार्ताहरुको नाटक, दिल्लीको उक्साहट भनी आन्दोलनलाई कलङ्कित तुल्याउने धृष्टता, दर्जनौ आन्दोलनकारीको हत्या र मधेशी अनेपाली र अदेशभक्त हो भन्ने अर्थ ध्वनित हुने मौसमी राष्ट्रवादको हुङ्कारले मधेशलाई झनै तल धकेलिदिएको छ । मधेश झनै तल धकेलिँदा स्वभावत: दिल्लीको नजिक पुग्ने खतरा हुन्छ । मौसमी राष्ट्रवादको नशामा लठ्ठ भएका सन्मान्य धकेलुवाहरुलाई यो अनिष्टको चेत नहुनसक्छ । आफ्ना वचन र कर्मका परिणतिहरुको पूर्वानुमान नगर्न हठ गर्ने इतिहासका अघोरी पात्रहरु सधैँ विशाद र पश्चातापको प्रतिक्षामा जिउँछन् ।
अनिष्टका सङ्कतेहरु
मधेश आन्दोलनमा संलग्न प्राय: सबै उमेर वयका नरनारीहरु आँखामा आँसु, हृदयमा गहिरा चोट र मस्तिष्कमा ससाना बम बोकेर आक्रोशको आगो ओकल्दै हिँडिरहेका छन् । तातो रगत भएका फाटफुट युवाहरु प्रश्न गर्न थालेका छन्— यतिका दिन यत्रो आन्दोलन भइसक्यो, तैपनि पहाडी राज्यका अहंकारी कर्ताहरु हामी मधेशीको समान मनुष्यत्व, स्वतन्त्रता र प्रतिष्ठा स्वीकार गर्न इन्कार गरिरहेका छन् । यी हठधर्मीसँग हामीले कति अनुनय–विनय गर्ने ? अब हामीले स्वतन्त्र मधेशका कुरा किन नगर्ने ? यसैसँग जोडिएको आक्रोशको अर्को आयाम पनि छ । ताता युवाहरु अधीर मुद्रामा आक्रामक अभिप्राय प्रकट गर्छन्— नि:शस्त्र आन्दोलनबाट फल प्राप्त नुहने भो, अब वाध्यतावश अलि कठोर बाटो पो रोज्ने हो कि † आन्दोलन लम्बिँदै जाँदा त्यसले अराजक रुप लिनसक्ने अथवा घुसपैठियाहरुद्वारा साम्प्रदायिक हिंसा भड्काइने खतरा त यसै पनि विद्यमान छँदैछ ।
हो, मधेश उग्र विष्फोटको संघारमा छ । राज्यका हर्ताकर्ताहरु मौसमी राष्ट्रवादलाई बिसाएर विवेक र दूरदर्शिताले काम गरुन् र मधेशको आक्रोशमय सन्तापको आगो निभाउन कृपापूर्वक आफैँ मधेश पाउकष्ट गरुन् ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment