राजधानी पाटीमा बसी भरिया लामो सास फेरेको…

a


‘सिमली छाँयामा बसी, भरिया लामो सास फेरेको ।
उमेरै भइसक्यो असी, झन् ठूला दुःखले घेरेको ।।’
जीवन शर्माले गाएको यस गीतले गाउँले जीवनका दुःख र दृश्य आभास गराउँछ । उकालीओराली सम्झाउँछ । तर, यो सहरको कथा हो । बिहानको १० बज्नै लागेको छ, कुरा गत शनिबारको हो । ७० वर्षीय एक वृद्धा भारीको प्रतीक्षामा छन्, हातमा नाम्लो लिएर । दृश्य काठमाडौंको मुटु मानिने महाबौद्ध हुँदै रत्नपार्क जाने सडकपेटीछेउको हो ।
वृद्धा हुन्, दोलखा घ्याङसुकाठोकरका कृष्णबहादुर कार्की । पातलापातला तिलचामले दारी, शिरमा मैलो–मैलो टोपी, कम्मरमा पटुकी । ‘पटुकी नबाँध्ने हो भने त भारीले ढाड मर्काउला नि बाबु,’ उनी पटुकी बाँध्नुको कारण भन्छन् ।
व्यस्त चोकमा उभिएका छन् । सहरको कोलाहल त्यति सुन्दैनन्, झिलिमिली पनि त्यति ठम्याउँदैनन् । उनी धमिलाधमिला आँखाले भारी नियालिरहेछन् ।
‘३० वर्षभन्दा बढी भयो, यो ठाउँमा भारी बोकेको,’ उनी भन्छन्, ‘घर दोलखा हो । सातजनाको परिवार छ, खेतीले तीन महिना खान पुग्दैन ।’
कार्कीले भारी बोकेर कमाएको पैसा पुर्याउन बेला–बेला घर जान्छन् । उनलाई एउटै दुःख छ, ‘श्रीमतीलाई सुख दिन सकिनँ ।’
कार्कीलाई काम गरेर खाने बानी मात्रै पर्यो । तर, काम गरेर धन जोड्न सकेनन् । भूकम्पपछि र भारतीय नाकाबन्दीपछि त झन् कामै पाउन मुस्किल परेको छ ।
‘पहिले दिनमा त्यस्तै हजार–बाह्र सय जति कमाइ हुन्थ्यो,’ उनी भन्छन्, ‘यो भुइँचालो र नाकाबन्दीपछि त कामै पाइएको छैन । गोदाम खुलेका छैनन्, चहलपहल छैन । त्यही दिनमा एक–दुई सय हन्छ ।’


भारी बोकेर कमाएको पैसाले कार्कीले दोलखामा घर बनाएका थिए, तीन वर्षअघि । ‘ढुंगामाटोको गाउँले घर हो, एक लाख त ऋणै लागेको छ,’ दुःखी अनुहार बनाउँदै भने, ‘घर पनि भूकम्पले बस्नै नहुने गरी चर्कायो ।’
कार्की दशैँमा घर गए र गोठमा टीका लगाएर आए । भन्छन्, ‘चाडबाडमा घर गए जहान खुसी हुन्थिन् । तर, पैसा छैन, के चाडबाड ?’
सिन्धुपाल्चोक भोटेचौर घर भएका ४६ वर्षीय हरिनारायण धिमाल पनि यही क्षेत्रमा भरिया छन् । भूकम्पले उनको गाउँघर ढलाएन मात्रै, छोरीलाई पनि लग्यो ।
गहभरि आँसु पार्दै धिमालले भने, ‘छोरीले एसएलसी दिएकी थिई । तर, आफू पहिलो डिभिजनमा पास भएको पनि थाहा पाइनँ । कमाएको जति घर बनाउँदा र छोरी पढाउँदा ठिक्क भयो । न घर रह्यो न त छोरी ।’
यता, भुइँचालो र नाकाबन्दीले आफ्नो कमाइ घटेको छ । उता, घर बनाउनुछ, दुई छोरा र एक छोरी पढाउनु पनि छ ।
भन्छन्, ‘पैसा छैन । तिहारमा घर जाँदिन होला । ’


जुंगाका रेखी बसेकादेखि दाह्री फुलेका भरिया यहाँ भेटिन्छन् । यीमध्ये एक हुन्, काभे्रपलाञ्चोक कोसीपारिका १६ वर्षीय सुरेश माझी । सुरुसुरुमा पसलमा काम गर्ने माझीले ६ महिना भयो भरियाको काम गर्न थालेको । ्
सुरेश जेठा हुन् । परिवारमा आमा, दुईभाइ र एक बहिनी छन् । उनी आमा सुख दिन र भाइबहिनीलाई पढाउन चाहन्छन् । खर्च जुटाउन नसकेका कारण भारी बोक्न आएको बताए ।


‘गरिबीकै कारण मैले त पढ्न पाइनँ, भाइबैनीले त पढून्,’ उनले भने । यति भन्दा नभन्दै उनले एउटा भारी पाए र कुदिहाले ।
दोलखा श्यामाबाट आएका ५९ वर्षीय नीरबहादुर पनि यही क्षेत्रमा भारी बोक्छन् । उनी केही काम नपाए भारी बोकौँला भनेर आएका रहेछन्, १६ वर्षअघि । सुरुमा घरभन्दा हिँड्दा उनलाई चिन्ता थियो, कतै सहरमा भारी बोक्ने काम गर्ने म मात्रै त हुँदिनँ ? तर, उनले सोचेजस्तो थिएन राजधानी, यहाँ उनले एक्लै भारी परेन । खिचापोखरी र रञ्जना गल्लीतिर पुग्दा भारी खेपेर बालबच्चा र परिवार पाल्ने थुप्रैलाई उनले भेटे ।
भन्छन्, ‘भारी बोक्ने थुप्रै छौँ । अहिले काम त्यति छैन । कहिलेकाहीँ त नाम्लोको सिरानी राखेर दिनभरि सुतिन्छ ।’
भरियाहरूको जक्सन मानिने ओमबहाल र महाबौद्धतिर उनी दिनभरि हुन्छन् । उनलाई थाहा छ, अहिले भारतले नाकाबन्दी गरेको छ । भन्छन्, ‘नाकाबन्दी खुल्यो भने गोदाम पनि खुल्ला, अनि भारी बोक्न पाइएला भनेको हो, खै कहिले खुल्ने हो ?’
नीरबहादुरको पाँचजनाको परिवार छ– दुई छोरा, एक छोरी र श्रीमती । ‘कमाई मेरो मात्रै हो, जग्गा–जमिन छैन,’ उनले भने, ‘सरकारले हामीजस्ता गरिबलाई हेर्दैन ।’


यही क्षेत्रका अर्का भरिया हुन्, डम्बर बहादुर दमाई । ओखलढुंगाका ५५ वर्षका डम्बरलाई पाँचजनाको परिवार धान्नुछ ।

डम्बर न्युरोडमा डेरा गरी बन्छन् । भन्छन्, ‘यसपालि त भाडा तिर्न पनि मुस्किल होला जस्तो छ । दशैँमा केही पैसा लिएर गएको थिएँ । उता, भूकम्पले घर ढलेको छ । पालमा बसेका छौँ । यता, पनि कमाइ छैन । तिहारमा जान्न होला ।’


यहाँका भरियाले महिनामा सरदर ३० र ४० हजार कमाउने उनी बताउँछन् । ‘कामै गाह्रो छ नि, एकपटक बोकेको दुई–चार सय, पाँच सयसम्म लिनुपर्छ । भुइँचालोअघि त सक्नेले महिनामा ३०–४० हजार नै कमाउँथे । तर, भुइँचालो र नाकाबन्दीले अहिले कामै छैन ।’
यो क्षेत्रमा भारी बोकेर परिवार धान्नेहरु एक सय ५० जना भन्दा बढी छन् । पहिले बिहानदेखि बेलुकासम्म व्यस्त देखिने यी भरिया अहिले फुर्सदमा छन् ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment