कांग्रेसभित्र स्थायी शत्रुता

a


२८ साउनमा कास्की, लेखनाथमा नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य रामजी पौडेलको हत्यालगत्तै कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रतिक्रिया दिए, ‘मेरो दाहिने हात भाँचियो, अब तपाईंले बुझ्नूहोस् । ’ पार्टीको लेखनाथ नगरको निर्वाचन तयारीको सिलसिलामा मारिएका आफ्ना गुटका पौडेल समूहको सहानुभूतिका लागि आएको देउवाको उक्त भनाइले कास्की कांग्रेसको घाउलाई झन् बल्झायो ।


संस्थापन र देउवापक्षीय कार्यकर्ताबीच बोलचालको कुरै छाडौँ, बाटोमा राखेका गाडी तोडफोड भए, घरमा ढुंगा हानिए र घटनाको अनुसन्धानमा रहेको प्रहरीलाई अनावश्यक पोल लगाएर मान्छे पक्राउने कामसमेत भयो । कतिपय निर्दोष कार्यकर्ताले दु:ख पाए । लेखनाथ नगरपालिकाका संस्थापनपक्षीय सबै स्थानीय नेता गाउँ छाडेर भागे ।

संस्थापनपक्षीय नेताको संलग्नतामा हत्या भएको भनिएको उक्त घटना कांग्रेसभित्र रहेको व्यक्तिगत र समूहगत दुस् मनीको पराकाष्ठा थियो । व्यक्तिको ज्यानै लिनेसम्मको यति निर्मम हर्कत बेहोरेको कास्की कांग्रेस त्यही घटनाका कारण अहिले पनि थला परेको अवस्थामा छ । जिल्लामा नेताहरूबीच अविश्वास र संशय व्याप्त छ । पार्टीको आन्तरिक जीवन प्रभावित भएपछि कांग्रेसले कास्कीमा अरू दलसँग प्रतिस्पर्धा गर्ने क्षमता गुमाएको छ ।

लेखनाथ नगरपालिकाको यस्तो घटनाले सिर्जेको वैमनश्यता गत असोजमा भएको उद्योग वाणिज्य संघको चुनावमा समेत प्रतिविम्बित भयो । बहुमतमा रहेको कांग्रेसपक्षीय मतदाताहरू नै चुनावी अन्तर्घातमा उत्रिए र नेतृत्व एमाले निकट प्यानलको पोल्टामा पुग्यो ।

“कास्की कांग्रेसको कुरा मात्र होइन, सिंगो कांग्रेसभित्र सुधारको खाँचो छ,” कांग्रेसको संगठन विभागको जिम्मेवारी पाएका केन्द्रीय सदस्य तथा सभापति सुशील कोइराला निकट मानिने आनन्दप्रसाद ढुंगाना भन्छन्, “पार्टीभित्रको एउटा घटनाले पार्टीको अनुशासन, सामाजिक र सांगठनिक जीवन तथा विश्वासजस्ता महत्त्वपूर्ण पक्ष प्रभावित हुन्छन् ।”

देशभरका हरेक जिल्ला र क्षेत्रको स्थितिलाई गहिरिएर हेर्ने हो भने पार्टीभित्र गुट र व्यक्तिगत सम्बन्धले विरक्तलाग्दो अवस्था छ । एकातिर सांगठनिक र अभिमुखीकरणका पक्षमा कमजोर र अर्कोतिर केन्द्रबाट सिर्जना गरिएको गुटको प्रभाव गाउँ एकाइसम्म हुनाले कांग्रेसले अनपेक्षित रूपमा दुर्घटना झेलिरहेको छ ।

कास्कीको जस् तै गुट–उपगुट र व्यक्तिगत स्वार्थका कारण २० मंसिर ०६८ मा चितवनमा पनि पार्टी नै कलंकित हुने घटना भयो । सञ्जय लामाको हत्या अभियोगमा भरतपुर कारागारमा रहेका तरुण दलका जिल्ला अध्यक्ष शिव पौडेललाई पुर्पक्षका लागि थुनामा राखिएका बेला बन्दीहरूले आक्रमण गरे । आक्रमणबाट गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा १ पुस ०६८ मा ज्यानै गयो ।

घटनामा जिल्ला सभापति विकास कोइराला पनि मुछिएपछि पार्टीले छानबिनका लागि केन्द्रमा नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा आयोग नै बन्यो । पछि, विकासलाई पदमुक्त गरियो र टेकप्रसाद गुरुङ जिल्ला सभापति बने । व्यक्तिगत कटुता, गुटको ग्रहण, गुण्डागर्दी जस् ता तत्त्व मिश्रित समीकरणको उपज मानिएको त्यही घटनामा कांग्रेसले मृतक पौडेल सहिद घोषणा गर्न माग गर्दै नेपाल बन्दको आयोजना गरी सर्वत्र निन्दा खेप्यो ।

घटनाको प्रभाव कहाँ देखियो भने मंसिर ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा चितवन–४ मा स्वयं सभापति सुशील कोइरालाका बागी बनेर विकास कोइराला उभिए । विकासले निर्वाचनमा सुशीललाई प्रभावित गर्न नसके पनि जिल्ला राजनीति कतिसम्म नियन्त्रणबाहिर रहेछ भन्ने प्रमाण थियो त्यो । अहिले पनि चितवन कांग्रेसको संगठन फाली फुकालिएको हलोजस्तो बनेको छ । “यस्तै कारणले राजनीति बिग्रेका जिल्लाहरूको सूची लामो छ,” कांग्रेसमा देउवापक्षीय नेता केन्द्रीय सदस्य प्रकाशशरण महत भन्छन्, “केन्द्रमै अर्को पक्षलाई पेल्ने खेल हुन्छ भने जिल्लाको राजनीति कसरी सुध्रेला ?”

नेता महत स्वयंको जिल्ला नुवाकोट पनि गुटगत चलखेलको अग्रपंक्तिमा छ । जिल्लामा रामशरण महतपक्षीय र अर्जुननरसिंह केसीपक्षीय खिचातानी सिंगो कांग्रेसलाई खिस्याउने किस्सा बन्दै आइरहेको लामै समय भयो । कांग्रेसभित्रको जिल्ला र क्षेत्रको चुनावमा मात्र होइन, दुई–दुईपटकको संविधानसभा निर्वाचनका बेला पनि घात–अन्तर्घातको खेल नुवाकोटमा भएको देखियो । यतिसम्म कि १२ वैशाखको विनाशकारी भूकम्पपछि आफ्नै पार्टीका अर्थमन्त्री रामशरण महतले राहतस्वरूप जिल्ला पठाएको जस्तापातामा भ्रष्टाचार गरे भन्दै पार्टीभित्रकै केसी समूहले आरोप लगायो । “वास्तवमा त्यो समाचार गुटगत दुस्मनीको कारण पनि भाइरल बन्यो,” नुवाकोटका एक पत्रकार भन्छन्, “पछि बुझ्दा थाहा भयो, बदनाम गराउने नियतले रचिएको प्रोपगन्डा रहेछ ।”

महत गुटले पनि गुन्डा नाइके घैँटेको प्रहरी कारबाहीमा मृत्युपछि उनको सम्बद्धता केसी समूहसँग रहेको खबरलाई जिल्लामा राम्रैसँग स्थापित गर्न नियोजित रूपमा लागिपरेको देखियो । नुवाकोट कांग्रेसको रमाइलो के भने जिल्लामा महत दाजुभाइ एउटै खेमामा उभिए पनि केन्द्रमा विपरीत धारमा छन् । कांग्रेसका युवा नेता प्रह्लाद पन्त भन्छन्, “दुई नेताको झगडाले जिल्लाको राजनीति राम्रो भएन, यसको फाइदा अरूले उठाएका छन् ।”

पुरानै रोग
कांग्रेसभित्र सैद्धान्तिक आधारमा नभएर केवल व्यक्तिगत सम्बन्ध, इगो र सत्ता–साखका कारण सिर्जना हुने गुट–उपगुटको अन्तरकथा बीपी कोइरालाकै पालादेखिको हो । पछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका पालामा पनि यो महारोग देखियो । भट्टराईनजिक मानिएका शेरबहादुर देउवाले भदौ ०५९ मा मूल कांग्रेसबाट छुट्टिएर प्रजातान्त्रिक कांग्रेस बनाएपछि तल्लो तहसम्मका नेता–कार्यकर्ता स्पष्ट रूपमा विभाजित भए । विभाजनपछि कटुता झन् बाक्लियो ।
०६३ मा पार्टी एकीकृत भए पनि तल्लो तहसम्मको सम्बन्ध अपेक्षाकृत रूपमा सौहार्दतामा बदलिन सकेन । यसमा कांगेसभित्र तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले चलाएको ६० र ४० प्रतिशतको भागबन्डाको परम्परा मुख्य कारक बनेर स्थापित भयो । साथै, व्यक्तिगत महत्त्वाकांक्षा, लोभ र फाइदाको राजनीति बलशाली भयो । पुराना–नयाँ स्वार्थको गठजोडले कांग्रेसलाई अनुशासनको
राजमार्गमा हिँडाउनुभन्दा बढी गुटकै चलखेलको गोरेटामा घचेट्यो ।

सधैँ केन्द्रमा प्रभाव पार्दै आइरहेका नेता भएको तनहुँको राजनीतिक ऐनामा कांग्रेसको वास्तविक अनुहार देखिन्छ । तनहुँभित्र उपसभापति रामचन्द्र पौडेल र नेता गोविन्दराज जोशीको सम्बन्ध कहिल्यै राम्रो भएन । जिल्लाका गाविस र वडासम्मै उनीहरूका समर्थक र विरोधी छन् पार्टीभित्रै । संसदीय निर्वाचनदेखि पार्टीको आन्तरिक निर्वाचनसम्म दुवै नेताले एकअर्कोलाई छिर्के हान्छन् । कुनै बेला जोशीलाई केन्द्रमा गिरिजाप्रसाद कोइरालाले काखी च्याप्दा अहिलेका उपसभापति पौडेल कृष्णप्रसाद भट्टराई समूहका साखुल्ले थिए । कालान्तरमा पौडेल कोइराला समीप आइपुगे पनि उनले तनहुँमा कोरेको राजनीतिक विभाजन रेखाको नयाँ विन्दुमा शंकर भण्डारी र धु्रव वाग्ले उभिन आइपुगेका छन् । भण्डारी र वाग्ले केन्द्रमा देउवानजिक छन् भने पौडेल आजसम्म संस् थापनकै मान्छे भनेर चिनिन्छन् ।

केन्द्रका एक शक्तिशाली नेताले जिल्लामा कसैलाई अस्वाभाविक र अप्रत्याशित ‘लिफ्ट’ दिँदा स्थानीय राजनीतिको समीकरण कसरी बिग्रन्छ भन्ने प्रमाण हेर्न रामेछाप पुग्दा हुन्छ । पार्टी सभापति सुशील कोइराला जिल्लाको संरचनालाई पत्तै नदिई राजनीतिभन्दा बढी व्यापार र ठेक्कापट्टामा कहलिएका कान्छाराम तामाङले बाबुका नाममा किनेको एम्बुलेन्स उद्घाटन गर्न गए, त्यसलाई जिल्ला नेतृत्वले मन पराएन । पछि कोइरालाले नै उद्घाटन गरेको एम्बुलेन्स रक्तचन्दन तस्करीमा समातियो । त्यसले रामेछाप कांग्रेसलाई बदनाम मात्र गराएन, महासमिति सदस्य मात्र रहेका तामाङको केन्द्रसम्मको पहुँचलाई ‘एक्स्पोज’ पनि गर्‍यो ।

यसअघि नेता रामहरि ढुंगेल र लक्ष्मण घिमिरेबीच राम्रो सम्बन्ध थिएन । ०६४ पछि पार्टीको प्रमुख सचेतकजस्तो स्थानमा पुगेका घिमिरे बिस्तारै राजनीतिको मूलधारबाट किनारामा परे । “अहिले नेता घिमिरे अस्ट्रेलिया पुगेर नाति खेलाउँदै दिन काटिरहेका छन् भने यता जिल्लामा तामाङले राजनीतिकै आडमा ठेक्कापट्टा गरिरहेका छन्, उनकै चकाचक छ,” रामेछापका एक युवा नेता भन्छन्, “गुटको सिर्जना र तल्लो तहको राजनीतिक जग हल्लाउने काम केन्द्रबाटै हुन्छ ।”

पार्टीभित्रको व्यक्तिगत दुस्मनी र कटुतापूर्ण व्यवहारका लागि घाउ बनेका जिल्लाहरूको सूचीमा स्वयं संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाको गृहजिल्ला धनुषा पनि अग्रपंक्तिमा आउँछ । धनुषामा ढुंगानाको संस्थापन खेमा तथा पूर्वमहामन्त्री विमलेन्द्र निधि र महेन्द्र यादवको खेमाबीच बेलाबेलामा झिनाझप्टी भइरहन्छ । सोलुखुम्बुको हालत पनि त्यसभन्दा फरक छैन । यतिसम्म कि सल्लेरीस्थित लक्ष्मी होटल कुनै बेला केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी प्यानलका सदस्य बस्ने, खाने र जिल्लामा कसलाई कसरी तह लगाउने भन्ने विषयमा योजना बनाउने ‘स्पट’ थियो तर अहिले उक्त होटल जिल्ला सभापति तथा केसीविरोधी गुटका आङ गेलु शेर्पाको अखडा बनेको छ ।

एउटा पार्टी, दुइटा कार्यालय
प्रजातान्त्रिक मूल्य र मान्यतालाई मियो ठान्ने कांग्रेसका मसिना कुरा केलाउँदै जाने हो भने एउटै जिल्लामा दुई–दुईवटा पार्टी कार्यालय सञ्चालन गरेको उदाहरण पनि छ । रौतहटमा एउटै दलका दुई कार्यालयमा बसेर कांग्रेसका स्थानीय नेताले फरक खेमाको बद्ख्वाइँ गरेको देख्न र सुन्न सकिन्छ । पार्टीको १२औँ महाधिवेशनका बेला जिल्लामा देउवा पक्षका कृष्ण यादवले सभापति जिते र महताव आलमले हारे । हार्ने महताव खासमा जिल्लाको राजनीतिमा सधैँ हावी रहने नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम पक्षका थिए । सभापतिबाहेक अरू सबै पदमा भने आलम पक्षले नै जितेको थियो ।

सभापति र अरू पदाधिकारीबीच मतभेदको पुरानो घाउ बढ्दै जाँदा प्रतिष्ठा र व्यक्तिगत प्रतिशोधमा रूपान्तरण भयो र दुई पार्टी कार्यालय बनाइयो । “सांगठनिक हिसाबले यस्ता उदाहरण राम्रा होइनन् तर ठूलो पार्टीमा केही समस् या पनि हुन्छन्,” केन्द्रीय सदस् य दिलबहादुर घर्ती भन्छन्, “समस्या बाहिर आएपछि पार्टीले मिलाउनुपर्छ ।”

नेताहरूले जिल्लाका समस्या मिलाउनुपर्छ भने पनि वर्षौं देखिको दुस्मनीको घाउ जिल्लामा खिल बनेर गढेको छ । पाँचथरका दुई केन्द्रीय नेता भीष्मराज आङदम्बे र पूर्णकुमार शेर्मा तथा काभ्रेमा जिल्ला सभापति शिव हुमागाईं र नेता मधु आचार्य समूहबीचको खिचातानी बेलाबेलामा समाचारका मसला बन्ने गरेका छन् । काठमाडौँ जिल्लामा पनि अनेकनखाले गुट–उपगुट सतहमा आएका छन् । महामन्त्री प्रकाशमान सिंह, नवीन्द्रराज जोशी, नरहरि आचार्य, ध्यानगोविन्द रञ्जित र तीर्थराम डंगोलबीचको सम्बन्ध चिसो छ । महामन्त्री सिंह र केन्द्रीय सदस्य जोशीसँग जिल्ला सभापति भीमसेनदास प्रधान र तीर्थराम डंगोलको दूरी बढ्दो छ ।

यतिसम्म कि काठमाडौँ कांग्रेसले गर्ने कार्यक्रममा प्रधान समूहले महामन्त्री सिंहलाई औपचारिक रूपमा निम्ता दिँदैन, बरू अर्का महामन्त्री कृष्णप्रसाद सिटौलालाई पाहुना बनाउँछ । प्रधानसँग केन्द्रीय सदस्यद्वय नरहरि आचार्य र गगन थापानजिक मानिन्छन् । सिंह र प्रधान दुवै संस्थापन पक्षका हुन् भने रञ्जितसहित देउवा पक्षको अर्को गुट पनि काठमाडौँमा सक्रिय छ ।

त्यस्तै, सिरहामा चित्रलेखा यादव र पदमनारायण चौधरीबीच पनि राम्रो सम्बन्ध छैन । जिल्ला सभापति सीतादेवी यादव दुवैसँग सन्तुष्ट छैनन् । मोरङमा आमोदप्रसाद उपाध्याय र अशोक कोइरालाबीच पनि दुस् मनी छ । यही जिल्लामा रहेका र केन्द्रमा एउटै खेमामा भएका महेश आचार्य र मिनेन्द्र रिजालबीचको सम्बन्ध पनि कहिल्यै सुमधुर हुन सकेन ।

जिल्ला मात्र नभएर पार्टीका शुभेच्छुक र भ्रातृ संगठनहरूमा पनि गुटको राजनीतिको प्रभाव लज्जाजनक रूपमा परेको छ । पछिल्ला दिनमा यस्ता दुष्चक्रको सिकार कांग्रेसनिकट डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए) भएको देखियो । नेपालगन्ज महाधिवेशनले गोपालकृष्ण घिमिरेको अध्यक्षतामा नयाँ टिम चयन गरे पनि पछि भरत खरेलले विद्रोह गरी देउवापक्षीय वकिलहरूको अर्को समूह नै बनाए । खरेलको विद्रोही टिम सार्वजनिक हुँदा वरिष्ठ नेता देउवा नै कार्यक्रममा उपस्थित भएर भाषण ठोकिदिए ।

त्यसको ठाडो असर नेपाल बार एसोसिएसनले न्यायपरिषद्मा सदस्य पठाउने बेला पर्‍यो । कांग्रेसनिकट मत बहुसंख्यक हुँदाहुँदै पनि बारका कोषाध्यक्ष मोहन इङनाम र केन्द्रीय सदस्यद्वय विनीता कार्की तथा प्रशन्नकृष्ण दासले प्रगतिशील खेमाका रामप्रसाद श्रेष्ठलाई भोट हालेपछि प्रजातान्त्रिक उम्मेदवार चिप्लिए । त्यसै गरी, वैदेशिक रोजगार व्यवसायी संघ, निर्माण व्यवसायी संघजस्ता अरू संगठनमा पनि कांग्रेसनिकट संगठनले गुटकै कारण पटकपटक पराजय भोगेको अनुभव छ । “यस्ता उदाहरण धेरै छन्, पार्टीका आफ्नै संगठन पनि यो महारोगको सिकार भएका छन्,” नेविसंघका नेता मनोजमणि आचार्य भन्छन्, “कांग्रेसले यस्ता परिघटनाबाट सिक्नुपर्छ ।”

पछिल्लो संविधानसभा निर्वाचनका बेला पार्टीलाई अन्तर्घात गर्ने विभिन्न जिल्लाका १ सय ८२ जनालाई केन्द्रीय अनुशासन समितिले कारबाही गर्न पार्टीलाई निर्देशन दिएको थियो । औपचारिक रूपमा अन्तर्घाती दरिएका ती सबैका पृष्ठभूमि खोतल्दै जाने हो भने त्यसको तार त्यही गुट–उपगुट र व्यक्तिगत सम्बन्धसँग जोडिएको छ । त्यसै गरी, १३ औँ महाधिवेशनको तयारीकै क्रममा कांग्रेस केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताबारे ६० जिल्लाभन्दा बढीबाट झन्डै दुई सय उजुरी आइपुगेका छन् । ती सबै उजुरीको साइनो पनि जिल्लामा क्रियाशील गुटहरू र तीबीचको पानी बाराबारको सम्बन्धसँग छ । गुटकै कारण समस् यै समस् याको जगमा उभिएको कांग्रेसलाई अबको नयाँ महाधिवेशनबाट चुनिने टिम र नेतृत्वले कसरी सबलीकरण गर्ला ?


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment