a
![]() |
कार्तिक २५, २०७२- निजामती सेवाका कर्मचारी बोक्ने १२ बटा बसले राजधानीका सर्वसाधारणलाई बुधबारदेखि चार दिन लगातार नि:शुल्क यातायात सेवा दिने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा निजामतीका ती बसले दीपावली पर्वका चार दिन बिहानदेखि रातिसम्मै राजधानीका मुख्य–मुख्य ठाउँमा यातायात सुविधा दिने सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजेन्द्र पौडेलले बताए।
निजामती सेवाका कर्मचारी ओसार्ने बसले बुधबारदेखि चार दिनसम्म बिहान ७ देखि बेलुका ७ बजेसम्म सेवा दिने पौडेलले बताए। उनका अनुसार निजामती सेवाका १२ बसमा ‘सर्वसाधारणका लागि नि:शुल्क परिवहन सेवा’ को ब्यानर राखी राजधानीका मुख्य–मुख्य ठाउँमा दैनिक १२ घण्टा चलाइनेछ। भाइटीकाको दिन अपराह्न २ देखि बेलुका ७ बजेसम्म यातायात सुविधा उपलब्ध हुनेछ। यसका लागि यातायात सञ्चालन र अनुगमनको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र बसलाई आवश्यक इन्धन उपलब्ध गराउने जिम्मा वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिइएको छ।
लगनखेल–कलंकीतर्फबाट २ र लखनखेल कोटेश्वरबाट दुइटा गरी निजामतीका ४ बसले चक्रपथ घुमेर सेवा दिनेछन्। रत्नपार्क–जोरपाटी, रत्नपार्क–कीर्तिपुर, रत्नपार्क–लगनखेल, रत्नपार्क–स्वयम्भू–नयाँ बसपार्क, रत्नपार्क–पेप्सीकोला, रत्नपार्क–कोटेश्वर–सूर्यविनायक, रत्नपार्क–थानकोट, रत्नपार्क–वनस्थली–स्वयम्भू–नयाँ बसपार्क, रत्नपार्क–महाराजगन्ज–बूढानीलकण्ठ रुटमा पनि यो नि:शुल्क सेवा उपलब्ध हुनेछ।
नेपाली सेनाले आफ्ना ८ वटा बसबाट कात्तिक ११ देखि नि:शुल्क यातायात सुविधा दिँदै आएको छ। ती बसले राजधानीका बढी यात्रु चाप हुने ८ रुटमा बिहान ८:३० देखि अपराह्न ४:३० बजेसम्म सेवा दिइरहेका छन्। आठमध्ये चार बस सैनिक विद्यालयका हुन्। विद्यालय खुलेपछि बाँकी चार बसबाट मात्र सेवा दिइनेछ। सेनाले मुलुकमा इन्धन अभावको समस्या नहटेसम्मै यो क्रम निरन्तर रहने जनाएको छ।
सशस्त्र प्रहरीका तीन बसले राजधानीमा बिरामी र सर्वसाधारणलाई मंगलबारदेखि यातायात सुविधा दिन थालेको छ। ती बसले पनि बिहानदेखि राति अबेरसम्मै नि:शुल्क सेवा दिनेछन्। मंगलबार सुरु नि:शु:ल्क बस सेवाले बिरामी, ज्येष्ठ नागरिक र अपांगहरूलाई प्राथमिकता दिने सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता अजय छत्कुलीका अनुसार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भूबाट निस्कने तीनवटा बसमध्ये एउटाले कलंकी, सीतापाइला, स्वयम्भू, वनस्थली, बालाजु, गोंगबु, सामाखुसी, बसुन्धरा, महाराजगन्ज, धुम्बाराही, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी हुँदै स्वयम्भूसम्म यात्रु ओसार्ने छ।
स्वयम्भूबाट गुड्ने अर्को बस कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, धुम्बाराही, महाराजगन्ज, बसुन्धरा, सामाखुसी, गोंगबु, बालाजु, वनस्थली, स्वयम्भू, सीतापाइला हुँदै कलंकी पुगेर स्वयम्भू फर्कनेछ।
तेस्रो बस स्वयम्भूबाट बालाजु, सोह्रखुट्टे, लैनचौर, जमल, रत्नपार्क, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तीनकुने, कोटेश्वर हुँदै सोही रुटबाट स्वयम्भू फर्किनेछ। सशस्त्रका बसले मुलुकमा इन्धन अभाव भएसम्मै राजधानीका सर्वसाधारणलाई यातायात सेवा दिनेछन्।
नेपाल प्रहरीका तीन बसले मुलुकमा इन्धन अभाव सुरु भएदेखि नै राजधानीका मुख्य–मुख्य ठाउँमा यातायात सुविधा दिँदै आएका छन्। प्रहरीले बिहान सबेरैदेखि राति अबेरसम्मै यो सुविधा दिइरहेका छन्। प्रहरी प्रवक्ता कमलसिंह बमले पनि इन्धन अभाव नहटेसम्मै यात्रुको चाप बढी हुने राजधानीका मुख्य–मुख्य ठाउँमा यातायात सुविधा दिइरहने बताए।
a
![]() |


0 comments:
Post a Comment