'सप्पैले भैंचालो बिर्सिहाले, आफ्नै घर ढलेको म कसरी बिर्सूं!'

a

‘मरे मरिन्छ, घर त पुरानै ठाउँमा बनाउँछु।’  

पाँच छोरी र एक छोराका बाबु बुद्धिले ग्रामीण भेगमा मजदुरी गरेर परिवार पाल्दै आएका थिए। वैशाख १२ को भुइँचालोले उनको रोजीरोटी मात्र खोसेन, बास पनि गुम्यो। भुइँचालोपछि ग्रामीण भेगका घर जाँचबुझ गर्न आएको टोलीले भग्नावशेष हेर्दै भन्यो, ‘यहाँ बस्दै नबस्नू, यो ठाउँमा तत्काल घर बनाउन ठिक छैन, खतरा छ।’
 
भुइँमा टुक्रुक्क बसेर प्राविधिकका कुरा सुनिरहेका बुद्धि त्यसपछि टोलाएका टोल्यै भए। प्राविधिक त सुझाव दिएर फर्किहाले, बास खोसिँदाको पीडाको भारी बुद्धिको वृद्ध काँधमा आइलाग्यो।
 
उनीसँग जम्मा ४ रोपनी जग्गा छ। त्यसमध्ये सबभन्दा समथर जग्गा भनेको उनको यही घर भएको ठाउँ हो। अरू त जम्मै पाखो बारी। ‘यही जग्गामा नि घर नबना भनेछि काँ ग’र बस्नू हो अब,’ उनले भने।
 
यो छ महिना त उनले जेनतेन टारे। अब भने निश्चय गरेका छन्– ‘मरे मरिन्छ, घर त यही जग्गामा बनाम्छु, प्राविधिकहरू जेसुकै भनुन्, आफ्नो दुःख आफैंसँग छ।’
 
‘यहाँ घर बनाएँ भने भैंचालो आए न मरिने हो, बनाइनँ भने त्यसै मरिने भइसकियो,’ उनले लामो सुस्केरा हाले।
 
सानो कटेरो बनाउन दसैंपछि नै कामको खोजीमा लाग्ने सुर कसेका छन्, बुद्धिले। मजदुरीको कमाइले जहान–परिवारको पेट पाल्न र घर ठड्याउन गाह्रो छ भन्ने उनले बुझेका छन्। तर, हरेस खाएका छैनन्।
भन्छन्, ‘सास रहेसम्म आश हुन्छ, भगवानले तँ आँट, म पुर्याइदिन्छु भन्छ रे क्या!’
 
भैंचालोमा घरखेत गुमाएका बुद्धिको मात्र व्यथा होइन यो। पछिल्लो छ महिनामा देशको राजनीतिक उतारचढाव, सरकार परिवर्तन र मधेस आन्दोलनले सरकार, नागरिक समाज र बुद्धिजीविको ध्यान अन्तै मोडिदिएको छ। छ महिनाअघि मात्र नेपालको मध्य तथा पश्चिम क्षेत्र हल्लाउने ठूलो भुइँचालो गएको थियो भनेर सरकारका प्रतिनिधिलाई सम्झाउनुपर्ने अवस्था आइसकेको छ। न बाचा गरिएअनुसार राहत भुइँचालो पीडितले पाएका छन् न पुनर्निर्माणका काम धमाधम हुन सकेका छन्। घर ढलेर उठिबास भएकाहरूलाई पुनर्स्थापित गराउने काममा पनि सरकारको ध्यान पुगेको छैन।
 
बुद्धिले भुइँचालोपछि सरकारबाट पाएको भनेको १५ हजार रुपैयाँ आर्थिक सहयोग मात्र हो। राहतको नाममा पाएको ५ किलो चामल पाए पनि खान मिल्ने थिएन। ‘ह्वास्सै गन्हाउने चामल कहाँ खानसक्नु,’ उनले मुख बिगार्दै भने।
 
नामजुङ गाविसमा भुइँचालोपछि जाँचबुझ गर्न गएको टोलीले झन्डै सय जनालाई साबिकको ठाउँमा घर नबनाउन सल्लाह दिएको थियो। तीमध्ये धेरैको बाँकी जग्गा त्यस्तै वा त्योभन्दा भिरालो ठाउँमा छ, जहाँ घर बनाउन सम्भवै छैन।
 
५६ वर्षीय उमाकान्त लामिछानेको पनि दुईतले घर भुइँचालोमा बस्नै नमिल्ने गरी ढलेको छ। प्राविधिकले भनेअनुसार नयाँ ठाउँमा घर बनाउन उनीसँग जग्गा छैन। उनी पनि बुद्धिजस्तै लामो समय दोधारमै रहे। अहिले पुरानै ठाउँमा टहरो हाल्ने कि भन्ने सोचाइमा छन्।
 
‘गत वर्षदेखि छोराहरूलाई खर्च पठाउनुपर्या छैन, जेनतेन ज्यान धान्या छन्, खै जागिर पाइया छैन भन्छन्,’ उनले भने, ‘अब म बूढोले कसरी पो बनाउनु घर!’
 
बाख्रापालन र मजदुरी गरेरै छोराहरूलाई स्नातकोत्तरसम्म पठाएको उनले सुनाए। छोराहरूले जागिर खान थालेपछि बुढेसकालमा मजुदरी गर्न नपर्ला कि भन्ने उनको सोचाइ थियो। भुइँचालोले घर भत्काइदिएपछि नयाँ बनाउने चटारो थपिएको छ। उनी आफन्तको जग्गामा कटेरो बनाएर बसेका छन्। दसैंसँगै चिसो बढ्न थालेपछि जाडो याम कसरी कटाउने भन्ने चिन्ताले उनलाई सताउन थालेको छ।
 
‘ढाडको समस्या छ, घर बनाउन नसके त रोगले थलै परिने हो कि भन्ने पो डर छ,’ उनले भने, ‘खै भगवानले हाम्रो दुःख थाहा पाएर हो कि, यसपालि त पानी पनि परेन।’ 
 
नामजुङ गाविसका केहीले अस्थायी बसोबासका निम्ति भत्केको घरको पर्खाललाई आड बनाएर त्रिपालको छानो छाएका छन् भने केहीले जस्तापाता छाएका छन्। पानी नपरेर टारी खेतमा रोपेका धान फल्ने छाँट नदेखिए पनि ज्यान बचेकोमा गाउँलेहरू खुसी नै छन्।
 
स्थानीय सामाजिक कार्यकर्ता सन्तोषी लामिछानेका अनुसार यो वर्ष नामजुङमा २० प्रतिशत पनि धान उत्पादन हुने अवस्था छैन। तावनेबेसी, कुसुन्थली, चारमुरे, ढाटे, बारमुरे, झगरजस्ता स्थानमा धान उत्पादन स्वात्तै घट्ने देखिएको छ। उता, फुजेल खोला पनि भुइँचालोपछि सुकेको छ। खोला आसपास क्षेत्रका खेतमा धान उत्पादन हुने छाँट नदेखिएको स्थानीय बताउँछन्।
 
‘धान नफले नफलोस्, भुइँचालोबाट बचेको ज्यान बर्खाले त लगेन!’ उमाकान्तले भने, ‘चामल त बरु किनेरै खाम्ला नि!’
 
उनीहरूको गुनासो एउटै छ, यत्रो विपत आउँदा पनि सरकारले हेरेन। राहतको आश देखाउँदै आएकाहरू पनि पछिल्लो समय फर्केरै आएनन्। ‘सप्पैले भैंचालो बिर्सिहाले, आफ्नै घर ढलेको म कसरी बिर्सूं!’ बुद्धिले भने।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment