मधेश आन्दोलन भाग १ र भाग २ को फरक : मधेशी नेतामाथि मधेशी जनताकै आक्रोश (मधेशबाट)

a


सिरहा – २०६३/०६४ मा भएको मधेश आन्दोलन र यसपाली जारी मधेश आन्दोलनमा धेरै कुरामा फरक नदेखिएपनि केही कुरामा फरक अवश्य दखिएका छन् । २०६३/०६४ मा भएको आन्दोलनमा आन्दोलन नेतृत्वकर्ताको विरोध नभएपनि यसपाली आन्दोलन नेतृत्वकर्ताको पनि विरोध भएको छ । विरोध मात्र होइन, उनीहरुको पुतला पनि जलाइएको छ ।

भदौं १ गतेदेखि विधिवत रुपमा अनिश्चितकालका लागि आमहड्ताल शुरु भएदेखि नै आन्दोलनकारीहरु मधेशवादी दलका नेताहरुबाट सचेत भएको देखिन्छ । उनीहरुले कही कतै कुनै मिस्टेक गर्ने वित्तिकै तुरुन्तै त्यसको प्रतिकृयामा विरोध शुरु हुन्छ । उनीहरुको पुतला पनि जलाउँदै आएका छन् । सो क्रम असोज २४ गतेदेखि अलि बढ्दै आएको छ । ६८ दिनभन्दा बढी दिनदेखि मधेश आन्दोलनको नेतृत्व गर्दै आएका मधेशवादी दलका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्रराय यादवको आलोचना र विरोध मधेशमा व्याप्त छ ।

असोज २४ गते व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्रीको चुनावमा आन्दोलनरत मधेशवादी दलले भाग लिएपछि ती नेताहरुप्रति सो दिनदेखि झन आक्रोश बढेको छ । आन्दोलनमा सहभागि एक दल मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मत दिएर सरकारमै सहभागि भए भने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र राय यादव र महन्थ ठाकुरले काँग्रेसका सभापति सुशिल कोइरालालाई मत दिए । सुशील कोइराला जितेको भए यी नेताहरु सरकारमा जाँदैन्थ्यो भने कुराको केही ग्यारेण्टी थिएन भन्नेहरुको मधेशमा कमी छैन ।
सिरहा औरहीका संजयकुमार दास यादव जो गच्छदार सरकारमा गएपछि उनी सो पार्टीका केन्द्रीय सदस्यबाट मात्र होइन पार्टीबाट नै राजिनामा दिएका छन् । शुक्रवार रातोपटीसँग आफ्नै निवासमा कुरा गर्दै उनले भने, ‘गच्छदारजी ओलीलाई जिताएर सरकारमा जानु भएको छ भने उपेन्द्रजीहरु पनि पक्कै कोइरालालाई जिताएर सरकारमा जानु हुन्थ्यो । जसरी गच्छदारले आठ बुँदे सम्झौता गरेर सरकारमा सहभागि हुनुभयो त्यही नै उहाँहरु पनि आठ बुँदे, पाँच बुँदे वा कुनै बुँदे गरेर पक्कै पनि सरकारमा सहभागि हुन्थ्यो र यो कुरा यहाँका जनताले राम्ररी बुझेका छन् । त्यसैले यहाँ अविश्वासको वातावरण सृजना भएको छ । हालसम्म त्यसको विरोध भइरहेका छन् । पुतला पनि जलाई रहेका छन् ।’

तर यो कुरा मान्न तयार छैनन्, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष विजय यादव । मधेश आन्दोलनको बारेमा बुझ्न रातोपाटीका प्रतिनिधि सिरहास्थित खजनपुर उनको निवासमा कात्तिक ५ गते पुगेका थिए । उनलाई पनि यही जिज्ञासा राख्दा उनले मधेशी मोर्चाले नयाँ सविधान अन्तर्गत होइन, अन्तरिम संविधान अनुसार नै प्रधानमन्त्रीको चुनावमा भाग लिएको दावी गरे ।

नयाँ सविधान माघ ७ गतेदेखि मात्र लागु हुन्छ, अहिले त अन्तरिम सविधान नै लागु छ र आफूहरु व्यवस्थापिका संसदमा नयाँ सविधान अन्तर्गत नगएको दावी मात्र होइन उनले अन्तर्राष्ट्रिय जगतको मन जित्न, उनीहरुलाई आफूहरु संसदीयवादी, लोकतान्त्रिकवादी र विधिविधानलाई मान्ने भएकाले आफूहरु चुनावमा भाग लिएको दावी पनि उनले गरे । प्रधानमन्त्रीमा मतदान गरेपछि सानातिना विरोध भएपनि त्यस्तो कुनै त्यसप्रकारको विरोध पनि नभएको दावी गरे ।

जबकि मधेशी मोर्चाका संसदहरु व्यवस्थापिका संसदमा भाग लिएपछि वीरगञ्ज, रौतहट, जनकपुर, सिरहाको लहान र सप्तरीमा मोर्चाका चारैजना नेताको पुतला जलाइएको थियो । र, अहिले पनि चुनावमा भाग लिएको कारण मधेशको चिया पसलदेखि लिएर हाटबजार र चोक चौकमा विरोधका स्वरहरु व्याप्त छन् ।

लहानको अस्पताल चौकमा भेटिएका ६८ वर्षीय रामऔतार महतोले मधेशी नेतामाथि विश्वास गर्ने आधार गुमिसकेको बताए । ‘पहिलो सविधानसभा चुनावपछि यी नेताहरुले जे कर्तुत देखाए, त्यसबाट त मधेशी जनता असन्तुष्ट थिए नै । दोस्रो सविधानसभामा त्यसको परिणाम देखाइ नै दिए । मधेश आन्दोलन शुरु हुँदा देखि नै यी नेताहरुमाथि आन्दोलनकारी संशकित थिए तर असोज २४ गते उनीहरुले आफ्नो चरित्र देखाई दिए,’ उनले दुखेसो पोखे ।

लहानमा हुने प्रत्येक आन्दोलनमा सरिक हुँदै आएका महतो यी नेताहरुले जस्तो सुकै धोका दिएपनि यसपाली अधिकार लिएर नै आन्दोलन रुक्ने कुरामा दृढ थिए । ६८ वर्षीया ती बृद्धामा कुनै युवाको भन्दा कम जोश थिएन । उनले पटक पटक उपेन्द्र यादवको नामै लिएर भने, यी उपेन्द्राहरुले भनेर यसपाली आन्दोलन रोकिने छैन । यी नेताहरु मधेशी जनतालाई धोका दिएर सम्झौता गरे भने त्यसको विकल्पमा अर्को नेता सडकमा आउने विश्वास पनि उनिमा देखियो ।

मधेशी मोर्चाका नेताले आन्दोलन रोकेपछि पनि नरोकिने दावीलाई बीबीसीका लागि मधेशको रिर्पोटिगं गर्ने बृजकुमार यादवले काटेका छन् । जनकपुरस्थित आफ्नै कार्यालयमा भेटिएका बृजकुमार यादवले आन्दोलन यतिको परिपक्क अझै पनि भएको छैन कि नेताहरुले आन्दोलन छाडेपनि त्यो अघि बढि रहन्छन् । मधेशी मोर्चाका नेताहरुले आजै विज्ञप्ति जारी गरेर आन्दोलन स्थगित भयो भनि घोषणा गर्यो भने आजैको आजै रोकिने दावी गरे । उनले विश्लेषण गर्दै भने, मधेशी जनतालाई चित्त नबुझ्ने कुनै सहमति गरेर आन्दोलन स्थगित भएको सुचना आयो भने दुई चार दिन त्यसको विरोधमा सडकमा आक्रोशका स्वरहरु सुनिएला । मुर्दावाद जिन्दावादको नारा लाग्ला । पुतला पनि जलला । कसैले आन्दोलनलाई अगाडि बढाउने प्रयास पनि गर्ला । तर, त्यो धेरै दिन टिक्न सक्दैन, आफै हराएर जान्छ । किनभने कुनै पनि आन्दोलन विना संगठनको संभव छैन र अहिले मधेशी मोर्चाको विकल्पमा कुनै पनि संगठन तयार भएको छैन ।’

मधेशी मोर्चाका नेताहरुको पुतला जलाउनु पनि आन्दोलनकारीको आक्रोश नै थियो । अहिले आन्दोलनमा शिथिलता आएको पनि त्यसैको कारण पनि हो तर मधेशी मोर्चालाई मानेर अब आन्दोलन हुँदैन भनेर यदि कसैले सोचेको छ भने त्यो गलत हो भनि बडो विश्वासका साथ आफ्नो कुरा राखे । आन्दोलनलाई नेतृत्व दिइरहेका नेताहरुप्रति आन्दोलनकारीको विश्वास छैन भने कुरा सही हो तर त्यसको विरुद्धमा कुनै पनि विकल्प छैन, पत्रकार यादवले भने, आक्रोश मात्रै हो तर नेतृत्व कसैले लिन सक्दैन ।’

पत्रकार यादवको धारणासँग सुन्दर जनतामाध्यमिक विद्यालय औरहीका शिक्षक कपिलदेव यादवको धारणा अलि मिल्दो जुल्दो छ । सिरहा बजारमा भेटिएका शिक्षक यादवसँग मधेशमा भइरहको आन्दोलन अब कतातिर जान्छन् लगायतका विषयमा जिज्ञासा राख्दा उनले पनि मधेश आन्दोलनको अवस्था फिप्टी–फिप्टीको अवस्थामा रहेको बताए ।

उनले भने, मधेश आन्दोलनको भविष्य फिप्टी–फिप्टीको अवस्था रहनेछ । आन्दोलन रोकिन्छ पनि रोकिन्न पनि । मधेशी जनताले उठाएको माग अनुसारको सहमति नगरेर आफ्नो स्वार्थ अनुसार सहमति गरी आन्दोलन स्थगित भयो भने मोर्चामा आवद्ध दलका कार्यकर्ता तथा नेताले आन्दोलन रोक्न सक्छन् तर जो कुनै पार्टीमा छैनन्, मधेशको अधिकारका लागि लडिरहेका छन् । उनीहरुको आक्रोश कायमै रहनेछ । तर, धेरै टिक्दैनन् । विस्तारै आफै सेलाएर जानेछ ।’
मधेशी मोर्चाका नेताहरुको जुन क्रियाकलाप छ त्यसबाट मधेशका आन्दोलनकारी निकै असन्तुष्ट रहेको बताउँदै शिक्षक यादवले मधेशी मोर्चाका नेताहरुले फेरि पनि यो आन्दोलनलाई सत्तासँग साँट्ने काम गर्छन् भने कुरामा आफू विश्वस्त रहेको दावी गरे ।

- See more at: http://www.ratopati.com/news/10039/#sthash.7hGTMTKM.dpuf
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment