a
|
काठमाडौं– नेपालको संविधान निर्माणमा असन्तुष्टी राखेको दक्षिणी छिमेकी भारतलाई भावी प्रधानमन्त्रीका रुपमा प्रचारित एमाले अध्यक्ष केपी ओली र प्रमुख प्रतिपक्ष तथा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले कठोर जवाफ दिएका छन् । नयाँ संविधान जारी भएको उपलक्ष्यमा नेपाली काँग्रेस, नेकपा (एमाले) तथा एकीकृत नेकपा (माओवादी) ले सैनिकमञ्चमा आव्हान गरेको विशेष खुशीयालीसभामा बोल्दै नेताहरुले यस्तो टिप्पणी गरेका हुन् ।
नेपालमा संविधान जारी भएकै केही घण्टा नवित्दै आइतवार साँझ भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दे तराई–मधेशमा जारी हिंसा र मधेशवादी दलहरु संविधान निर्माणमा नसमेटिएकोमा असन्तुष्टि जनाएको थियो । आफ्ना विशेष दूत नेपाल पठाउँदा समेत यहाँका राजनीतिक दलले नटेरेपछि विदेश मन्त्रालयले विज्ञप्ति मार्फत असन्तुष्टि पोखेको थियो । भारतीय प्रधानमन्त्रीका विषेश दूतका रुपमा काठमाडौं आएका विदेश सचिव एस जयशंकर शुक्रवार आएर शनिवार फर्केका थिए ।उनी फर्केको अर्कोदिन नेपालको संविधान २०७२ जारी भएको थियो ।
सैनिकमञ्चबाट ओलीले यस्तो दिए भारतलाई जवाफ
हाम्रा छिमेकी मित्र राष्ट्रहरूलाई भन्न चाहन्छु– हामी स्वभिमानी नेपाली आफ्नो देशको सर्वोच्चता, स्वतन्त्रता, भौगोलिक अखण्डता, हाम्रो स्वाभिमान कायम राखेर सबै विदेशी मित्रहरूसँग मित्रतापूर्ण सम्बन्ध राख्न चाहन्छौँ । हामी कसैसँग मित्रता नगर्ने सोच्न सक्दैनौँ । हामी सबैका मित्र हौं । छिमेकी राष्ट्रहरूका त मित्र छँदै छौं । हामी उहाँहरूविरुद्ध सोच्न पनि सक्दैनौँ । हामी उहाँहरूसँग मिलेर देशलाई अगाडि बढाउन चाहन्छौँ ।
हाम्रा प्राकृतिक साधन–स्रोत तिनको संयुक्त रूपले उपयोग गर्न सकिन्छ । हाम्रो दुई पक्षीय, तीन पक्षीय हिसाबले स्रोतहरूको उपयोग गर्ने । आजको जमानमा विकासको प्रश्नमा नेपाल पछि रहन सक्दैन । त्यसलाई हामी अगाडि बढाउन चाहन्छौं । संविधान बनाउन ढिला गरे भन्ने आवाज नआएको होइन । तर, संविधान बनाउन ढिलो गर्दागर्दा आठ वर्ष भइसक्यो ।
नेपाली जनताले संविधान चाहेको ७० वर्ष हुन लाग्यो । नेपाली जनताले संविधान बनाउन हतार गरेको होइन, अघिल्लो संविधानसभा फेल भइसक्यो । फेरि पनि संक्रमणकाल जारी राख्ने, विकासतिर नलाग्ने यो कुरा हुन सक्दैन्थ्यो । त्यसकारण हामी संविधान जारी गरेका छौँ । एकताबद्ध भएर, देश विकासको बाटोमा लाग्नेछौँ ।
सैनिकमञ्चबाट प्रचण्डले यस्तो दिए जवाफ
यो महान प्रक्रियालाई यो टुंगोसम्म ल्याइपु¥याउन सहयोग गर्ने हाम्रा छिमेकी मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ लगायत सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । म यो विश्वास गर्छु, हामी नेपालीको आफ्नो राष्ट्रप्रतिको प्रेम, हाम्रो निष्ठा, हाम्रो विश्वाससहितको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र आत्मसम्मानप्रतिको हाम्रो विश्वासलाई हाम्रा छिमेकी मित्रराष्ट्रहरू भारत र चीनले पक्कै पनि सम्मान गर्नेछन् । हाम्रो स्वतन्त्रतालाई सम्मान गर्नेहरूले मात्रै आफ्नो स्वतन्त्रतालाई पनि सुदृढ गर्न सक्छन् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।
कसैको स्वतन्त्रतालाई हामीले सम्मान गर्न सकेनौँ भने हामी आफैँ स्वतन्त्र हुँदैनौँ भन्ने विश्व इतिहासले देखाएको मान्यता हो । त्यसकारण हामी छिमेकी हुनुको नाताले केही विशेष सम्बन्ध छन्, केही विशेष समस्या पनि हुन्छन्, तर तिनको एकअर्काको भावनालाई, एकअर्काको आवश्यकतालाई, एकअर्काको चाहनालाई, ठीक ढंगले बुझ्ने र सम्बोधन गर्ने तरिकाद्वारा मात्रै २१औँ शताब्दीमा राष्ट्रहरूबीचको सम्बन्धलाई पनि परिभाषित गर्ने उचाइमा लान सकिन्छ ।
यही विश्वासका साथ मैले भारतीय नेतासँग के भन्न चाहन्छु भने, हामी तपाईंहरूको असल मित्रको रूपमा, तपाईंहरूका जायज चासोलाई, चिन्तालाई सहयोग गर्न हामी तयार छौँ । हामी चाहन्छौँ, भारत सरकार र भारतीय जनताले पनि नेपालका जायज चासो, चिन्ता र आवश्यकतालाई त्यसरी नै सहयोग गर्नेछन् । मैले भनेको छु, हामी मित्र हुन चाहन्छौँ, हामी फेरि कसैको पनि एस–म्यान या जे भन्यो त्यो मान्ने नेपाली कहिल्यै भएनौँ, कहिल्यै हुने छैनौँ । यसलाई सम्मान गर्न पनि म विशेष रूपले अनुरोध गर्न चाहन्छु ।
a
|
0 comments:
Post a Comment