a
|
अधिकांश तराई क्षेत्र विगत तीन सातादेखि कठोर र क्रुर बन्दको शिकार भएको छ । यस्तो बन्दका लागि संयुक्त मधेशी मोर्चा,थारुहट लगायत अन्य यस्तै शक्तिहरु अग्रसर भएका छन् । थारु समुदाय र मधेशी जनताको हक–हितको नारा दिंदै बन्द आह्वान गरिएको हो । बन्द आह्वान गर्दै थोपरिएको हिंसा साम्य पार्न भन्दै राज्यले त्यही भूमिमा कफ्र्यु थपेको छ । एक दिन वा एक छिनको बन्द त कति कष्टकर र क्षतिदायक हुन्छ,लगातार तीन सातादेखिको बन्दले कस्तो पीडा र मानसिक तनाव दिएको होला ? नागरिकलाई यस्तो बाध्यतामा पारेर तिनै नागरिकको नाममा राजनीति भइरहेको छ । राजनीतिभित्र हुने आन्दोलन नेपाली जनताले देखे भोगेकै हुन् । राज्यसत्तालाई दवाब दिन अन्तिम बिकल्पको रुपमा बन्द–हडताल गर्ने परम्परा पनि नौलो होइन । तर अहिले मधेश–तराईका जनतामाथि यो परम्परा र प्रयोग यति क्रुर र निर्दयी ढंगले थोपरिएको छ,विगतमा यस्तो कहिल्यै भएको थिएन । जनताको जीवनमाथि बर्बर बन्दका कोर्रा बर्साउन पाउँंदा सायद आयोजकहरु आनन्द महसुस गरिहेको छन्,त्यसैले उनीहरु यो श्रृङखला भदौभर लम्बाउने सगौरव घोषणा गरिसकेका छन् । अहिले मधेश–तराईमा आन्दोलनको आगो सल्किएको सत्य हो,सँंगसँंगै आन्दोलनमा जनता नआएको पनि उत्तिकै सत्य हो । आन्दोलनका नाममा हिंसा भइरहेको छ र बन्दका नाममा आतंक मच्याइएको छ । आन्दोलन भन्ने वित्तिकै त्यसमा जनताको साथ र सहभागिता अपरिहार्य हो । आन्दोलनकारी नभेटिने तर आन्दोलन भइरहने अवस्थाले आंतकमात्र बढाउँंछ,जनमत बनाउँंदैन । आन्दोलनका नाममा ज्यादै ठूलो हिंसाको खेल भइरहेको र बन्दका नाममा नागरिकलाई तीन सातादेखि बन्धक बनाउने अवस्था विरुद्ध आवाज कमजोर देखिएको छ । मानव अधिकार र नागरिक आन्दोलनको नेतृत्व गर्ने संस्था र व्यक्तिहरु पनि चुपचाप बसेको अनुभव भएको छ । राजनीतिमा हार जित जे होला,आन्दोलनले जित्ला वा हार्ला । तर लगातारको बन्दले नागरिक हारिरहेका छन्, उनीहरुको जीवनमा ठूलो आर्थिक–सामाजिक र मानसिक क्षति भइसकेको छ । समुदाय–समुदायवीचमा कटुता र अविश्वास बढाउने प्रयास भइरहेको छ । यस्ता विविध घटनाक्रमले राज्य पुर्नसंरचनामा हुने कुनै पनि प्रकारको प्रादेशिक सिमांकन र संख्याले नागरिकले लाभ पाउने छैनन,त्यसले दिने लाभको सभ्वानाभन्दा अहिलेको क्षतिको यर्थाथता भारी भइसकेको छ ।
a
|
0 comments:
Post a Comment