a
|
आश्विन २८, २०७२- फुटबल खेलमा मिलोमतो गरेको आरोपमा बुधबार पक्राउ परेका ४ खेलाडी र एक प्रशिक्षक मध्ये कप्तान सागर थापा र प्रशिक्षक अन्जन केसी नै मुख्य अरोपी भएको प्रहरीले जनाएको छ । प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सागर, रितेश थापा, सन्दिप राई र विकाससिंह क्षेत्री सहित प्रशिक्षक अन्जनलाई बुधबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेका थियो । पक्राउ परेका सबैलाई राज्य विरुद्धको अपराध अन्तर्गत थप अनुसन्धान गरी कारवाही अगाडी बढाइने महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले बताए । खेल मिलोमतोको आरोपमा अन्य ३ खेलाडी एक अफिसियल र एक बैंकको कर्मचारीको खोजी भइरहेको छ । महाशाखाका प्रमुख खनालका अनुसार सबै खेलाडीले आफ्नो संलग्नता रहेको स्वीकारेका छन् । उनीहरुले कुनै अफिसियलको नाम भने लिएका छैनन् । ‘उनीहरुले हामीले पैसा लिएका हौं भनेका छन्,’ उनले भने, ‘तर कुनै पनि अन्य अफिसियल वा खेलाडीको नाम भने खुलाएका छैनन् ।’ प्रहरीका अनुसार सन् २००८ देखि यताका अधिकांश अन्तर्राष्ट्रिय म्याच फिक्स्ड भएका छन् । प्रहरीका अनुसार सागर थापा र अन्जन केसीलगायतको मिलोमतो २००८ देखि नेपाली फुटबलमा फिक्सिङ हुन थालेको हो । प्रशिक्षक केसीले खेलाडी छँदै मिलोमतो गर्न थालेको र पछि प्रशिक्षक नियुक्त भएपछि त्यसको दायरा झन् बढेको खनालले बताए । मिलोमतो हुँदा हरेक खेलाडीले बुकीबाट ५ हजार अमेरिकी डलर लिने गरेका थिए । खनालका अनुसार कुनै पनि खेलमा मिलोमतो हुँदा टिमका हरेक खेलाडीले ५ हजार डलर पाउने गरेका थिए । ‘प्रायजसो अन्जन केसी र सागर थापालाई एकमुष्ठ पैसा आउँथ्यो र उनीहरुले नै अरु खेलाडीलाई पनि दिने गरेका थिए,’ उनले भने, ‘कतिपय अवस्थामा सागरलाई अरुलाई पैसा दिन अप्ठ्यारो लागे अन्जनले पैसा बाँड्थे ।’ प्रहरीका अनुसार कतिपय ठाउँमा खेल्दा पैसाको साथसाथै उनीहरूको घुम्ने, ढुल्ने र रमाइलो गर्ने प्रबन्ध पनि बुकीहरुले गर्ने गरेका थिए । महाशाखा प्रमुख खनालका अनुसार सागर, अन्जन र रितेशले प्रारम्भिक बयानमा समेत आफूले रकम लिएर खेल हारेको स्वीकारीसकेका छन् । ‘विभिन्न अन्तर्राष्ट्रिय खेलमा निश्चित गोल खाएर हार्न पैसा लिने गरेको उनीहरुले स्वीकार गरेका छन्,’ उनले भने, ‘हामी अन्य खेलाडी र अफिसियल माथि पनि अनुसन्धान गर्दैछौं । यसमा संलग्न भएको पुष्टि हुने बित्तिकै सबैलाई पक्राउ गर्छौं ।’ प्रहरीका अनुसार हाल ६ वटा खेलमा निश्चित गोल अन्तरले पराजित हुने सर्तमा खेलाडीहरुले पैसा लिने गरेको खुलेको छ । जसअन्तर्गत सन् २००८ मा मलेसियामा भएको मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल्न प्रति खेलाडी ५ हजार डलर लिएका थिए । त्यसपछि २००९ को साफ च्याम्पियनसिपमा जम्मा ३ हजार ३१ डलर लिई दामासाहीमा बाँडी लिएको खुलेको छ । २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा, २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा ४–० ले र २०१४ मा कोरियामा भएको एसियाली खेलकुदमा खेल हार्ने सर्तमा खेलाडीहरुले प्रति खेलाडी ५ हजार डलर लिएका थिए । २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्त भए पनि खेल ५–० ले पराजित भएपछि उक्त खेलको पैसा नपाएको पक्राउ परेका खेलाडीले बताएका छन् । ‘खेल अन्ततिर गोलकिपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन भएपछि भने अनुरुपको नतिजा निकाल्न नसक्दा पाउने पैसा नपाएको रितेशले बताएको छ,’ खनालले रितेशको बयान उदृत गर्दै भने । रितेश सो खेलका क्रममा घाइते भएपछि विकेश कोथुले नेपाली गोलपोष्ट समहालेका थिए । राष्ट्रिय टोलीबाट विकेशको त्यो पहिलो खेल थियो । म्याच फिक्सिङ गरी खेल हारेवापतमा रकम दिने तथा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने प्रमुख व्यक्तिहरू सिंगापुरको नागरिक विल्सन राज र टेटानीपेरियास्यामी छन् भने हाल माल्डोभामा रहेका मलेसियन नागरिक केशावान पट्टान छन् । उनीहरुको एजेन्टबाट अन्जन केसी र रितेश थापाले विभिन्न देशहरुबाट मनि ट्रान्फर मार्फत पैसा लिने गरेको समेत खुलेको छ । खेलाडीहरुलाई पैसा विशेष गरी वेस्ट्रन युनियन र साइबर मनि ट्रान्फरबाट प्राप्त हुने गरेको उनीहरुले प्रारम्भि बयानमा स्वीकार गरेका छन् । विदेशी बुकीमा सबैभन्दा खुङ्खार मानिएको सिंगापुरका नागरिक टेटानीपेरियास्यामी फरार छन् । ‘नेपाली खेलाडीलाई प्रलोभनमा पार्ने मुख्य अभियुक्तमा टेटानी र विल्सन राज रहेको देखिएको छ,’ खनालले भने । ‘विल्सन राज नेपाल आउँदा सागर थापाले दरवारमार्गको एक रेष्टुरेण्टमा भेटी कुराकानी समेत गरेको निजबाट खुल्न आएको,’ महाशाखा प्रमुख खनालले भने । उनको अनुसार अन्जन केसी पूर्व खेलाडी भए पनि विना हैसियत विभिन्न अन्तर्राष्ट्रिय फुटबल खेलहरुमा गई खेलाडीहरूलाई प्रभावित गर्ने गरेको समेत खुल्न आएको छ । ‘फिलिपिन्स र दिल्लीमा भएको प्रतियोगितामा केसी आफैं उपस्थित भई खेलाडीहरुलाई प्रभावित पारेको खुलेको छ,’ उनले भने । चोटका कारण रक्षक विकास लामो समय देखि राष्ट्रिय टोली बाहिर छन् । तर गत महिना पुणेमा भारतसँग भएको नेपालको मैत्रीपूर्ण खेलका लागि विकास आफै त्यहाँ पुगेका थिए । सागर र सन्दीप भने त्यो टोलीमा खेलाडी थिए । तर चोटका कारण सन्दीपले राष्ट्रिय टोलीबाट आफ्नो ५०औं खेल खेल्न पाएका थिएनन् । महाशाखाका प्रमुख एसएसपी खनालका २०१४ मा भएको यू २३ खेलमा समेत मिलोमतो भएको आशंका गरिएको छ । ‘एसीयाली खेलकुदमा प्यालेस्टाइनसँग भएको खेलमा ४–० र साउदी अरेबियासँग भएको खेलमा ६–० को हार पनि शंकाको घेरामा परेको छ,’ उनले भने । अनुसन्धानको क्रममा अन्जन केसीको सिक्कीममा रहेको क्यासिनोमा समेत पार्टनरसिप रहेको र गत वर्ष प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका गुन्डा नाइके चरीसँग पनि साँठगाँठ रहेको खुलेको छ । ‘उसलाई चरीसँगको सम्बन्धको बारे सोधपुछ गर्दा राम्रो साथी रहेको बताएको छ,’ वरिष्ठ प्रहरी उपरीक्षक खनालले भने, ‘हामी त्यो सम्बन्धको बारेमा पनि छानबिन गर्दै छौं ।’ चरी प्रहरीको इनकाउन्टर भएलगत्तै अन्जनले उनीसँगको फोटा फेसबुकमा राखेका थिए । तर तत्काल त्यो हटाएका थिए ।
http://kantipur.ekantipur.com/news/2015-10-15/20151015195208.html
a
|
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment