नेताको दशैँ : कोहीलाई आन्दोलनको चिन्ता, कोही जिल्लावासीसँग दुःखसुःख साट्दै

a


दाइ र सासुआमासँग टीका थाप्छु : ठाकुर गैरे, केन्द्रीय सदस्य, नेकपा एमाले
म भोलि पाल्पा जाँदै छु । गाउँमा विभिन्न क्लब, पार्टीका स्थानीय कमिटीका कार्यक्रम छन् । त्यसमा व्यस्त हुन्छु । मुख्यतः यसपालिको दशैँ–तिहारको मुखमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेर भारतले नाकाबन्दी लगाएको छ, यहीबारे बहस हुन्छ ।
दशैँमा दाइ र सासुआमाको हातबाट टीका थाप्छु । अनि, मेरा छोराछोरी, भाइभतिजालाई टीका लगाइदिन्छु । यो दशैँ नेपालको राष्ट्रिय स्वाधीनतालाई झुक्न नदिने, राष्ट्रिय झन्डाको गौरवलाई झुक्न नदिने र जनताबीच सामाजिक सद्भाव कायम गर्ने दशैँ बनोस् भनेर सबैलाई शुभकामना दिन्छु । घर–परिवार र आफन्तसँग भेटघाट गर्छु ।
बुबाआमा हुनुहुन्न, उहाँहरूलाई स्मरण गर्छु, श्रद्धाञ्जली दिन्छु ।

भेटघाटका लागि गाउँ जान्छु : गोकर्णराज विष्ट, सचिव, नेकपा एमाले
यसपालि दशैँमा हाम्रो परिवारमा टीका छैन । तर पनि मेरो घर गुल्मी जान्छु । आफन्त, दाजुभाइ, नजिकको आफन्तसँग भेटघाट हुन्छ । गाउँमा कार्यक्रम पनि छन् । त्यसका लागि पनि जाँदै छु । बाहिर बसेका साथीहरूले पुनर्मिलन भेटघाट कार्यक्रम र र सामाजिक संस्थाहरूले कार्यक्रमहरू राख्नुभएको छ, सहभागी हुन्छु । म सांसद पनि भएकाले जनतासँग भेटघाटका कार्यक्रम पनि छन् । ५–६ दिनसम्म म घरमा बस्छु ।

दशैँखर्च बुबाले हेर्नुहुन्छ : रविन्द्र अधिकारी, केन्द्रीय सदस्य, नेकपा एमाले
अझैसम्म दशैँबारे सोच्न पनि भ्याएको छैन, देशकै समस्या समाधानमा केन्द्रित छु । पोखराको घरमा जाने–आउने त भइरहेको छ । दशैँमा पनि घर जान्छु । बुवाआमाको हातबाट टीका लगाउँछु । अनि, आफूले लगाइदिनुपर्ने छोराछोरी, भाइभतिजा लगायतलाई टीका लगाइदिन्छु ।
भेटघाटका कार्यक्रम पनि छन् । देशमा संविधान बनेको छ, स्वाभिमानी सरकार बनेको छ । यस्तै खुसियाली बाँड्ने कार्यक्रम छन् ।
दशैँका लागि भनेर मैले छुट्टै खर्चको व्यवस्था गर्दिनँ । अहिलेसम्म दशैँमा मैले खर्च गर्नुपरेको छैन, घर–व्यवहार बुवाले नै हेर्नुहुन्छ । मलाई सजिलो छ । दशैँमा कति खर्च हुन्छ भन्ने पनि मलाई थाहा हुँदैन ।

दशँै लाग्छ, तर टीका लगाउँदिनँ, लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य, नेकपा–माओवादी
मलाई दशैँ एकदम लाग्छ । म दशैँमा गाउँ जान्छु । मेरो घर गोरखामा आमा हुनुहुन्छ । दाजुभाइ, दिदीबहिनी हुनुहुन्छ । गाउँमा विभिन्न पेसा व्यवसाय गरेर बसेका धेरै साथीभाइ आफन्त हुनुहुन्छ । उहाँहरूसँग भेटघाट हुन्छ ।
यसरी नै मैले दशैँ मनाउँछु । तर, टीका लगाउने, दक्षिणा आशीर्वाद लिनेदिने हुँदैन । दशैँ धार्मिक पर्व हो, तर अहिले संस्कृतिसँग जोडिने पनि गरिएको छ । मेरा दिदीबहिनी धेरै हुनुहुन्छ । अघिपछि म सहरतिर, उहाँहरू गाउँतिर हुन्छौँ, भेटघाटको संयोग नै मिल्दैन । दशैँका बेला भने सबैसँग भेटघाट हुन्छ ।
विशेषगरी अहिले मेरो एउटा पुस्तक तयार हुँदै छ, जनयुद्ध र अहिलेसम्मको अवस्था समेटेर तयार पारेको एउटा संस्मरण । त्यो फाइनलका लागि साथीभाइसँग सल्लाह–सुझाव लिन्छु । यही काममा नै यो दशैँ बित्ला । भेटघाटको कुरा त भइहाल्यो ।

जनताको जितपछि टीका लगाउने सल्लाह गरेका दाजुदिदी गुमायौँ : रामदीप आचार्य, केन्द्रीय सदस्य, नेकपा–माओवादी
अरुभन्दा मेरो दशैँँ अलि पृथक छ । ०५१ सालदेखि मैले टीका लगाएको छैन । ०५१ सालमा जनयुद्धमा जाने तयारी गरिरहँदा हामी ६ दाजुभाइ, दिदीबहिनीले एउटा निर्णय गरेका थियौँ, देशमा आमूल परिवर्तन हुनेगरी जनयुद्ध सफल नहुँदासम्म दशैँ नमनाउने । त्यसदेखि दशैँमा टीका लगाइएन । युद्धमा होमिएपछि दशैँ टीका लगाउन आउने भन्ने हुँदैनथ्यो । जनयुद्धमा एकजना दाजु र एकजना दिदी सहिद पनि हुनुभयो । तर, लडाइँ पूरै जित्न पनि जितिएन । अर्थात् आमूल परिवर्तन भएन । दशैँलाई विजया दशमी पनि भनिन्छ । देशका उत्पीडित क्षेत्र, वर्ग, लिंग, जाति, समुदायको विजय अझै भएको छैन । टीका लगाउनु विजयोत्सव जस्तो पनि हुने भएकाले के को पो खुसियाली छ र भनेर टिका लगाउँदैनौँ ।
टीका नलगाए पनि हाम्रो लक्ष्य र संस्कृति एकाकार हुनेगरी हामी दशैँमा भेटघाट गर्छौं । आमनेपाली जनताले मनाउँदा उहाँहरूलाई साथ दिन्छौँ । पारिवारिक रुपमा समय मिल्यो भने भेटघाट हुन्छ ।
म प्रायः राजनीतिक कामका लागि राजधानीतिरै बसिरहने, यो चाडबाडको बेला त्यति सांगठनिक कामको चाप पनि नहुने भएकाले अहिले म भेटघाटका लागि मेरो घर जाजरकोट आइपुगेको छु । घरमा नआएको धेरै समय भएको थियो, त्यसैले यसपालि अलि चाँडै आएँ । यो बेला भेटघाटसँगै समकालीन राजनीति र अर्थनीतिको विषयमा अध्ययन गरेर दशैँ मनाउँछु ।

आमाको हातको टीका लगाउँछु : प्रकाश ज्वाला, एमाले

यसपालिको दशैँ संविधानसभाबाट नयाँ संविधान बनेको खुसियाली साथ मनाउने अवसर पाएका छौँ । दशैँ–तिहार, छठपर्वमा अरू नेपालीले जुन खुसीका साथ मनाउनुहुन्छ, मैले पनि सोहीअनुसार मनाउँछु । अर्को कुरा नाकाबन्दीका कारण घरमा जान समस्या छ, चुलो बल्न छाडेको छ, त्यसैले एउटा चुनौतीको रूपमा पनि मनाउँदै छाँै ।

म सामान्यतः दशैँमा धेरै समयका लागि घर जान्न । राजनीतिक कामबाट फुर्सद हुने भएकाले अध्ययनमा नै समय बित्छ । त्यतिबेला केही पढ्ने र केही न केही लेख्ने गरेको छु, अहिले पनि त्यही सोँच बनाएको छु ।
हाम्रोमा पूर्णिमासम्मै टीका लगाउने चलन छ, समय मिलाएर पूर्णिमासम्म एक दिन घर पुग्छु । आमाको हातको टीका लगाउँछु । केही समय जनताबीच निर्वाचन क्षेत्रमा जान्छु । भेटघाट र शुभकामना आदानप्रदान गर्छौं ।
म दशैँमा विशेष खर्च गर्दिनँ । खसी किन्ने, सामान किन्ने हुँदैन । अत्यावश्यक सामान मात्र सामान्य रुपमा किनिन्छ । त्यसैले खासै छुट्टै खर्च हुँदैन ।

दशैँमा एक–डेढ लाख रुपैयाँ खर्च हुन्छ : रामहरि खतिवडा, नेपाली कांग्रेस
मैले माओवादी जनयुद्धकालमा एक वर्षबाहेक सधैँको दशैँ मेरो घर ओखलढुंगामा गएर नै मनाउने गरको छु । गाउँमा आमाबुबा, दाजुभाइ, साथीभाइ, आफन्तसँग भेटघाट हुन्छ । एक दिन घरमा हुन्छु । बुबाआमाको हातबाट टीका लगाउँछु, आफूले आशीर्वाद दिनुपर्नेलाई लगाइदिन्छु । कार्यकर्ता आउँछन्, लौ दाइ आशीर्वाद दिनुप¥यो भनेर ।
टीकाको अघिल्लो दिन वा टीकाको भोलिपल्ट चार–पाँच गाविसका साथीहरूलाई बोलाएर भेटघाट गर्छु । टीकाको दिन घरमै बितिहाल्छ । भोलिपल्ट वा पर्सिपल्टतिर सदरमुकाम जान्छु । त्यहाँका सरकारी कार्यालय, राजनीतिक दलसँग भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने गर्छु । यसपालि व्याकुल माइला कप प्रतियोगिता छ, त्यसमा सहभागी पनि हुन्छु ।
आफ्नो सांसदको तलब सबै निर्वाचन क्षेत्रका गाविसमा खर्च गर्ने गरको छु । तर, दशैँमा माननीय छ भनेर साथीभाइ आउनुहुन्छ । त्यसैले व्यवसायबाट आएको एक–डेढ लाख रुपैयाँ दशैँमा खर्च हुन्छ ।

जिल्लावासीसँग दुःखसुख साट्न जान्छु : चन्द्र भण्डारी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
यो बेला हाम्री सबै राजनीतिक पार्टी मिलेर संविधानसभाबाट संविधान निर्माण गर्यौँ । तर त्यसको बदला छिमेकी मित्रबाट नाकाबन्दीको सामना गरिरहेका छौँ ।
यही साल भूकम्पको मार खप्नुपर्यो । यता, राजनीतिक दलको बेमेल, नाकाबन्दीले इन्धन अभावले दुःख लागेको छ ।
तर पनि नेपालीको महान चाड हो, गाउँ जान्छु । यसपालि हाम्रो परिवारमा टीका छैन । तर, जिल्लावासीलाई भेट्न जान्छु, देशको विषम राजनीतिक अवस्थाले गर्दा निम्तिएका दुःखसुख साटासाट गर्छु । राजनीतिक कार्यक्रम छन्, भेटघाट छ, त्यसमा सहभागी हुन्छु ।

छोराछोरीलाई टीका लगाइदिन्छु : जीवन गौतम, केन्द्रीय सदस्य, एनेकपा माओवादी
दशैँका लागि भने त्यस्तो विशेष तयारी केही छैन, हुँदैन । दाङ जान्छु, मेरो घर र कार्य क्षेत्र पनि दाङ हो । पार्टीको काम र व्यक्तिगत भेटघाटका कार्यक्रम छन् । संविधान बने पनि हामी सबै नेपालीले दीपावली मनाउन सकेनौँ । त्यसैले मधेसी थारु, जनजातिको माग सम्बोधन गरेर यो दशैँमा सबैले खुसियालीसाथ दीपावली मनाउने वातावरण बनोस् भन्ने आग्रह शीर्ष नेताहरूलाई छ ।
यो दशैँमा अलि फुर्सद होला जस्तो छ । त्यसैले समाजवादको यात्रा पुस्तक पढ्ने तयारी छ ।
दशैँलाई म धार्मिक पूजापाठकै रुपमा मनाउँदिनँ । तर, सामान्य रुपमा आफन्तसँग भेटघाट गर्छु । मैले टीका लगाउन छाडेको धेरै वर्ष भयो । तर, गाउँमा फलानो आइदियोस् भन्ने आफन्तको चाहना हुने भएकाले मान्यजनकहाँ पुगेर भेटघाट गर्छु ।
दशैँमा सामान्य खर्च हुन्छ । दशैँलाई भनेर विशेष खर्च हुँदैन । सामान्य सामाजिक परम्पराअनुसार हुन्छ ।
मेरो बुबाआमा दाइसँग क्यानडा जानुभएकाले यसपटक म घरको मूली भएको छु, छोराछोरीले नराम्रो मान्लान् भनेर पूजापाठ नगरे पनि उनीहरूलाई टीका लगाइदिन्छु । मेरो बुबाले पनि कम्युनिस्ट आन्दोलनमै लामो समय बिताएकाले हामीले दशैँलाई धुमधाम र धार्मिक पर्वको रुपमा मनाउँदैनौँ ।

यसपालि दशैँमा फिल्म हेर्छु : रेणु चन्द, एकीकृत नेकपा माओवादी
म त जन्मेहुर्केको भारतको मुम्बईमा हो । त्यसैले मैले खासै दशैँ मनाउने गरेकी छैन, मलाई दशैँभन्दा दिवाली मन पर्छ ।
तर पनि हाम्रो समाजमा चलेको संस्कृतिअनुसार दशैँ पनि मनाइन्छ । जनयुद्धमा लागियो, मनाउन पाइएन । सदनमा छँदा पनि दशैँमा कार्यकर्ता भेटघाटमै व्यस्त भइयो ।
यसपालि घर बैतडी सुदूरपश्चिम जान्नँ । बुबाआमा काठमाडौंमै आउनुभएको छ । यहीँ मनाउने योजना छ । इन्धन अभावका कारण जान–आउन गाह्रो हुने हुँदा बुबालाई नै यतै बोलायौँ । अरु त सबैजना यतै थियौँ ।
बुबाआमाले हाम्रा लागि हिजोमात्रै किनमेल गरेर आउनुभएको छ । बुबाआमाले टीका लगाइदिनुहुन्छ सबैलाई । हाम्रोमा एकद्वार प्रणाली छ, बुबाआमाले मात्रै सबैलाई टीका लगाउने, अरुले नलगाइदिने भन्ने हुँदैन ।
हामीले त्यस्तो धेरै खर्च गर्दैनौँ । छोरीलाई दशैँका लागि लुगाकपडा किनिदिने हो, अरु बढी हुँदैन । स्विट एन्ड सिम्पल हुन्छ हाम्रो दशैँ । अनि मिल्यो भने यो दशैँमा मुभी हेर्ने कि भन्ने छ । हेरौँ कस्तो हुन्छ ।

यो दशैँमा हामी चिन्तित छौँ : प्रभु शाह, एकीकृत नेकपा माओवादी
हाम्रोतिर दशैँमा टीका लगाउने भन्दा पनि धुमधामसँग देवीको पूजा गर्ने चलन छ । मधेसतिर भोकै बसेर देवीको आराधना गरी खसी काटेर प्रसाद वितरण गरिन्छ ।
यो बेला कार्यकर्ता भेटघाट, शुभकामना आदान–प्रदान गर्ने त गरिन्थ्यो । तर यो दशैँमा हामी चिन्तित छौँ । तराई आन्दोलन छ । अन्योल छ । मिल्यो भने भेटघाट र शुभकामना आदान–प्रदान गर्न जिल्ला रौतहट जाने विचार छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment