a
|
काठमाडौं– प्रधानमन्त्रीको कुर्सीमा बसेको चार दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को धक्काको महसुस गर्नुपरेको छ । यस्ता धक्काले शुरुबाट नै ओली नेतृत्वको सरकारमाथि दबाब पर्ने खतरा बढेको छ ।
धक्का – १
दोस्रो ठूलो पार्टी हुँदाहुँदै पनि सात बुँदे सहमति गरेर काँग्रेस सभापति सुशील कोइरालाई प्रधानमन्त्री बनाएका एमाले अध्यक्ष केपी ओली काँग्रेसकै सहयोगमा प्रधानमन्त्री बन्नेमा ढुक्क थिए । तर, अन्तिम समयमा आएर काँग्रेस ओलीलाई प्रधानमन्त्री दिन तयार भएन र आफ्ना सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीका लागि मैदानमा उता¥यो । काँग्रेसले भद्र सहमति पालना नगरेपछि एकीकृत माओवादी, राप्रपा नेपाल र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको सहयोगमा प्रधानमन्त्री त भए । तर, भद्र सहमति नभएर पालना नभएपछि ओलीलाई धक्का लागेको छ । बलियो पतिपक्ष भएको बेला उनी प्रधानमन्त्री हुन परेको छ ।
धक्का – २
प्रधानमन्त्रीपछि ओलीले उपप्रधानमन्त्री र अर्थ मन्त्रीको जिम्मेवारीसहित पार्टी उपमहासचिव विष्णु पौडेललाई सपथ खुवाउने योजना बनाएका थिए । तर, पार्टी वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, शंकर पोखरेल, घनश्याम भुसाल जस्ता नेताले पौडेललाई कुनै पनि हालतमा उपप्रधानमन्त्रीको जिम्मेवारी नदिन अडान लिए । त्यसपछि पौडेललाई अर्थमन्त्रीसहित उपप्रधानमन्त्री बनाउने प्रधानमन्त्री ओलीको योजना तुहियो । एमाले नेताहरुले यसलाई ओलीको दोस्रो ठूलो धक्काका रुपमा लिएका छन् ।
जसले रोके विष्णु पौडेललाई
धक्का–३
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई तेस्रो धक्का पनि आफ्नै पार्टीबाट खानु परेको छ । कानुन मन्त्रीमा विवादास्पद व्यक्ति ल्याएको भन्दै पार्टीभित्रबाटै प्रधानमन्त्रीको आलोचना भएको छ । शीर्ष नेताको विरोध हुँदाहुँदे ओलीले अग्नि खरेललाई कानुनमन्त्री बनाएको भन्दै आरोप लागेको छ । यसले एमालेभित्र अन्य मन्त्री छनौट समेत प्रभावित भएको छ । यसैका जगमा कानुनमन्त्रीलाई फिर्ता बोलाउनुपर्नेसम्मको आवाज एमालेमा उठन थालेको छ । खरेलसँगै पार्टनरसीपमा ल फर्म चलाएका हरिकृष्ण कार्कीलाई महान्यायधिवत्ता बनाएपछि यो निर्णय पनि विवाद मुक्त भएन ।
कानुनमन्त्रीमाथि एमालेबाटै उठेका प्रश्न
एउटै ‘ल फर्म’का दुई वकिल प्रधानमन्त्रीकोे दायाँ-बायाँ
धक्का–४
प्रधानमन्त्री ओलीले आफु सिंहदरबार पसेको पाँचौ दिनसम्म पनि मन्त्रीमण्डलाई पूर्णता दिन सकेका छैनन् । आफ्नो पार्टी एमाले र सत्ता साझेदार एकीकृत माओवादीमा मन्त्री छनौटको विषय विवादमा तानिएपनि ओलीको चाँडै नै मन्त्रीमण्डलल विस्तारको योजना पूरा हुन पाएको छैन । मन्त्रीमण्डल विस्तारमा ढिलाई प्रधानमन्त्रीका लागि अर्को ठुलो धक्का भएको सत्तारुढ दलकै नेताहरुले बताउन थालेका छन् । विपक्षी काँग्रेस नेताहरुले सरकारले आफ्नो हैसियत देखाउन थालिसकेको भन्दै आलोचना शुरु गरेका छन् । यो प्रधानमन्त्री ओलीका लागि ठूलो धक्का भएको एमालेका एक नेताले बताए ।
धक्का ५ः
ओली नेतृत्व सरकारले पुरानै निर्णयलाई आफ्नो सरकारको पहिलो निर्णय बनाए । सरकारको ०६८/६९ मै सरकारले गरेको तुइन हटाएर झोलुंगेपुल निर्माण गर्ने निर्णयलाई ओली नेतृत्व सरकारले पहिलो निर्णय गरेको छ । तर, ०६८/६९ को बजेटमै देशभरिकै तुइन सरकारले खरिद गरी हटाउने र त्यस्ता ठाउँमा झोलुंगे पुल निर्माण गर्ने निर्णय थियो । यसले ओली नेतृत्व सरकारको पहिलो निर्णय नै पुरानो परेको खुलासा भएको थियो । योसँगै सरकारको ‘भिजन’ माथि प्रश्न उठ्यो र प्रधानमन्त्रीले अर्को धक्काको महसुस गर्नुपर्यो । शपथ ग्रहणलगत्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देशभरका तुइन विस्थापन गरी झोलुंगे पुल बनाउने निर्णय गरेको थियो ।
कसले झुक्यायो प्रधानमन्त्री ओलीलाई ?
धक्का – ६
राष्ट्रियताको जगमा गठन भएको भनिएको ओली नेतृत्वको सरकार लगत्तै भारतले गरेको नाकाबन्दीका विषयमा ठोस पहल थाल्ने अपेक्षा गरिएको थियो । तर, नाकाबन्दीका विषयमा सरकारले ठोस निर्णय लिन सकेको छैन । सरकारले परारष्ट्र मन्त्री कमल थापालाई आज बल्ल दिल्ली जाँदैछन् । नाकाबन्दीले दैनिक उपभोग्य बस्तुदेखि दशैंमा घर जान खोज्नेहरु समेत प्रभावित बनेका छन् ।
धक्का – ७
नयाँ सरकार गठनको पाँच दिनसम्म पनि तराई–मधेशमा आन्दोलनरत दलहरुसँग संवादका लागि सरकारले ठोस कदम चालेको छैन । प्रधानमन्त्री ओलीले बिहिबार संसदमा सम्बोधन गर्दै वार्ताका लागि आव्हान त गरेका छन् । तर, आन्दोलनमा उत्रेका दलहरुसँग औपचारिक संवादका लागि न वार्ता समिति बनाएका छन् न कसैलाई जिम्मेवारी नै दिएका छन् । प्रधानमन्त्री ओली मधेश आन्दोलनप्रति जिम्मेवार छैनन् भन्ने सन्देश जानु सरकारको लागि अर्को ठूलो धक्का हुने एकीकृत माओवादीका एक नेताले बताए ।
धक्का – ८
ओली प्रधानमन्त्रीमा चयन भएपछि सवैभन्दा पहिला बधाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएका थिए । भारतीय प्रधानमन्त्रीले बधाईसँगै मिलेर काम गर्ने आश्वसन समेत दिएका थिए । योसँगै नाकाबन्दी खुल्ने र पेट्रोलियम पदार्थको आपुर्ति सहज हुने अनुमान गरिएको थियो । ओली प्रधानमन्त्री भएको केही दिन पेट्रोलियम आयात सहज भएको देखिएको थियो । तर, ओलीलाई फोनमा मिलेर काम गर्ने बताएका मोदीले व्यवहारमा भने उल्टो देखाए । नाकाबन्दीलाई खुकुलो बनाउने कुनै संकेत देखाएनन् । यो पनि ओलीका लागि धक्का भएको एमालेकै नेताहरु बताउँछन् ।
के भन्छन् ओलीबारे कांग्रेस नेता ?
चन्द्र भण्डारी, कांग्रेस केन्द्रीय सदस्य
यो नेपालको कल्चर नै भयो कि देशका लागि भन्दा पनि बढी व्यक्तिका लागि र दलका लागि मात्रै राजनीति गर्ने र आन्तरीक राजनीतिक खिचातानिमा अलमलिने । तर मलाई आशा थियो यो सरकारमा यो प्रवृत्तिका पुनारावृत्ति हुँदैन । किनकी केपी ओलीजीको यो नाफाको जीवन हो । जटिल रोगबाट पनि आफूलाई बचाउन सफल हुनुभएको छ । त्यसैले उहाँलाई केही लोभ लालच नहुनुपर्ने हो । यो सरकारले केही गर्नैपर्ने हो । यो अवस्थामा मैले कुनै पनि कुरालाई एकैचोटी आलोचना गर्न चाहन्न । देशमा जटिलता छ । भन्नेबित्तिकै कुनै समस्या एकातिर नाकाबन्दी छ । अर्कोतिर हिजो राज्यका विरुद्ध हतियार उठाएको दल र हिजो राजासँग मिलेको दल एकै ठाउँमा बसेर सरकार चलाउनु परेको छ । त्यसैले यो अवस्थामा कामहरु गर्न कठिन पनि छ । मिलाएर जानुपर्छ । दलभित्रका आन्तरीक समस्याहरु हामीले पनि व्यहोर्नुपर्छ । तर उहाँहरुले समस्या समाधानका लागि कमिटी बनाएर जानुभएको छ भन्ने कुरा मिडियाबाट थाहा पाएको छु । पक्कैपनि प्रचण्डजीले समस्या समाधानका लागि पहल गर्नुहोला । पहिलो ठूलो दल प्रतिपक्षमा छ । यो बेला उहाँहरुले नेपाली काँग्रेसलाई पनि संगै लिएर हिँड्नुपर्ने हुन्छ । त्यसले गर्दा उहाँहरुका आन्तरिक समस्या समाधान गर्न पनि सहयोग पुग्छ । किनकी विपी जस्तो नेता भारतमा अपमानीत हुँदा र राजबाट पाँचपाँचबटा फाँसिका मुद्दा लगाइँदा पनि मेरो देश संकटमा छ, म मेरो देशमा जानुपर्छ । मैले देश बचाउनका लागि केही गर्नुपर्छ भनेर नेपाल आउनुभएको थियो । अहिले त्योभन्दा पनि बढी संकट छ देशमा । यो बेला कुनै पनि दल स्वार्थमा अलमलिनु हुँदैन । राष्ट्रिय हित र एकताका लागि मिलेर जानुपर्छ । सबैको त्यो सोँच भयो भने हामी पार्टीभित्रका समस्या पनि समाधान गन सक्छौँ । समस्या आउँदैन भन्ने लाग्छ । हिजो हामी संविधान बनाउने बेला जसरी मिलेर गएका थियौँ । त्यसरी नै मिलेर जानुपर्छ ।
अहिले सरकारमा जाने विषयमा आन्तरीक समस्या छ । यो सबैकोमा हुने कुरा हो । तर उहाँहरुले सरकार बनाउँदा जस्तो पायो त्यस्तो मान्छेलाई लैजानु हुँदैन । किनकी अहिलेसम्मका सरकारका जाने धेरै आफ्ना लागि मात्र गरेको देखियो, देशका लागि केही गरेनन् । यो यथार्थ हो ।
यो बेला देशमा नाकाबन्दीको समय छ, यसमा सरकारमा गएर नियमित काम गर्ने, पहिलाकाहरुले जस्तै कसरी आफ्नो स्वार्थ पूरा गर्ने भन्दा पनि देशका लागि केही विकल्प ल्याउन सक्ने व्यक्ति सरकारमा लैजानुपर्छ ।
अलि आदर्शबादी व्यक्ति लैजानुपर्छ, यो संकनको बेला हरेक विकल्पहरु दिएर समस्या समाधान गर्ने, देशलाई निकाश दिन सक्ने ।
संविधान कार्यान्वयनको चरणमा छ, राज्यका सीमाहरु मिलाउनुपर्ने छ । विदेशनीति परीमार्जन गर्नुपर्ने छ । संविधान संसोधन गरेर सबैलाई मान्य हुने बनाउनुपर्ने छ । यो बेला यी सबै विषयमा राम्रो जानकारी भएको व्यक्ति सरकारमा लैजानुपछ्र्र । लोभी व्यक्ति होईन ।
a
|
0 comments:
Post a Comment