छापामारदेखि सभामुखसम्म

a

आश्विन २९, २०७२- माआवादीले २०५२ फागुन १ गते रोल्पा, रुकुम, सिन्धुली र गोरखामा प्रमुख कारबाही गर्ने नीति बनाएको थियो । त्यसबेला रोल्पाको होलेरी चौकी आक्रमणमा दुई युवती सहभागि भएका थिए । ती मध्येकी एक थिइन्, १८ वर्षीया ओनसरी घर्ती मगर । अर्की थिइन्, तारा घर्ती । ओनसरी र ताराको एकै दिन एउटै मञ्चमा जनवादी विवाह भएको थियो । त्यो युद्धको केही वर्षपछि ओनसरी घर्तीको परिचयमा थुप्रै विशेषणहरु लागिसकेका छन् । छापामारबाट सभासद, मन्त्री उपसभामुख हुँदै उनी सार्वभौम संसदको सभामुख बनेकी छन् । त्यो पनि मुलुकको पहिलो महिला सभामुख । एमाओवादी पार्टीबाट उपभामुख हुने उनी दोस्रो व्यक्ति हुन् । गएको संविधानसभामा एमाओवादीकै पूर्णकुमारी सुवेदी त्यो पदमा पुगेकी थिइन् । २०३४ कात्तिकमा रोल्पा, जङकोटमा जन्मिएकी घर्ती एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा एक महिना युवा तथा खेलकुद मन्त्री बनेकी थिइन् । ..................... राजनीतिमा कहिलेकाहिँ नसोचेको सफलता प्राप्त हुन्छ । त्यस्तै सफलता प्राप्त भयो, सभामुख ओनसरी घर्तीलाई । ‘म नेता हुन्छु भन्ने पक्कै सोचेकी थिएँ तर सभामुख हुन्छु भन्ने सोचेकी थिएन,’ सभामुख निर्वाचित भइसकेपछि उनले इकान्तिपुरसँग भनिन् । आफू देशकै पहिलो महिला सभामुख हुनुमा उनले सबभन्दा बढी श्रेय एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिइन् । ‘अध्यक्षले महिला, जनजातिलाई नेतृत्वमा पुर्‍याउन स्थान नदिएको भए म सभामुख हुन सम्भव थिएन,’ उनले भनिन्, ‘मेरो श्रीमान अनन्त (वर्षमान पुन) ले पनि सधैं अघि बढ्ने प्ररेणा दिइरहनु भयो । यहाँ पुग्नुमा मेरो आत्मबलले पनि काम गरेको छ,’ उनले थपिन् । ‘म निर्वाचित भएपछि संविधान कार्यान्वयन सुरु भएको महुसुस गरेको छु, मेरो काँधमा राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन गराउनुका साथै संविधानसँग सम्बन्धित ऐन कानुन बनाएर अघि बढ्ने जिम्मेवारी छ,’ उनले छोटकरीमा योजना सुनाइन् । सभामुख निर्वाचन भएलगत्तै उनलाई बधाईको ओइरो लाग्नु स्वभाविक थियो । किनकी उनी पहिलो महिला सभामुख निर्वाचिन भइन् । सभामुख चयन हुनुअघि उनी उपसभामुख थिइन् । त्यसअघिको परिचय थियो, रोल्पा–२ बाट निर्वाचित संविधानसभा सदस्य । एमाओवादीबाट प्रत्यक्षमा चुनाव जित्ने उनी एकमात्र महिला नेतृ हुन् । रोल्पाको लिवाङ स्कुल पढ्दा र गाउँमा आफूले हलो जोतेको प्रसंगले उनलाई अहिले पनि बिगततिर फर्कन बाध्य बनाउँछ । ‘यी दुई घटना नभइदिएको भए सायद म शिक्षिका हुन्थें कि ?’ उनले विगतको संस्मरण गर्दै केही पहिले कान्तिपुरसँग भनेकी थिइन् । दर्जनौं युद्धको मोर्चामा सहभागी भएकी उनले ती घटना झलझली आँखै अगाडि आएजस्तै सुनाएकी थिएन्, जतिबेला उनका आँखा आक्रोश र भावनाले रसाएका देखिन्थे । रोल्पा, जङकोटबाट लिबाङ माविमा पढ्न जाँदा सदरमुकामका विद्यार्थीले घर्तीलाई ‘टिमुर गनाउने’ केटी भन्दै पहिलो बेन्चमा बस्नसमेत दिएनछन् । ‘धेरै दिन बस्न नदिएपछि मैले त्यसको बदला लिने निर्णय गरेंँ, त्यो पनि भौतिक रूपमा’, उनले सम्झिइन् ‘अघिल्लो बेन्चमा किताब राखेर म पछाडि बसेंँ । मेरो किताब हटाउने बित्तिकै मैले त्यो केटालाई भित्तामा बजारिदिएँ । त्यसपछि पहिलो बेन्च हामी केटीहरूको भयो । अनि मलाई हेप्ने हिम्मत कसैले गरेनन् ।’ २०४३/४४ सालतिर राजनीतिक मुद्दाका कारण उनका दाइ जेल परेपछि खेतबारी जोतेको प्रसंगले उनलाई आक्रोशित बनायो । त्यतिबेला महिलाले हलो जोत्नै हुँदैन भन्ने मान्यतालाई तोडेर खेतबारी जोतेपछि बाटो हिंँड्ने बटुवादेखि गाउँलेले उनलाई अपमानित गरेपछि उनले त्यसको प्रतिकार गरेकी थिइन् । ‘एकजना गाउँले खोलामा बगेर मरेपछि दाइलाई झुठा आरोपमा जेल हालिएको थियो । त्यसबेला बुबालाई सघाउन हलो जोतेपछि अपमानित भएको कहिल्यै बिर्सन्न,’ उनी भन्छिन्, ‘हलो जोतेको भन्दै अपमानित गर्नेहरूलाई माटोका डल्लाले हान्दै लखेटेकी थिएँ । त्यो एक प्रकारको विद्रोह थियो ।’ गाउँको स्कुलमा पढ्दा वर्षमान पुनलगायतले दिमागमा कम्युनिस्ट चेतना भरेपछि सुरु भएको उनको विद्रोह १० वर्षे सशस्त्र युद्ध हँुदै संविधानसभामा अवतरण भयो । यसअघि आक्कलझुक्कल संसद चलाएको अनुभव उनीसँग भए पनि अब भने सिंगो बैठकको जिम्मा उनको काँधमा आएको छ । उपसभामुख भएको अनुभवले उनलाई सघाउने छ । .......................... ‘सानोमा घाँस–दाउरा गर्दै तरकारी बेचेर एसएलसी पास गरेकी हुँ,’ उनले भनिन् । २०५२ देखि पूर्णरूपमा राजनीतिमा होमिएकी उनले वर्षमान पुनमा जीवनसाथी मात्र होइन, राजनीतिक ‘कमरेड’ पाएकी छन् । स्वाभाविक रूपमा उनको राजनीतिक पाइला अघि बढ्न पुनको भूमिका महत्वपूर्ण छ । संविधानसभा–२ को निर्वाचनमा मोरङ–९ बाट पराजित पुन अध्यक्ष पुष्पकमल दाहालका विश्वासिला नेता हुन् । करिब एक वर्षअघि पुनले एमाओवादीका सशक्त युवा नेताहरूमा ओनसरीको नाम लिएका थिए । महिला संघ क्रान्तिकारीमा हुँदा सँंगै काम गरेकी रेखा शर्माको बुझाइमा घर्ती विद्यार्थी, महिला, सैन्य क्षेत्रमा काम गरेकीले राजनीतिक रूपमा सक्षम नेतृ हुन् । पार्टीको लडाकू बटालियन कमिसार थिइन् र त्यस क्षेत्रका लडाईमा सहभागी भएकी थिइन् । उननले पार्टीको सिन्धुली, भोजपुर, उदयपुर, खोटाङ, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, ललितपुरलगायत एक दर्जन जिल्ला इन्चार्ज भई काम गरिसकेकी छन् । उनी आफू कांग्रेस नेतृ मंगलादेवी सिंहबाट प्रभावित भएको बताउछिन् । ‘आफ्नो अधिकारका लागि काम गर्न मंगलादेवीको प्रेरणा मिलेको छ,’ उनले भनकी थिइन् । संसदको लामो अनुभव भएको र मीठो बोल्न खप्पिस सभामुख सुवासचन्द्र नेम्वाङको उपसभामुख हुँदा स्वाभाविक छाँयामा परेको महसुस गरेकी थिइन् । अब चाहिँ उनले खुलेर काम गर्न पाउने छिन् ।

http://kantipur.ekantipur.com/news/2015-10-16/20151016205553.html
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment