ग्यास निकाल्ने योजना अलपत्र

a


आश्विन १९, २०७२- भारतको अघोषित नाकाबन्दीका कारण हाल मुलुकमा ग्यास, पेट्रोल, डिजेललगायत इन्धन अभाव भएको छ। जापान सरकारले करिब २५ वर्षअघि नै नेपाललाई ग्यासमा आत्मनिर्भर बनाउन उपत्यकाका विभिन्न स्थानमा प्राकृतिक ग्यासको सम्भावनाबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो।
जापानी विशेषज्ञ टोलीले ललितपुरको बालकुमारी, शंखमूल, भक्तपुरको बालकोट, काठमाडांैको कोटेश्वर, तीनकुने, टेकु, विष्णुमती किनारा, भृकुटीमण्डपलगायत उपत्यकाका विभिन्न १४ स्थानमा
सतहमुनिको भौगोलिक अवस्थाको अध्ययन गरी मिथेन ग्यास उत्पादन गर्न सकिने प्रारम्भिक प्रतिवेदनसहित उत्खननका लागि सुझाएको थियो।
सरकारले पाइप लाइनमार्फत उपभोक्तालाई ग्यास वितरण गर्न ललितपुरको बालकुमारीमा उत्खनन लागत इस्टिमेटसहितको डिजाइन तयार पारी कामसमेत सुरु गरेको थियो। तर सरकारी ढिलासुस्तीका कारण हालसम्म ग्यास उत्पादन हुन सकेको छैन। त्यस क्षेत्रमा उत्पादित ग्यासले ५० हजार परिवारलाई २० वर्षसम्म पुग्ने अनुमान गरिएको थियो।
गत वर्ष उक्त क्षेत्रमा ग्यास उत्खननका लागि ४० लाख रुपैयाँको हाराहारीमा खर्च भएको थियो। तर यस वर्ष टेन्डर लिने व्यक्ति/संघसंस्था नभएका कारण कार्यक्रम नराखिएको जानकारी खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले दिए। ‘ग्यास निकाल्न सके त्यससँगै निस्कने पानी पनि प्रशोधन गरी बिक्री गर्ने लक्ष्य लिइएको थियो,’ उनले भने, ‘ग्यास निकाल्न बालकुमारीमा साढे तीन सय मिटर पाइप बोरिङ गरिसकिएको छ।’
उनका अनुसार ग्यासबाट बिजुली उत्पादन गर्नेबारे विभिन्न कन्सलटेन्सीहरूसित छलफल भइरहेको छ। ‘तर २५ वर्षअघि गरिएको अध्ययन समयसापेक्ष नहुने भएकाले ग्यास निकाल्न पुन: अनुसन्धान आवश्यक देखिएको छ,’ उनले भने, ‘ग्यास वितरणका लागि पाइन लाइन बिछ्याउन ठूला घरहरू बनिसकेकाले समस्या हुने देखिएको छ।’
उनले मिथेन ग्यासलाई एलपी ग्यासको सिलिन्डरमा भर्न नसकिने भएकाले छुट्टै ठूल्ठूला ग्यास सिलिन्डर आवश्यक पर्ने बताए। एलपी ग्यास पेट्रोलियम पदार्थमा मिसिएको हुन्छ भने फोहोर मैलाबाट बन्ने मिथेन ग्यास पानीसँग मिसिएको हुन्छ। त्यतिबेला मिथेन ग्यास उत्पादन भएमा भारतबाट ल्याउने ग्यासको मूल्यको हाराहारीमा हुने अनुमान गरिएको थियो। हाल ललितपुरको बालकुमारीस्थित प्राकृतिक ग्यास अन्वेषण क्षेत्र अस्तव्यस्त अवस्थामा छ। भुस्याहा कुकुरको बासस्थान बनेको छ ग्यास अन्वेषण क्षेत्र।
ग्यास उत्पादन गर्नका लागि ट्यांकीलगायत निर्माणका लागि ल्याइएको सिमेन्ट जाम भएको छ। डण्डीमा खिया लागेको छ। स–साना दुईवटा पोखरी इँटा, प्लास्टिक, कपडालगायत फोहोरले भरिएको छ। काम गर्दा हातमा लाउन ल्याइएका पन्जाहरू फालिएका छन्। ग्यास उत्पादन गर्दा प्रयोग हुने फलामको लामो गोलो चेम्बर त्यसै फालिएको छ। अफिस कोठाको झ्यालका सिसा फुटेका छन्। ग्यास चेम्बर राखिएको स्थानमा दुईवटा स–साना ट्यांकीमा आकाशे पानी जमेको छ। जसले वरिपरिको वातावरणमा दुर्गन्ध फैलिएको छ। मुलुकमा यस्तै स्थिति रहिरहे मानव मलमूत्रको पनि वैकल्पिक ऊर्जाका रूपमा प्रयोग गर्न सकिने बुद्धिजीवीहरू बताउँछन्। सरकारले चाहेमा घरमा प्रयोग गर्दै आइरहेको शौचालयको उपयोग गरी ग्यास निकाल्न मिल्ने गरी पुनर्निर्माण गरी मिथेन ग्यास उत्पादन गर्न सकिने उद्योग मन्त्रालयका सहसचिव एवं सूचना अधिकारी दिनेशकुमार घिमिरे बताउँछन्। ‘यसका लागि ग्यास ट्यांकी निर्माणका लागि स्थान र पैसा भए पुग्छ,’ उनले भने, ‘करिब ५०/६० हजार रुपैयाँ खर्च हुन्छ।’
उनका अनुसार चौपायाको मलमूत्रबाट ४० प्रतिशत र मानवको मलमूत्रबाट ९५ प्रतिशतसम्म ग्यास निकाल्न सकिन्छ। ‘यो प्रविधि अझ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक सरकारी कार्यालय, विद्यालय, संघसंस्था, अस्पतालका शौचालयमा लगाउन सके बढी ग्यास निकाल्न सकिन्छ,’ उनले भने, ‘झारपात, परालका साथै गाईबस्तुको मलमूत्र, मानिसको दिसापिसाब र सहरको फोहोरमैला आदिबाट पनि मिथेन ग्यास निकाल्न सकिन्छ।’ उनले यसका लागि सरकारले नै चासो दिएर योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment