a
![]() |
आश्विन १६, २०७२- अन्तत: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मनको गाँठो फुकाएरै छाडे कि बुद्ध उनकै देशमा जन्मेका हुन् । न्युयोर्कबासी भारतीयलाई सम्बोधन गर्दै उनले एक कदम अगाडि बढेर उग्र आक्रोश पोखे, ‘बुद्धको मार्गमा नहिंड्नेहरूलाई बुद्धमाथि दाबी गर्ने कुनै अधिकार छैन ।’ उनले भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा संसारभरिबाट उनीमाथि खनिइरहेका नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तामाथि लक्षित थियो उनको अभिव्यक्ति । १७ वर्षपछि अचानक नेपालसँगको सम्बन्धमा नयाँ आयाम थप्न कसिएका मोदीको यो हठात निर्ममताबाट यतिबेला हामी सबजना चकित र निराश छौं ।
उनै मोदीले गत वर्ष नेपालको संसद्लाई सम्बोधन गर्दै नेपाललाई बुद्ध जन्मेको देश भनेका थिए । त्यतिबेला नेपाली सभासदहरूले यसरी टेबल ठोके, मानौं उनीहरू यति एउटा वाक्य सुन्न वर्षौंदेखि तपस्यारत थिए । मोदीको साँझको भाषणले मन्त्रमुग्ध बनेका काठमाडौंबासी भोलिपल्ट सडकमा उनीसँग हात मिलाउन तँछाडमछाड गरे । यो सबै देखिसकेपछि उमेर बढाएर खाता खोलेको मेरो १२ वर्षको छोराले फेसबुकमा लेखेको थियो, ‘मोदी आउँदा त यस्तो छ, ओबामा आएको भए के गर्दा हुन् ?’
वास्तविकता यही हो कि राजनीतिक रूपमा हामी भारतबाट वर्षौंंदेखि हेपिएका छौं । सर्वसाधारणको बीचमा भने त्यस्तो केही छैन भन्ने हाम्रो सामान्य बुझाइ छ । तर साढे दुई वर्षअघि भारतको मुम्बईमा तीन महीना बिताउँदा मैले जनस्तरमा पनि नेपालबारे थुप्रै भ्रम रहेको देखें ।
सन् २०१३ को जनवरी २१ देखि १२ अप्रिलसम्म म भारतको मुम्बईस्थित बान्द्रामा रहेको ‘एडाप्ट’ (एबल डिसेबल अल पिपल टुगेदर) भन्ने संस्थामा ‘कम्युनिटी इनिसिएटिभ्स इन इन्क्लुजन’ नामक तीनमहिने कोर्स गर्दै थिएँ । ९ देशका २० जना प्रशिक्षार्थी थियौं । एडाप्टकै होस्टेलमा बस्थ्यौं ।
मुख्य विषयबाहेक अनौपचारिक कुराकानीमा यस्तायस्ता विषय पनि आउँथे जसले मलाई मेरो राष्ट्रियताबारे थुप्रै कुरा पढाउँथे । त्यहाँ पुगेको दोस्रो दिन नै होस्टेलमा एकजना तिब्बती साथी तेन्जिनले आफू बौद्घमार्गी भएकाले माछा–मासु खान्नँ भन्दै बौद्घ धर्मबारे बताउन थाले । मैले भनें, ‘मलाई थाहा छ, म त्यही देशको मान्छे हुँ, जुन देशमा बुद्घ जन्मेका थिए ।’ म नेपाली भन्ने चिनेको उसले आँखा तन्काउँदै भन्यो, ‘हैन बुद्घ तिम्रो देशमा हैन, लुम्बिनीमा जन्मेका हुन् ।’ ‘अनि, लुम्बिनी नेपालमा त छ नि ।’ मैले यत्ति भन्न नपाउँदै उसको मुखबाट निस्किहाल्यो, ‘हैन लुम्बिनी नेपाल र भारतको सिमानामा छ कसैले पनि दाबी गर्न मिल्दैन ।’ उसले एकदमै आत्मविश्वासका साथ भनेका यी वाक्यले मलाई निकै घोच्यो । अनि सम्झाउने शैलीमा भनें, ‘हैन लुम्बिनी नेपालको क्षेत्रफलभित्र पर्छ, सिङ्गै एउटा अञ्चल हो । तिमी नेपाल आऊ, अनि थाहा पाउनेछौ ।’ यत्ति भनेर म चुप लागें । धेरै दिनपछि श्रीलंकाली बौद्धमार्गी साथी कुमुदुले आफू परिवारसहित नेपाल गएर लुम्बिनीको दर्शन गरेको कुरा सुनाई, मैले तेन्जिनतिर हेर्दै भनें, ‘देख्यौ !’
सोमबारदेखि शुक्रबारसम्मको ‘हेभी’ पढाइपछि शनिबार र आइतबार सबै साथी सहर घुमघाम गर्न जान्थ्यौं । जति मजा मुम्बई घुम्दा लाग्थ्यो, त्यसको कैयौं गुणा बढी नमजा नेपालबारे अरूले बुझेको नकारात्मक भ्रम सुन्दा । मुम्बई बोरिवलीको ‘सञ्जय गान्धी नेसनल पार्क’ घुम्दै थियौं । त्यहाँ ‘कान्हेरी केभ’ नाम गरेको ठाउँ रै’छ जहाँ ३६ वटा गुफाहरू रहेछन् । २४ सय वर्षअघि बनेको विश्वास गरिने यो गुफामा ‘गार्ड’ कम ‘गाइड’ को काम गर्ने भारत जयनगरका नवीनकुमारले हामीलाई कसरी भगवान् बुद्घ र उनका अनुयायीहरू त्यहाँ बसेर ध्यान गर्थे, उनलाई गुफाभित्र निर्माण कार्य गर्न तत्कालीन राजारानीले सहयोग गर्थे भन्ने कुरा सुनाए । उनले पनि तेन्जिनकै पारामा बुद्धबारे बताउन थालेपछि मैले त्यही भनें जुन तेन्जिनसँग भनेकी थिएँ, ‘मलाई थाहा छ यो सब, म त्यही देशकी हुँ जहाँ बुद्ध जन्मेका हुन् ।’ मेरो कुरा सुनेर नवीनकुमार अकमक्क परेको देखेर मैले प्रश्न गरें, ‘बुद्ध कहाँ जन्मेका हुन्, तपाईंलाई थाहा छ ?’ मेरो प्रश्न खस्न नपाउँदै उनले जवाफ दिए, ‘थाहा छ, कुशीनगरमा ।’ ‘धत्, होइन, नेपालमा जन्मेका हुन्’ मैले ती गाइडलाई बुझाउने शैलीमा भनें । ‘खै, यहाँ त सबैले कुशीनगरमा जन्मेका भन्छन् ।’ नेपालको जनकपुरबाट १० मिनेट मात्रैको दूरीमा घर रहेको बताउने भारत जयनगरबासी उनको यति भनाइ सुनपेछि भने मलाई दिक्क लाग्यो । ‘कति ठाउँमा कतिजनालाई भनौं म, बुद्ध नेपालमा जन्मेका हुन् भनेर ।’ आखिर कतै बहस नै निस्क्यो भने मसँग के प्रमाण छ ? कति नै अध्ययन छ र लुम्बिनीबारे मसँग ? कसरी प्रमाणित गर्न सक्छु मैले ? नेपालसँग खुला सिमाना भएको भारतमा त प्रत्येक तेस्रो व्यक्ति बुद्घ भारतमा जन्मेका हुन् भनेर सगौरव भन्छ भने भारतभन्दा परका देशसँग किन रिसाउनु ?
.....
हामीलाई अतिरिक्त अंग्रेजी पढाउने एकजना ‘बाबाजी’ नामक व्यक्ति थिए संस्थाकी अध्यक्ष मिथु अलुरका दाइ । एक समय अमेरिकी युनिभर्सिटीमा समेत पढाएका बाबाजीले पछि सन्न्यास धारण गरेका रहेछन् र दलाई लामाको संगतमा धर्मशालामा १५ वर्ष बिताएका रहेछन् । एउटा आइतबार हाजीअली जान हिंहेका बंगलादेशी साथी रासिदा र मलाई बस कुर्दै गरेको देखेर आमा भेट्न कारमा जाँदै गरेका बाबाजीले लिफ्ट दिए । हाजीअली आइपुग्ने बेला उनले भने, ‘अब यहाँबाट ‘गेटवे अफ इन्डिया’ जाऊ, ताज होटल हेर अनि त्यहाँबाट मोटरबोटमा ‘इलेफेन्टा केभ’ जाऊ । भारतीय र विदेशीलाई फरकफरक शुल्क लाग्छ । भारतीयजस्तै देखिन्छौ, कसैलाई नभन्नु भारतबाहिरको भनेर । यहाँ पैसा बचाउन आइडिया मात्रै दे’को है, सधैंका लागि हैन नि फेरि ।’ उनको यतिसम्मको जानकारी ठीकै थियो, बाबाजी सम्हालिई सम्हालिई बोलिरहेका थिए, त्यही बेला उनका ड्राइभर विश्वासले भने, ‘नेपालीलाई किन बढी पैसा लिनु, नेपाल तो इन्डिया हि है ।’ विश्वासको कुरा सुनेर मेरो पारो चढ्यो । मैले जवाफ फर्काएँ, ‘हैन नेपाल एउटा स्वतन्त्र देश हो, इन्डिया हैन ।’ उनी अझै कस्सिए, ‘आधाभन्दा बढी नेपाली त मुम्बईमै बस्छन, अनि के फरक छ र नेपाल र इन्डियामा ।’ बाबाजीले स्थिति सम्हाल्न उनको पाखुरै समातेर चुप लाग्न भने तर उनी चुप लाग्ने मुडमा थिएनन्, अझै पनि भन्दै थिए, ‘ह्वाटएभर ।’
झर्ने बेलामा विश्वासले हामीलाई भने, ‘ताज होटलमा कडा चेकिङ्ग हुन्छ तर तपाईंहरू आत्मविश्वासका साथ भित्र जानुहोला । ठट्टा पनि गरे, ‘झोलामा कुनै बम या चक्कु त छैन होला नि ?’ मैले पनि ठट्टामै जवाफ दिएँ ‘के थाहा, हुन पनि सक्छ, आखिर तपाईंले मलाई नेपाल भारतमै पर्छ भनेर रिस जो उठाउनुभयो’ र थपें, ‘अब म इलेफेन्टा केभमा त्यति नै शुल्क तिर्छु जति विदेशीका लागि लाग्छ, किनकि मेरो राष्ट्रियताको मूल्य सय रुपैयाँभन्दा धेरै छ ।’ २ दिनसम्म मैले सोचिरहें कि यदि अमेरिकामा ती ड्राइभरलाई कसैले आधाभन्दा बढी भारतीय यहीं बस्छन, त्यसैले भारत त अमेरिका नै हो भनेको भए के गर्थे होलान् ?
‘क्रूर चीनलाई नेपाली मन पराउँछन्’
बाबाजी दलाई लामालाई असाध्यै श्रद्घा गर्थे त्यसैले होला, यहाँ भएका हाम्रा तीनजना तिब्बती साथीप्रति उनी बढी नै सामीप्यता दर्साउँथे । त्यो कुनै नराम्रो लाग्नुपर्ने विषय थिएन । तर नराम्रो त्यतिबेला लाग्थ्यो जब उनी चीन तिब्बतीहरूप्रति क्रूर छ र नेपालीहरूको त्यसमा समर्थन छ जस्तो कुरा गर्थे । एक बिहान बाबाजी कक्षामा कुनै प्रसंगमा भन्न थाले, ‘चीन असाध्य क्रूर छ,’ र हाँस्दै मतिर हेरेर थपे, ‘नेपालीहरू चीनलाई मन पराउँछन ।’ तिब्बती डोल्करले हत्तपत्त भनी, ‘हो त्यसैले उनीहरू दिनदिनै चिनियाँ खाना खान्छन ।’ ‘के रे के रे ?’ मैले डोल्करको कुरा काट्दै भनें, ‘हैन, हाम्रो आफ्नै खाना छ । नेपालीहरू चिनियाँ खाना खाँदैनन्, उल्टो नेपाल त हजारौं तिब्बतीहरूको शरणस्थल हो र हाम्रो उनीहरूसँग सुमधुर सम्बन्ध छ ।’ ‘हैन मैले ठट्टा मात्र गरेको,’ डोल्करले हाँस्दै भनी ।
दार्जिलिङमा जन्मे–हुर्केका बाबाजी मजाले नेपाली बोल्थे र बेलाबेला मसँग चीन, नेपाल, तिब्बत र भारतको अन्तरसम्बन्धबारे कुरा गरिराख्थे । उनको निष्कर्ष उही हुन्थ्यो, ‘वर्षौंअघि आउटडेटेड भइसकेका माक्र्सलाई चिनियाँहरू अझै पुज्दैछन् । नेपालमा पनि यतिखेर हार्डलाइनर कम्युनिस्ट यानेकि माओवादीको शासन छ त्यसैले चीनलाई सघाउन नेपाल तिब्बतीहरूप्रति अति क्रूर बन्दै गएको छ ।’ आफ्नो १० दिने भारत बसाइकै क्रममा हामीबीच बारम्बार भइरहने छलफलका धेरैपटक साक्षी बनेका इजिप्टेली प्रोफेसर एसाम बाबाजीलाई अलि पर देखेपछि मलाई जिस्काएर खुसुक्क भन्थे ‘योर इनिमी ।’
खराब मान्छे भने लाग्दैनथे बाबाजी । उल्टो नेपालीहरू आफूलाई निकै प्रिय भएको, सानोमा आफूले बंगालीभन्दा पहिला नेपाली बोल्न सिकेको भनेर आफ्ना हजुरबाले चिन्ता मानेको जस्ता गफसमेत गर्थे मसँग । बरु उनले नेपालबारे नबुझेका हुन् कि जस्तो लाग्थ्यो । त्यसैले एक दिन यस्तै छलफलमा मैले प्रोफेसर एसामकै अगाडि बाबाजीलाई सोधें, ‘बाबाजी भुटानी शरणार्थीको कुरा थाहा छ ?’ निकै उत्सुक भएर ‘के हो ?’ भनेका उनलाई मैले त्यतिबेला भुटानी शरणार्थीबारे बेलीविस्तार लगाएँ । मेरो कुरा सुनेर बाबाजीले भने, ‘ओहो † वास्तवमा भारत त बिग ब्रदर नै बन्न खोज्छ, छिमेकीहरूसँग, लज्जित भएँ म यो सुनेर ।’ प्रोफेसर एसामले पनि सोधे उनलाई ‘भारत त यति धेरै वैदिक ग्रन्थहरूको उद्गमस्थल, यति धेरै महापुरुषको जन्मभूमि, विश्वलाई अहिंसाको पाठ सिकाउने देश, त्यस्तो देशको सरकार किन यस्तो ? के सिक्यो त यसले पुर्खाबाट ?’ बाबाजी अकमकाउँदै गर्दा मैले, ‘पानी भारतलाई बाढी नेपाललाई’ को किस्सा पनि सुनाउन भ्याएँ । जसलाई पुष्टि गर्न भोलिपल्ट नारायण ढकालको ‘शोकमग्न यात्री’ बाबाजीलाई दिंदै ‘सबभन्दा पहिला शीर्ष ‘निबन्ध ‘महाकालीको यात्रा र शोकमग्न यात्री’ पढ्नुहोला’ समेत भनें । उनले मुम्बईबाहिर जान परेकाले पढ्न पाइनँ भनेर मलाई दुई दिनपछि फिर्ता दिए किताब ।
पाइलैपिच्छे आफ्नो राष्ट्रियताको बारेमा प्रवचन गर्दै हिँड्नु कति थकाइ र दिक्कलाग्दो काम । मैले यति अर्थहीन मेहनत गर्नुपर्दैनथ्यो कि, यदि मेरो देशका जिम्मेवार व्यक्तिहरूले बारम्बार आफूले पाएको ‘फोरम’ देशका लागि बोल्न प्रयोग गरिदिएको भए ? कम्तीमा भनिदिएको भए कि ‘नेपालको भारतसँग खुला सिमाना त छ, तर यो स्वतन्त्र र सार्वभौम देश हो, विभिन्न भूभागमा बाँडिएको छ त्यसैले फरक संस्कृति, वेशभूषा र खानेकुरा छन् ।’
अनि, यो पनि बुझाइदिएको भए कति जाती हुन्थ्यो कि नेपालीहरूले चौकीदारीबाहेक अरू पेसा पनि जानेका छन् ।
a
![]() |


0 comments:
Post a Comment