कथा: छोरी

a


भाद्र २१, २०७२- “छोरी जन्मेकी छ डाक्टर साहेब, घुतुमुने।” नर्सले ल्याएर बच्ची मेरो श्रीमान्लाई थमाई। सधैँ धीर–गम्भीर रहने मेरा सिनियर सर्जन पति अलिकति मात्र मुस्कुराए। उनको कन्जुस्याइँपूर्ण मुस्कानको मेरी आमाले के अर्थ लगाउनु भयो कुन्नि, मेरो हात थामेर स्नेहमा डुबेको स्वरमा भन्नुभयो, “छोरी भई भनेर मन नखुम्च्याउनुहोला ज्वाइँसाहेब। भोलि मर्न लाग्दा आफ्नै शरीरको अंग दिएर बचाउने छोरी नै हुन्छन्। मरेपछि पिण्ड दिने छोराभन्दा ज्यूँदै हुँदा सम्मान दिने छोरी कहीँ बेस हुन्छन्।”

मेरो आँखामा आँसु भरिए।

“त्यो मलाई जति कसलाई थाहा छ र आमा !” मेरो पतिले छोरीलाई छातीमा टाँसेर मलाई हेर्दै अनुरागपूर्ण स्वरमा भने, “बस, मेरी छोरीमा पनि तपाईंकै छोरीको गुण होस्, यति भए पुग्छ।”
मैले आँखाभरि उनीहरूलाई हेरेँ। अनायासै मेरो आँखामा विगत उत्रियो।
***

दाइ र मेरो उमेरमा केवल १८ महिनाको अन्तर भए पनि हामीमाझको विभेद कुनै अन्त्य थिएन। झन् बा बितेपछि त आमाले पराकाष्टा नै गरिदिनुभयो। १२ वर्षको दाइलाई उहाँ १२ महिनाको बच्चालाई झैँ व्यवहार गर्नुहुन्थ्यो। आमाको कमजोरी बुझ्दै गएको दाइ पनि फाइदा उठाउने कुनै मौका छोड्थेन।
खेतबारी टन्नै थियो हाम्रो। खान–लाउन छेलोखेलो पुग्थ्यो। आफू खटिनचाहिँ पथ्र्यो प्रशस्तै, जुन मेरो दाइले कहिल्यै गरेन। आमा–छोरी मरेर खेतबारीमा खट्थ्यौँ। दाइ हल्लिएर समय बिताउँथ्यो।

कामको भ्याइनभ्याइ हुँदा आमा मलाई स्कुल पठा

उन खोज्नुहुन्थेन तर म लडाइँ–झगडा गरेर स्कुल जान्थेँ। आमाका लागि त दाइले पढिदिए काफी थियो। म त छोरी थिएँ, अर्काको घर जाने जात। त्यसैले मेरो लेखपढको उहाँलाई कत्ति चिन्ता थिएन। सायद, उहाँले पनि स्कुलको मुख नदेखेकाले होला।

२० वर्ष पनि नपुग्दै दाइ गाउँकी केटी टिपेर भाग्यो। ९ कक्षामा दुईपटक फेल भएपछि पढ्न छाडेर हल्लेर बसेको ऊ लगभग १० महिना घर आएन। आमा दाइको चिन्तामा मृतप्राय: हुनुभयो। उहाँलाई दाइले पढ्न नसकेकामा वा केटी भगाएकामा होइन, बरू ऊ आँखाअगाडि नभएकामा बढी चिन्ता थियो।
लगभग दस महिना घरमा मीठो चोखो पाकेन। कुनै चाडबाड मानिएन। मैले कुनै चीजको रहर गरे उहाँ रुँदै भन्नुहुन्थ्यो, “मेरो बालख छोरो कहाँ कुन ठाउँमा हन्डर खाइ’रा होला

। यसको भने मनमा अलिकति चिन्ता छैन !”

केटी लिएर भागेको लाठे छोरोका लागि उहाँको मन सधैँ रुन्थ्यो। तर, घरको खेतबारीको काममा खटिएर पनि स्कुल कलेजमा सधैँ प्रथम हुने मेरा लागि उहाँको मन कहिल्यै रमाउँथेन।

स्वास्नी काठमाडौँमै छाडेर दाइ घर फर्कंदा आमाले सिन्दुरयात्रा गराउन कसर छाड्नु भएन। उसले आमालाई फकाइफुलाइ सारा घरबार बेच्न लगाएर सबै पैसा कुम्ल्याएर काठमाडाँै फक्र्यो। रोक्न लाख कोसिस गरेँ तर सधैँझैँ मेरो केही लागेन। आमा र म उसको पछि लाग्यौँ।

थानकोटमा ६ आना जग्गामा बनेको सटर भएको घर किनेर दाइले पसल सुरु गर्‍यो। बँचेको पैसाले छेवैमा अर्को घडेरी किन्यो। हातमुख जोर्ने बाटो भएपछि मैले बीएस्सी नर्सिङ् पढ्ने इच्छा व्यक्त गरेँ। आमा, दाजु–भाउजू कोही सहमत भएनन्।

आमा सहमत नहुनुको कारण ‘जति पढिस्, त्यति नै काफी छ। अब केटा खोजेर बिहे गरेर जिम्मा लाइदिएपछि जे मन लाग्छ गर्नू !’
दाइ असहमत हुनुको कारण ‘फिस कसले तिर्छ?’
भाउजू असहमत हुनुको कारण ‘घरधन्दा कसले हेर्छ? पसलको हिसाबकिताब कसले हेर्छ?’
मैले कसैको कुरा सुनिनँ। दाइसँग एकान्तमा भनेँ, “मेरो बिहे नै गर्ने हो भने पनि त खर्च लाग्छ !दु:खसुख मेरो पढाइ सुरु गराइदे, म तँमाथि बोझ बन्दिनँ। काम खोज्छु। फुर्सदको बेला यही पसलमा काम गर्छु। मेरो बिहेको खर्च म आफैँ जोड्छु, तेरो सुको खर्च गराउँदिनँ, सत्ते। ” दाइले मनमा गुन्यो। भाउजूसँग सल्लाह गर्‍यो अनि ठूलो खर्चको अनुपातमा सानो खर्च चुन्यो। मेरो कलेजको फिस तिरिदियो।

चार वर्ष बित्यो। मैले ट्युसन पढाएँ। रेस्टुराँ र पसलमा काम गरेँ। भाउजूको गर्नु चाकरी गरेँ। अनि, डिस्टिङ्सन ल्याएर नर्सिङ् सकेँ र काम सुरु गरेपछि अस्पतालनजिकै बनेपा सरेँ।

भाउजू खराब थिइनन्। अति अल्छी र कन्जुस मात्रै थिइन्। त्यसैले म नभएपछि आमाको थाप्लोमा अझै काम थुप्रियो। त्यसै पनि गाउँ छाडेदेखि आमा घटेर आधा हुनुभएको थियो। डाइबिटिजकी रोगी आमा डाक्टर देखाउन पटक्कै मान्नुहुन्थेन। त्यसमाथि दाइ–भाउजू एक पैसा खर्च भइहाल्छ कि भनेर त्राहिमाम रहन्थे सधैँ। म जसरीतसरी उहाँको देखभाल गर्थें। कामको सबै बोझ आफ्नो थाप्लोमा लिने कोसिस गर्थें। तर, म बनेपा सरेपछि आमाले नै सिंगो घरको र नातिनातिनाको रेखदेखको जिम्मेवारी बोक्नुपर्‍यो।

पाँच वर्षको बीचमा जन्मेका दाइका तीनवटा सन्तानका लागि भाउजूको योगदान बस् यति नै थियो कि उनले तिनलाई जन्म दिइन्। बाँकी त कि मैले, कि आमाले उनीहरूको हेरचाह गर्‍यौँ। अब भाउजू फेरि दुई जीउकी थिइन्।

मैले आमालाई आफूसँगै सर्ने आग्रह पनि गरेँ तर न आमाले छोरा छाड्न सक्नुहुन्थ्यो, न भाउजू एक्लै घर र केटाकेटीलाई सम्हाल्न सक्थिन्। म चिन्तित मनले बनेपा सरेँ।

अर्को एक वर्ष बित्यो। मसँगै अस्पतालमा काम गर्ने एक जना सर्जन मप्रति सिरियस्ली आकर्षित भए र बारम्बार विवाहको प्रस्ताव राख्न थाले। पहिले त मैले त्यसै टार्न खोजेँ तर फेरि उनको सबै कुरा बुझिसकेपछि म राजी भएँ। तर, त्यसभन्दा पहिले मैले आफ्नाबारे सबै कुरा नढाँटी उनलाई सुनाएँ र बिहेमा खासै तडकभडक गर्न नसक्ने बाध्यता बताएँ। यो पनि उनलाई सहर्ष स्वीकार थियो। अब मैले आमा र दाइसँग कुरा गर्न जाने मन बनाएँ। यसै पनि तीन महिना भइसकेको थियो, म उता नगएको। तर, म उता जानुभन्दा पहिल्यै दाइको फोन आयो। आमा टिचिङ अस्पतालमा हुनुहुन्थ्यो। म हतारिँदै अस्पताल पुगेँ। आमाको अवस्था देखेर म सारो डराएँ। हाड र छाला मात्र बँचेकी आमाको दुवै किड्नी ड्यामेज थियो।

किड्नी खोज्ने कुरा चलेपछि पैसाको कुरो चल्यो। पैसाको कुरो चलेपछि दाइले सीधै भन्यो, “मेरो यत्रो परिवार छ, पसलको कमाइले जसोतसो मुखमा माड लाइदिन सकेको छु। मसँग एक पैसो आश नराख !” मैले अविश्वासपूर्वक उसलाई हेरेँ।

“दाइ ! गाउँको सारा श्रीसम्पत्ति बेचेर यहाँ घरबार र व्यापार जोडेको छस्। म र आमाका लागि एक सुको खर्च गर्नुपरेन। मसँग भए म झिक्थेँ तर मैले पनि त काम सुरु गरेको धेरै भएको छैन। त्यत्रो पैसा म एक्लै कहाँबाट झिकौँ?” मैले भनेँ।

“बाउको सम्पत्तिमा छोराको त हक लाग्छ नि, अब के तँ पनि अंश खोज्न थालेकी?”
ऊ जंगियो।
“बिस्तारै बोल् दाइ !” मैले सेटेटिभको असरले निदाइरहनुभएकी आमाको अनुहार हेरेर दबेको स्वरमा भनेँ, “अंश खोजेको हैन मैले । तँलाई थाहा छ, बाको सम्पत्तिमा आमाको पनि त हक लाग्छ। तैँले एक शब्द भनेको भरमा आफू जन्मी–हुर्केको गाउँघर, इष्टमित्र चटक्क छाडेर श्रीसम्पत्ति तँलाई सुम्पेर आमा तेरो पछि लागेर यहाँ आउनुभयो। तँलाई गाह्रो होला भनेर कस्तै बिरामी हुँदा पनि तँसँग कहिल्यै केही भन्नुभएन। अहिले पनि त्यसरी नढलेकी भए कसैले थाहा पाउँथेन उहाँको व्यथा। दाइ यस्ती आमाको त हक लाग्छ नि होइन बाको सम्पत्तिमा?” मेरो गला रुँघियो।

“हक लाग्छ भनेर म के सबै आमाको उपचारमा खर्च गरेर पाटीमा गएर बसौँ?” ऊ झर्कियो। म चकित परेर उसलाई हेरिरहेँ।

दाइकै कारण मेरो र आमाको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन। मलाई लाग्थ्यो उहाँ दाइ र ममा पक्षपात गर्नुहुन्थ्यो। उहाँलाई लाग्थ्यो, म दाइको रिस गर्थें। आमा र म सधैँ यो कहिल्यै नटुंगिने विषयमा विवाद गथ्र्यौं। तर, उहाँ बिरामी हुन थालेदेखि मैले केही भन्न छाडेकी थिएँ।

यो त्यही दाइ थियो, जसका लागि आमा सधैँ मर्न–मार्न तयार हुनुहुन्थ्यो। गाउँमा दाइलाई मन पराउने मान्छे कमै थिए। अनि, ती सबै आमाका शत्रु थिए। म साक्षी थिएँ, १० महिना दाइ नहुँदा आमाको हालत। उहाँ टकटकी हात बाँधेर हरक्षण गाउँमा आउने–जाने बाटो निहारी रहनुहुन्थ्यो। मेरो परीक्षाको बेलासमेत मट्टीतेल खर्च हुन्छ भनेर बत्ती बालेर पढ्न नदिने आमा सधैँ ढोकाछेउ एउटा बत्ती बालेर राख्नुहुन्थ्यो त्यसताका। न आफू मीठो खानुहुन्थ्यो, न मलाई खान दिनुहुन्थ्यो। छोराका लागि मर्न तयार आमाका लागि छोरासँग आमाको उपचार खर्च थिएन। जबकि, गाउँबाट ल्याएर किनेको उसको घरकै मोल आज आठ गुणा बढेको थियो। अर्को घडेरीको पनि उत्तिकै पथ्र्यो।

“त्यसो भए घडेरी बेच्।” मैले सजल आँखाले उसलाई हेर्दै भनेँ।
“भाउजूका नाममा छ,” उसले दबेको स्वरमा भन्यो, “त्यसमाथि त्यो भएको एउटा घडेरी बेचेर म छोराछोरीको पढाइलेखाइ कसरी गर्छु?” मैले रिसले आँखा देखिनँ।
“त्यसो भए तँ तेरो एउटा किड्नी दे आमालाई, म बाँकी खर्च बेहोर्छु !”

“बहुलाइस् कि क्या हो?” उसले तीव्र स्वरमा भन्यो, “भर्खर २६ वर्षको पनि भा’छैन म। घरमा चार–चारवटा सन्तान र जवान जहान छे। तँ कसरी सक्छेस् मलाई अंगभंग हो भन्न?”
“एउटा किड्नी नहुनु अंगभंग हुनु होइन फेरि !”
“भए पनि, एउटा मर्न लागेको मान्छेका लागि सद्दे मान्छे काटकुट पार्नू?”
“बस् गर् दाइ †” मैले रुँदै भनेँ, “आमा मरिहाल्नु हुन्न यति सजिलै, हामी भएको के काम लाग्यो त्यसो भए?”
“हामी के गर्न सक्छौँ? बाँची त हाल्नुभयो उहाँले आफ्नो जीवन। नातिनातिनाको मुख देखिहाल्नुभो। अब चिरफार गरेर किन उहाँको परत्र बिगार्नू? बरू काजकिरिया राम्ररी गरिदिउँला। अस्तु काशी पुर्‍याइदिउँला। त्यसभन्दा अरू के चाहियो?”
“निस्की, तुरुन्तै बाहिर निस्की !” म क्षुब्ध स्वरमा कराएँ, “१२/१३ वर्षको उमेरमा बिहे भएर, सबै खटन खाएर, बालिग नहुँदै दुईवटा सन्तान जन्माएर, कलकलाउँदो उमेरमा विधवा भएकी, ५० वर्ष पनि नपुगेकी आमालाई जिन्दगी दिनुको सट्टा दागबत्ती दिने कुरा गर्ने तँजस्तो लाछीको कुनै मद्दत मलाई चाहिएन। मै दिन्छु मेरी आमालाई किड्नी। तँ निस्की यहाँबाट र गएर स्वास्नीको काखमा घुस्रिएर मर्। फर्केर नआइज यहाँ अब !” मैले आँसु पुछेँ।

“तेरो त बिहे पनि भा’छैन,” उसले उठ्दा उठ्दै भन्यो, “जोसमा आएर कुनै निर्णय नगर् ! मर्नेसँगै आफू पनि मर्न सकिँदैन, जतिसुकै माया लागे पनि। भोलि बिहे गर्ने कोही निस्केन भने के गर्छेस्?”

मैले आँसु पुछेँ अनि दृढ स्वरमा भनेँ, “कसैको स्वास्नी बन्नुभन्दा पहिले छोरी त बन्न सकौँ। मलाई जन्म र जिन्दगी दिनेको भारा त चुकाउन सकौँ † त्यसपछि सोचौँला। छोरी नै हुन सकिनँ भने स्वास्नी कसरी हुन्छु? आमा कसरी हुन्छु? तँ जा दाइ। हाम्रो चिन्ता नगर !” ऊ हिचकिचाउँदै बाहिर निस्कियो।
मैले देखेँ आमाको बन्द आँखाको कापबाट दुई ढिक्का आँसु गालामा गुल्टिए ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment