a
|
आश्विन २२, २०७२- कांग्रेसले एमाओवादीसहित मधेश केन्द्रित दलहरुसँग छलफल गरेपछि मात्रै सरकारको नेतृत्वका लागि दावी गर्ने या नगर्ने निर्णय लिने भएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीले नै सरकारको नेतृत्व लिनुपर्ने पक्षमा बहुमत देखिए पनि त्यसका लागि एमाओवादीको समर्थन प्राप्त हुने भएमात्रै पार्टीले उम्मेदवार दिने निष्कर्षमा कांग्रेस पुगेको हो ।
शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सरकारको नेतृत्व लिने र पार्टीभित्रै कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा औपचारिक निर्णय गर्न सकेन । बैठकमा सदस्यहरुले यी दुवै बिषयको निर्णय लिन माग गरेपछि कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाले सरकारको नेतृत्वका लागि कांग्रेसले पहल थाल्ने बताउँदै तीन जनामध्ये जसको नेतृत्वमा सरकार बन्न सक्ने अवस्था हुन्छ त्यसैको आधारमा निर्णय हुने जानकारी गराएका थिए ।
उपसभापति रामचन्द्र पौडेलले भने आफ्नो नाममा केन्द्रीय कार्यसमितिबाटै निर्णय लिईनुपर्नेमा जोड दिएका थिए । कोइरालाले अन्य दलसँगको छलफलपछि निर्णय गर्ने बताए । महामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र सहमहामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा आएको राय अनुसार अन्य दलसँग छलफल गर्ने र त्यसपछि निर्णय लिइनु उपयुक्त हुने बताएका थिए ।
बैठक लगत्तै सरकार निर्माणका बिषयमा कांग्रेस र एमाओवादीबीच छलफल भएको छ । कांग्रेससँग छलफल गर्नुअघि एमाओवादीले १६ बूँदे सहमति निर्माण हु‘दा भएको भद्र सहमति अनुसार नै तीन दलसहितको सयुक्त सरकार निर्माण हुनुपर्ने निर्णय लिएको थियो ।
प्रत्यक्षरुपमा एमालेलाई समर्थन जनाउने गरी निर्णय नभएको भन्दै एमाओवादीले कांग्रेसलाई समर्थन गर्ने ठाउँ राखेको कांग्रेस नेताहरुको दावी छ । एमाओवादीको समर्थन प्राप्त गर्नसके मधेश केन्द्रित दलको पनि समर्थन पाउन सकिने कांग्रेसको बुझाई छ ।
एमाओवादीसँगको छलफलमा कांग्रेस नेताहरुले संविधान संशोधन, मधेशको जारी आन्दोलनको समाधान र अघोषित भारतीय नाकाबन्दीले चिसिएको भारतसँगको सम्वन्ध सुधार गर्ने एजेण्डाका लागि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्न्नुपर्ने तर्क गरेका थिए । यी एजेण्डामा एमालेभन्दा एमाओवादीसँग मिलेर जान सकिने कांग्रेसको ठम्याई छ । ‘एमाओवादी र मधेश केन्द्रित दलसँग सकारात्मक छलफल भइरहेको छ,’ कांग्रेसको उच्च स्रोतले भन्यो, ‘भोलि कांग्रेसले उम्मेदवार दिन सक्छ ।’
छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहलले अधिकतम सहमति जुटे कांग्रेस नेतृत्वलाई समर्थन जनाउन सकिने धारणा राखेका थिए । एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले एमाओवादीले गरेको निर्णयका बारेमा कांग्रेसलाई जानकारी गराईएको बताए । उनले तीन दलको एकता कायम राख्दै अधिकतम सहमतिको सरकार बन्नुपर्ने र आफ्नो पार्टी सरकारमा सहभागि हुन पार्टीले तय गरिएको नीतिगत आधारका ८ बू‘ंदाका बिषयमा छलफल भएको बताए ।
कांग्रेस नेता विमलेन्द्र निधिले मनोनयनका बेलासम्म कांग्रेसले उम्मेदवार दिन सक्ने बताउँदै एमाओवादीसहित अन्यदलसँगको छलफलपछि मात्रै पार्टीबाट को उम्मेदवार हुने भन्ने विवाद टुंगिने बताए । ‘शेरबहादुरजीले हामी तीनमध्ये जसको नाममा सहमति हुने अवस्था हुन्छ, उसैलाई उम्मेदवार बनाउने भन्नु भएको छ,’ निधिले कान्तिपुरसँग भने, ‘संसदीय दलको निर्वाचन गरेर तय गर्ने या केन्द्रीय कार्यसमितिले निर्णय उम्मेदवार बनाउने भन्ने बिषय तीन नेताको जिम्मामा छ ।’ देउवा र उनी पक्षीय केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यसमितिको बैठकमा संसदीय दलको नेताको निर्वाचन गराएर विवादको छिनोफानो गर्नुपर्ने बताएका थिए ।
नेता निधिले संविधान जारीपछिको कार्यन्वयन चरणमा मधेश आन्दोलन, संविधान संशोधन र भारतसँगको सम्बन्ध प्राथमिक चूनौति रहेको बताउँदै यी तीनै बिषयलाई सम्वोधन गर्न एमालेसँग आधिकारिक कार्यसूचि नभएको बताए । ‘एमालेसँगको साझेदारीमा जानुभन्दा नयॉ समकरणको आधार खडा गर्नुपर्छ,’ उनले भने, ‘अबको समस्या समाधान गर्न पनि कांग्रेसको नेतृत्वमा अधिकतम सहमतिकै सरकार बनाउनुपर्छ ।’
कांग्रेस भएन भने एमाओवादी : गगन
कांग्रेस नेतृत्वमा सरकार बन्न नसकेमा एमाओवादी नेतृत्वमा सरकार बनाउन पनि नेतृत्व तयार हुनुपर्ने धारण केन्द्रीय सदस्य गगन थापाले राखेका छन् । सरकार निर्माणका लागि कांग्रेसले एजेण्डा तय गर्नुपर्ने र त्यसका आधारमा सरकार निर्माणको पहल थाल्नुपर्ने बताउँदै थापाले भने, ‘हाम्रो प्रस्ताव मान्छ र देशले स्वाभीमान कायम राख्दै निकास पाउने अवस्था रहन्छ भने किन एमाअोवादी नेतृत्वमा सरकार नबनाउने ?’ थापाले तीन दलको एकताको अमुर्त कुरा गरेर मात्रै नहुने भन्दै त्यसको उद्देश्य प्रष्ट नभएको बताए ।
कांग्रेसको कार्यसूचिलाई एमालेले स्वकार्छ, घरभित्रको आन्दोलन, संविधान संशोधन, राष्ट्रिय अस्मितालगायत नाकाबन्दीको बिषयमा कुरा मिल्छ भने एमाले नेतृत्वलाई सहयोग गर्न सकिने बताउँदै थापाले भने, ‘तर एमाले नेतृत्वको सकारमा कांग्रेस जान हँुदैन ।’
थापाले बर्तमान प्रधानमन्त्री सुशील कोइरालाले दोर्याएर प्रधानमन्त्री बन्न नहुने धारणा पनि राखेका छन् । संविधान जारी गरेपछि प्रधानमन्त्री छाड्ने बताउँदै आएकाले पनि प्रधानमन्त्री बन्न नहुने उनको धारणा थियो । थापाले सरकारको नेतृत्वका लागि अन्य दलको समर्थन खोज्नु अघि राष्ट्रिय अस्मिता जोगाउन, नेपालले भोगिरहेको नाकाबन्दी, मधेश आन्दोलन र संविधान संशोधनलगायत संविधान कार्यन्वयनको बिषयमा पार्टीले स्पष्ट कार्यसूचि ल्याउनु पर्ने बताएका थिए । त्यसैको आधारमा सरकार निर्माणका लागि अग्रसर हुन थापाले नेतृत्वलाई सुझाएका थिए ।
a
|
0 comments:
Post a Comment