नाकामै कुहिए सामान ।

a


आश्विन १६, २०७२- भारतले गरेको अघोषित नाकाबन्दी जारी रहँदा पूर्वी नाकाहरू थप प्रभावित बनेका छन् । तेस्रो मुलुक र भारतबाट समेत आयात गरिएका मालसामान भित्रन पाएका छैनन् । कतिपय कुहिएर नष्ट हुने सामान पनि भित्र्याउन दिइएको छैन । विराटनगरबाट विनोद भण्डारी, झापाबाट पर्वत पोर्तेल र इलामबाट विप्लव भट्टराई लेख्छन्—
विराटनगर भन्सारका अधिकारीले जोगबनी नाकाका समकक्षीलाई बुधबार साँझदेखि भन्सार जाँचपास भएका मालवाहक ट्रकलाई नेपाल पठाइदिन आग्रह गर्दै आएका छन् । तर हरेक दिन हुन्छ भन्दै टार्दै आएका छन् । उनीहरूले मंगलबार साँझसम्म एउटा पनि मालवाहक ट्रकलाई विराटनगर प्रवेश गर्न दिएका छैनन् । जाँचपास भइसकेका ट्रकका कागजपत्र समेत उनीहरूले थुतेर राखेका छन् ।
जोगबनी भन्सारले कुहिएर नष्ट हुने सामानसमेत आउन नदिँदा करोडौं मूल्यका फलफूल, आलु, लसुन, प्याज, माछा, टमाटर लगायत कृषि उपज कुहिएको विराटनगर भन्सार एजेन्ट संघले जनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की पनि भारतीय समकक्षीसँग जोगबनी नाकाबाट अवरुद्ध आयात निर्यात सहजताका लागि वार्ता गर्नुको कुनै अर्थ नरहेको बताउँछन् । अररियाका डीएम हिमांशु शर्मासँग यो विषयमा आफूले दुई/तीन पटक कुरा गर्दा जानकारी नै नभएको रेडिमेड जवाफ दिएको उल्लेख गर्दै कार्कीले भने, ‘यो विषयमा समकक्षीसँग कुरा गर्नुको कुनै अर्थ छैन ।’ मस्याको समाधान स्थानीय स्तरबाट सम्भव नहुने उनको भनाइ छ । नाकामा खटिएका भारतीय सीमा सुरक्षा बलका जवानले जोगबनी जाने र फर्कने सर्वसाधारणको चेक जाँचमा कडाइ गरेको छ ।
बुधबार साँझदेखि भारतले अघोषित नाकाबन्दी गरेपछि भन्सार जाँचपास भइसकेका १ सय ६ वटा मालवाहक ट्रकसहित तेस्रो मुलुकबाट औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान लिएर नेपाल आएका झन्डै १ हजार ट्रक भारतीय क्षेत्रमा रोकिएका छन् । विराटनगर भन्सारका निमित्त प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘हामीले ती ट्रकको पूर्ण सुरक्षाको ग्यारेन्टी लिन्छौं । पठाइदेऊ भन्दा हुन्छ भन्छन् । तर, पठाउँदैनन् ।’
भारतीय एक अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै मालवाहक ट्रक भित्रिन नदिएको उनको बुझाइ छ । ढुंगानाका अनुसार मालवाहक ट्रक पठाउने नपठाउने बारे छलफल गर्न यहाँ आउने भनेर उनीहरूले तीन दिनदेखि ढाँट्दै आए । मंगलबारदेखि सम्पर्कमै आउन छाडे । उनले भने, ‘हामी अहिलेको स्थितिमा जोगबनी भन्सार जान सक्ने स्थिति नै छैन ।’ दुई दिन पहिला प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेत वार्ताका लागि जोगबनी भन्सार जाँदै गरेको अवस्थामा अवरोध भएपछि फर्किएका थिए ।
जोगबनी नाकाबाट औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान मात्र नभएर कुहिएर नष्ट हुने सामान र औषधिसमेत भित्रिन दिएका छैनन् । सागसब्जी र फलफूल ठेलामा समेत ल्याउन दिएका छैनन् । उनका अनुसार साजसब्जी र फलफूलका व्यापारीले एक एक बोरा बोकेर विराटनगर भित्र्याउने गरेका छन् । करिब ३ सय ट्रक अटाउने भन्सारको यार्डमा अहिले रिलायन्स स्पिनिङका मेसिनरी सामान लोड गरिएका सात वटा भारतीय नम्बर प्लेटका ट्रक र करिब ५० नेपाली नम्बर प्लेटका खाली ट्रक छन् ।
जोगबनी भन्सारका अधिकारीहरूले भन्सार एजेन्टले जाँचपास नगर्दा र ढुवानी व्यवसायीले सुरक्षाका कारण ढुवानी नगर्दा निकासी रोकिएको भनेर पन्छिँदै आएको ढुंगानाको भनाइ छ । जोगबनी भन्सारका अधिकारीहरू एजेन्ट र ढुवानी व्यवसायीलाई दोष देखाउँछन् । एजेन्ट र ढुवानी व्यवसायीहरू भन्सार कर्मचारीले आफूहरूलाई स्थिति सहज नभएसम्म कार्यालय नै नआउन निर्देशन दिएको बताउँछन् । उनले भने, ‘जोगबनी भन्सारका कर्मचारी, एजेन्ट र ढुवानी व्यवसायीले एकले अर्कोलाई देखाएर आयात ठप्प गर्दै आएका छन् ।’
नेपालको संविधान जारी हुनुभन्दा एक दिन अघिसम्म मधेसी मोर्चाको बन्द अवस्थामा पनि जोगबनी भन्सार कर्मचारीले राति १० बजे जाँचपास गर्दै आएका थिए । नाकाबन्दीले दैनिक साढे ५ करोड राजस्व असुली गर्दै आएको विराटनगर भन्सारको राजस्व असुली बिहीबारदेखि शून्य छ । भारतीय क्षेत्रमा नकारात्मक हल्ला फिँजिएका कारण पनि ढुवानी व्यवसायी त्रसित हुँदा आयात निर्यात प्रभावित भएको विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको भनाइ छ । अघोषित नाकाबन्दीले रेलबाट ल्याइएका करिब १ हजार ट्रक सामान रेल्वे परिसरमा अलपत्र छन् । ती सामानको सुरक्षा छैन । १ हजारभन्दा बढी मालवाहक ट्रक भारतीय सडकमा रोकिएका छन् । उनले भने, ‘कुहिएर जाने कृषि उपजसमेत नाकाबाट भित्रिन नदिँदा करोड मूल्य बराबरका फलफूल, आलु, प्याज, लसुन, टमाटर, माछालगायत वस्तु कुहिएर नष्ट भइसकेका छन् ।’
पूर्वी नाका पारि कन्टेनरको लाम
भारतले नाकाबन्दी नगर्दाको समय हो भने यतिबेला झापाको काँकडभिट्टास्थित मेची भन्सार परिसर भारत तथा तेस्रो देशबाट आयातित कन्टेनरले भरिभराउ हुन्थ्यो । अहिले सुनसान छ । कारोबारै नभएपछि भन्सारका कर्मचारी पनि फुर्सदिला बनेका छन् । ‘पहिला भ्याई नभ्याई हुन्थ्यो,’ तथ्यांक शाखाका कर्मचारी सुरज तिम्सिना भने, ‘अहिले फाट्टफुट्ट मात्रै काम भएको छ ।’ मालवस्तुले भरिभराउ हुने भन्सारका सबै गोदाम (यार्ड) पनि खाली छन् ।
भन्सारको तथ्यांकअनुसार विगतमा दैनिक १ देखि डेढ सयसम्म कन्टेनर तथा ट्रक आयात हुने यो नाकामा अहिले चाप छैन । ‘भन्सार पहिला जस्तो व्यस्त छैन,’ प्रमुख भीमप्रसाद अधिकारीले भने, ‘अहिले भन्सार पनि फुर्सदिलो छ । हामी पनि ।’ अधिकारीका अनुसार कार्यालय खुलै भए पनि कारोबार नहुँदा सुनसान बनेको छ । नाकाबन्दी कारण भन्सारले यो महिना लक्ष्यअनुसार राजस्व असुली गर्न नसक्ने पक्का छ ।
असोजमा साढे ८२ करोड रुपैयाँ राजस्व असुली लक्ष्य राखेकामा अहिलेसम्म साढे ७ करोड मात्रै असुलेको छ । नाकाबन्दी खुलाउन भन्सार प्रमुख अधिकारीले भारतको पानीट्यांकी भन्सारका समकक्षीसँग पटकपटक कुरा गरेको बताए । ‘तर, उनीहरू सकारात्मक बन्न सकेका छैनन्,’ उनले भने । भारतले अहिलेसम्म सबभन्दा बढी कुहिएका तरकारी र फलफूल मात्रै पठाएको छ । भन्सारका अनुसार ७ दिनमा आलु, प्याज, तरकारीजन्य वस्तु र माछासमेत गरी करिब ४० ट्रक कुहिएका र कुहिने अवस्थाका सामान पठाएको छ ।
लामो समयदेखि भारतको पानीट्यांकी भन्सारमा रोकिनुपरेकाले तरकारीजन्य वस्तु र फलफूल कुहिएर प्रयोग गर्नै नमिल्ने अवस्थामा छ । ‘आलु कुहिएर ट्रकै गन्हाउन थाल्यो,’ बंगलादेशबाट आलु लिएर आएको एउटा ट्रकका सहचालक तपस वर्मननले भने । मेची भन्सार कार्यालयका अनुसार बिहीबारदेखि मंगलबारसम्म करिब ८० वटा ट्रक, कन्टेनर तथा पिकअप भ्यान भित्रिएका छन् । अधिकृत दीपेन्द्र झाका अनुसार मंगलबार आलुका र क्लिंकरका ४/४, रोजिनका २ तथा चुना, कोइला, तरकारी, खरानी प्याजका १/१ ट्रक तथा पिकअप मालवस्तु भित्रिएको छ । ‘एकै दिनमा भित्रिने मालवस्तुलाई ४/५ दिन लागिरहेको छ,’ झाले भने ।
‘अब त सहज होला भनेको झन् कडाइ सुरु भयो,’ स्थानीय भन्सार एजेन्ट रोशन अग्रवालले भने, ‘व्यापार चौपट भइसक्यो ।’ अग्रवालका अनुसार एसएसबीले एउटा कन्टेनर जाँचमै २ देखि ३ घण्टा लगाइदिन्छ । नेपाल छिर्न नपाएर थन्किएका कन्टेनरहरूको संख्या थपिएको थपियै छ । मंगलबार साँझसम्म करिब १ हजार कन्टेनरहरू थन्किएका छन् ।
पशुपतिनगर भन्सार सुनसान
कुनै बेला पूर्वी पहाडमा उत्पादित नगदेबालीले भरिएका ट्रकको लाइन लाग्ने पशुपतिनगर नाका सुनसान बनेको छ । अहिले भइरहेको भारतको अघोषित नाकाबन्दी या अरू कुनै कारणले भने यो अवस्था आएको होइन । झन्डै एक दशकदेखि यो नाका आउजाउ, सामान्य सामग्री निर्यात र आयातमा मात्र सीमित छ । यो नाकाबाट सामग्री ल्याउने लैजाने क्रम घटेपछि यसको प्रत्यक्ष असर स्थानीय, जिल्लावासी र मेचीका पहाडी जिल्लाका बासिन्दालाई नै परेको हो ।
भारतले नाकामा चेकपोस्ट मात्र राखिदिएकाले ठूलो मात्रामा सामग्री भारत निर्यात र आयात हुन सक्दैन । यहाँको विकल्पमा भारतले पानीट्यांकी नाकालाई प्रयोगमा ल्याउन थालेपछि सिंगो पशुपतिनगरको चाम घटेको हो । अहिलेको अघोषित नाकाबन्दी या तराई आन्दोलनले नाका ठप्प भएको अवस्थामा पनि यहाँको नाकामा खासै प्रभाव छैन । तर, यो नाकाबाट ल्याइने लैजानले सामग्रीले यहाँको अवस्था थेग्न सक्दैन । ‘यो नाकालाई प्रभावकारी बनाउने हो भने पूर्वको पहाडी क्षेत्रका बासिन्दालाई ठूलो राहत मिल्ने थियो,’ भन्सार अधिकृत प्रकाश पोख्रेलले भने ।
नेपालतर्फ भन्सारसहित पशु क्वारेन्टाइन सञ्चालित छ । आवश्यक परे प्लान्ट र फुड क्वारेन्टाइन राख्न सकिने उनले जानकारी दिए । मानेभञ्ज्याङ, तुम्लिङ र छब्बिसे छोटी भन्सारको अवस्था पनि उस्तै छ । सीमा नाकामा भारतीय सीमा सुरक्षा बल आउनुअघि आपसी सहमतिको आधारमा काँकडभिट्टाबाट कागजात बनाएर ठूलो परिणाममा सामग्री ल्याउने लैजाने गरिएको स्थानीय बताउँछन् ।
एसएसबी क्याम्प स्थापना भएपछि यो नाका नभएको भन्दै ठूलो परिणाममा सामग्री जान नदिएको उनीहरूको भनाइ छ । अहिले यो नाकाबाट सामान्य दाल चामाल आयात हुन्छ भने सागसब्जी, घिउ, छुर्पीलगायत सामग्री मात्र निर्यात हुने गरेको छ । ‘अहिलेको अवस्था विकल्पका रूपमा पनि यो नाका प्रयोगमा हुने गरी सञ्चालन हुनुपर्छ भन्नेमा छौं,’ पशुपतिनगर उद्योग वाणिज्य संघका पूर्वसचिव मिलन क्षेत्रीले भने, ‘यो भन्सार सक्रिय रहने हो भने पूर्वी पहाडमा फस्टाएको नगदेबाली खेतीलाई पनि उल्लेख्य टेवा पुग्ने थियो ।’
भारतीय क्षेत्रमा पशुपति फाटकबाट सात किलोमिटरभित्र सुखियामा मात्र कस्टम कार्यालय बसेको छ । यहाँको भन्सार निस्प्रभावी बनेसँगै अत्यधिक चहलपहल हुने पशुपतिनगर बजारको चाम घटेको छ । ‘बजारको चाम घटेकै कारण व्यपारी विस्थापित हुने क्रम छ,’ पशुपतिनगर उद्योग वाणिज्य संघका सचिव दिलीप जोशीले भने, ‘चाइनिज र फरेन सामग्रीका लागि यो बजार प्रख्यात थियो ।’ यो भन्सारले गएको वर्ष भन्सार दस्तुर, अन्त:शुल्क, मूल्य अभिवृद्धि कर, लिलामी लगायतबाट १० करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment