नाकाबन्दी यता ५० उडानबाट इन्धन ल्याइयो

a


कार्तिक २७, २०७२- भारतले गरेको आर्थिक नाकाबन्दीयता नेपाल वायु सेवा निगम (नेवानि) का बोइङले कोलकाताबाट ५० वटा उडान गरेर कम्तीमा पनि ११ लाख लिटर हवाई इन्धन (एटीएफ) आयत गरिसकेको छ । निगमका प्रवक्ता रामहरि शर्माका अनुसार बुधबार लक्ष्मीपूजाका दिनसम्म नेवानिका दुइटा बोइङ ७५७ ले भारतको कोलकाताबाट मात्रै ५० वटा उडान गरी यत्रो परिणाममा इन्धन ल्याएको हो । नेवानिले असोज २१ गतेदेखि हवाई इन्धन आयात गर्न थालेको हो ।
हालसम्म ल्याइएको मध्ये करिब ७ लाख ५० हजार लिटर आयल निगमका लागि ल्याइएको हो भने बाँकी साढे ३ लाख लिटर आफ्नै जहाजका लागि भएको विमानस्थलको निगम डिपो प्रमुख प्रदीप यादवले बताए । उनका अनुसार, हालसम्म ल्याइएको हवाई इन्धनमध्ये अधिकांश आन्तरिक उडानमा हेलिकप्टर र विमानलाई बिक्री गरिएको थियो । करिब एक लाख लिटर विदेशी विमानलाई बिक्री गरिएको थियो ।

यसैबीच तिहारसम्मलाई निगमले आन्तरिक विमानका लागि हवाई इन्धन पुग्ने भनेको छ । बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार हाल हवाई भाडा पनि दोब्बर हाराहारी वृद्धि भएको र तिहार लागेकाले यात्रुको चाप दसैंको दाँजोमा घटेको छ । यात्रु घटेकाले उडान संख्या पनि पातलिएको जोशीले बताए । यसैबीच दसैं बेला ६० देखि ७० हजार लिटर हवाई इन्धन बिक्री गरेको डिपोले तिहारसँगै बिक्री पनि घटेको भनेको छ । उसका अनुसार मंगलबार ४५ लिटर हवाई इन्धन बिक्री गरिएको थियो भने बुधबार दिउँसोसम्म ३५ हजार लिटर मात्रै बिक्री भएको डिपोले जनाएको छ ।

वायुसेवा सञ्चालक संघका कार्यकारी निर्देशक कमलेशकुमार वर्माका अनुसार इन्धन अभावका कारण आइतबार देशभरको आन्तरिक उडान करिब करिब नब्बे प्रतिशत कटौती भए पनि सोमबारयता इन्धन आपूर्ति सहज हुँदै गएपछि आन्तरिक उडान पनि सामान्य लयमा फर्किन थालेका छन् । यती एयरलायन्सका मिडिया म्यानेजर भीमराज राईका अनुसार तिहार सुरु भएपछि आन्तरिक यात्रुहरूको मुभमेन्टमा कमी आएको छ । हवाई भाडा वृद्धिको असरले पनि मुभमेन्टमा प्रभाव पारेको छ । इन्धन अभाव भएपछि एयरपोर्ट डिपोले सोमबारदेखि आन्तरिक उडानमा रहेका वायुसेवा कम्पनीलाई उडान र जहाज संख्याका आधारमा हवाई इन्धन भागबन्डा गरी बिक्री गरेको थियो । तर, नेवानीका बोइङले इन्धन आयत दर बढाएपछि जहाज र उडान संख्याको आधारमा बाँड्ने नियम खारेज गरिएको छ । मंगलबारदेखि विमानहरूलाई चाहिएजति इन्धन बिक्री गरिएको छ ।

शनिबार निगमसँग मौज्दात एटीएफ ज्यादै कम भएपछि विमान र उडान संख्याका आधारमा इन्धन वितरण गरिएको थियो । उक्त निर्णयअनुसार बुद्धलाई १२ हजार, यतीलाई १० हजार, सौर्य र सिम्रिकलाई २५ सय लिटर मात्रै उपलब्ध गराइएको थियो । त्यसैगरी तारालाई ३ हजार, गोमा र सीता एयरलाई १२ सय र सिम्रिकलाई १ हजार लिटर इन्धन बिक्री गरिएको थियो । त्यसैगरी हेलिकप्टरहरूलाई १ हजार लिटर इन्धन दिइएको थियो ।

यसैबीच हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय १८ रुपैयाँबाट बढेर २ सय ३३ रुपैयाँ पुगेपछि निजी विमानहरूले सोमबार साँझदेखि लागू हुने गरी हवाई भाडा बढाएका थिए भने सरकार स्वामित्वको नेपाल वायु सेवा निगमले त्यस दिन भाडा दर बढाएको थिएन । तर, उसले पनि इन्धनको मूल्य बढेकामा मंगलबारदेखि लागू हुने गरी सबै रुटको हवाई भाडा बढाएको छ ।

हाल जहाजबाट इन्धन ल्याउनुपरेका लागत बढेकाले निगमले इन्धनको मूल्य बढाएको हो । सडकमार्गबाट ल्याउन थालिएपछि पुरानै दरमा इन्धन बिक्री गरिने भनिएको छ ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment