बान कि मुनले भने, ‘नेपालको लागि के गर्न सक्छु ?’

a


कार्तिक २७, २०७२- संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपालको बेहोरिरहेको भारतको अघोषित नाकाबन्दीप्रति आफू संवेदनशील रहेको बताएका छन् । राष्ट्रसंघीय मुख्यालयमा बिहीबार अपरान्ह पूर्व प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा महासचिव मुनले नेपालले पछिल्लो स्थितिप्रति राष्ट्रसंघले ‘फलोअप’ गरिरहेको टिप्पणी गरेका थिए ।

कोइरालाको स्वास्थ्य स्थितिबारे चासो राख्दै वार्ता सुरु भएको थियो । भेटवार्तामा सहभागी नेपाली टोलीका अनुसार महासचिव मुनले नाकाबन्दीका कारण नेपालले भोगिरहेको मानवीय संकटप्रति चिन्ता देखाउँदैं भुपरिवेष्ठित मुलुकको रुपमा नेपालले पाउनुपर्ने स्वतन्त्र पारवाहन अधिकार हनन बताएका थिए ।

गत बुधबार मात्र पत्रकार सम्मेलनमार्फत महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले नेपालको पछिल्लो परिस्थितिबारे मुनको अभिब्यक्तिहरु सार्वजनिक गरेका थिए ।

बिहीबारको भेटमा अघिल्लो दिनको ‘स्टेटमेन्ट’ झैं मुनले आफना भनाईहरु कोइरालालाई सुनाएका थिए ।

भेटवार्तामा सहभागी पूर्व प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सम्बन्धी पूर्व सल्लाहकार डा. दिनेश भट्टराईले कान्तिपुर सँग भने ‘पूर्व प्रधानमन्त्रीसमक्ष महासचिव मुनले नेपालको संकट समाधानका लागि आफू लागिपरहेको बताउनु भयो । उहाँ चिन्तित देखिनुहुन्थ्यो ।’

नेपालको ऐतिहासिक संविधान निर्माण गर्न सफल रहेकोमा कोइरालालाई बधाई समेत दिएका महासचिवले नाकाबन्दीको बिषयमा आफुले के मद्दत गर्न सक्छु भन्दै कोइराला सामु जिज्ञासा राखेको भट्टराईले बताए ।

प्रतिउत्तरमा कोइरालाले नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघ र मुनको नेतृत्वको प्रसंशा गर्दै सबै पक्षलाई समेटेर र कसैलाई पनि नचिढाएर समस्या समाधान गरिनुपर्ने विचार राखेका थिए ।

कोइरालाले महासचिव मुन समक्ष भारतको पछिल्लो व्यवहारले आफू नाजवाफ भएको टिप्पणी समेत गरे । परराष्ट्र मामिला सम्बन्धी पूर्व सल्लाहकार भट्टराईले कोइरालाको भनाई उद्धृत गर्दै भने ‘भूकम्पले ठूलो बिनास गरेलगत्तै सबैभन्दा छिटो, त्यत्रो ठूलो सहयोग गरेको छिमेकीले, अहिले यसो गर्दा म स्तब्ध छु र मेरो बोली नै बन्द भएको छ ।’ नाकाबन्दीले कुनैपनि पक्षको स्वार्थलाई हित नगर्ने कोइरालाको दाबी थियो । नेपालमा भारतको अघोषित नाकाबन्दी बारे खासै सार्वजनिक अभियक्ति नदिएका काँगेस सभापतिले मुनसमक्ष भारतसँगको नेपाल सम्बन्ध आफनो सरकारको सबैभन्दा महत्वपूर्ण प्राथमिकता रहेको स्मरण गरेका थिए ।

भारत नेपालको सबैभन्दा महत्वपूर्ण र मुल्यवान छिमेकी रहेको तर्क गरेका कोइरालाले छिमेकीहरुको सँगको सम्बन्धलाई सुमुधर बनाउने आफुहरुको प्राथमिक बिषय भएको बताएको एक सहभागीले बताए ।

आफ्नो नेतृत्वको सरकारले गरेका महत्वपुर्ण कार्यहरु बारे महासचिव मुनलाई जानकारी दिने क्रममा कोइरालाले कुनै पार्टी बिशेषको नामै उल्लेख नगरिकन अतिवाद अंगालेका पार्टीहरुलाई सविधानको मुलधारमा ल्याउन सफल भएको बताएका थिए ।

संविधानको सफल कार्यान्वयनका लागि आफनो पार्टी सदा सक्रिय र सहयोगी हुने कोइरालाको भनाई थियो ।

महासचिव मुनले प्रतिपक्षको रुपमा कोइराला नेतृत्वको भूमिका आगामी दिनमा महत्वपूर्ण हुने विश्वास ब्यक्त गरेका थिए भने कोइरालाले सरकारको काम कारवाहीको मूल्याङकनको आधारमा सर्मथन र विरोध गरिने बताएका थिए । स्वास्थ्य उपचारको क्रममा गत शनिबार न्युयोर्क आइपुगेका कोइरालाको बुधबार मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षण सम्पन्न भएको थियो । उनको स्वास्थ्य सन्तोषजनक रहेको चिकित्सकहरुले बताएका छन् ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment