भारतीय दूतावासले पनि माग्यो तेल

a


आश्विन २०, २०७२- अघोषित रूपमा नाकाबन्दी गरिरहेको भारतकै दूतावासले इन्धन उपलब्ध गराइदिन नेपाल आयल निगमसँग आग्रह गरेको छ। दूतावासले सोमबार फ्याक्समार्फत पत्र पठाएर इन्धन मागेको हो। ‘इन्धनको आपूर्तिमा आफैं बन्द गर्ने अहिले फेरि आफैं इन्धन उपलब्ध गराइदिनु भन्दै पत्राचार गरेको छ,’ निगमका एक अधिकारीले भने।
तराई क्षेत्रमा भएको आन्दोलन र अघोषित नाकाबन्दीले आपूर्तिमा समस्या हुँदै आएको छ। पर्याप्त मात्रामा इन्धन आयात नहँुदा सवारी साधन, कार्यालयलगायत सञ्चालनमा कठिनाइ हँुदै आएको छ। निगमका अनुसार सहज रूपमा सञ्चालन गर्न भारतीय दूतावासलगायत करिब १६ दूतावास र कूटनीतिक नियोगले इन्धन माग गरेका छन्। माग गर्नेहरूमा भारत, मलेसिया, मेक्सिको, म्यानमार, अस्ट्रेलियालगायत दूतावास छन्। ती निकायहरूले पत्रमार्फत एक सयदेखि डेढ सय लिटरसम्म इन्धन उपलब्ध गराइदिन आग्रह गरेको निगमका अधिकारीहरूले बताए। उक्त इन्धन एक साताका लागि भएको ती अधिकारीले बताए।
निगमका प्रबन्ध निर्देशक गोपाल खडकाले इन्धनबिना दैनिक कार्य सम्भव नभएकाले कार्य सहज रूपमा सञ्चालन गर्न भारतलगायत अन्य दूतावासले इन्धन माग गरेको बताए। ‘दूतावासको पत्रमा हस्ताक्षर गरेर वितरण विभागमा पठाएको छु,’ उनले भने, ‘तर इन्धन वितरण गरे/नगरेको बारेमा मलाई जानकारी छैन।’
खड्काका अनुसार परराष्ट्र मन्त्रालयले आवश्यक इन्धनका लागि दूतावासलगायत कूटनीतिज्ञ नियोगलाई निगमसँग पत्राचार गर्न भनेको छ। सोहीअनुसार दूतावासहरूले पत्राचार गरेका हुन्। तराई क्षेत्रमा भइरहेको आन्दोलन र भारतले गर्दै आएको अघोषित नाकाबन्दीका कारण इन्धन आयात हुन सकेको छैन।
भारतले नाकाबन्दी खुलेको बताए पनि भारतीय आयल कर्पोरेसन्सले त्यहाँ पुगेका ट्यांकरको १० प्रतिशतलाई मात्रै इन्धन दिने नीति लागू गरेको छ। निगमका प्रवक्ता दीपक बरालका अनुसार आइतबारबाट माथिको आदेश भन्दै १० प्रतिशत मात्रै इन्धन दिने गरिएको छ। ‘मंगलबार लोडिङका लागि १ सय ६८ ट्यांकर पठाएका थियौं। तर, माथिको आदेश भन्दै ३५ ट्यांकरलाई मात्रै इन्धन दिइयो,’ बरालले भने। १० प्रतिशतको नीति औपचारिक रूपमा जानकारी भने गराइएको छैन।
सामान्यत: निगमले पेट्रोल/डिजेल र मट्टितेल गरेर दैनिक ३ सयदेखि साढे ३ सय ट्यांकर इन्धन आयात गर्दै आएको थियो। ‘आईओसीसँगको कुराकानीमा पर्याप्त इन्धन दिने प्रतिबद्धता हुन्छ। सोहीअनुसार ट्यांकर पनि पठाउँछौं,’ बरालले
भने, ‘तर, लोडिङ एजेन्टले माथिको आदेश भन्दै १० प्रतिशत मात्रै दिएको छ।’
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment