जसले अरुको भविष्य हेरेर आफ्नो वर्तमान धान्छन्

a


‘मेरो भाग्यमा धन छ कि छैन ? मैले पैसा कमाउन सक्छु कि सक्दिनँ ? रोजगारीका लागि कुन देश जाँदा रामो होला ?’ सर्लाहीका अमलेश कुमार मण्डल हत्केला देखाउँदै एकपछि अर्को प्रश्न सोधिरहेका थिए । ज्योतिषी चुपचाप हात हेर्दै थिए । एकछिनपछि ज्योतिषी बोले, ‘शनिको दशा छ । ग्रहदशा कटाउन थप रकम लाग्छ ।’ मण्डल थप रकम तिर्न टाउको हल्लाए ।
धरानका ३१ वर्षीय किरण राना पनि ज्योतिषलाई हत्केला देखाउँदै थिए । तर, उनी ज्योतिषीमाथि विश्वास नभएको बताउँछन् । ‘यसो फुर्सदमा ज्योतिषलाई हात देखाएको मात्रै हो । मलाई यसमा विश्वास छैन,’ उनले भने ।
शनिबार देखिएको वीर अस्पतालअगाडि महांकाल मन्दिर आसपासको दृश्य हो यो । यहाँ वरपर सडकपेटीमा ज्योतिषी बसेका हुन्छन्, सानो ब्यानर बोकेर, जहाँ यस्तै व्यहोरा लेखिएको हुन्छ, ‘यहाँ जन्मकुण्डलीका साथै हस्तरेखाको आधारमा मानिसको भूत, भविष्य र वर्तमान बताइन्छ ।’
घामपानी, जाडो–गर्मी जुनसुकै बेला र मौसममा यस्ता ज्योतिष बसिरहेका हुन्छन्, यसो छेलिएर । जसको निधारमा रातो टीका हुन्छ, साथमा केही पञ्चांग पात्रो र पुस्तक हुन्छन् ।


‘विगत यस्तो भयो, आउँदा केही वर्ष दुःख छ, त्यसपछि सुख हुन्छ । सुखका लागि ग्रह कटाउनुपर्छ,’ ज्योतिषहरु सडकपेटीबाट सपना बाँडिरहेका मात्रै हुँदैनन्, केही त्रास पनि बाँडिरहेका हुन्छन् कि आउँदा केही वर्ष साढेसातको दशा छ । सर्वसाधारण भने दुई–चार पैसा तिरेर सपना किन्न खोजिरहेका देखिन्छन् ।
यी ज्योतिषकहाँ बाटो हिँड्ने युवायुवतीदेखि वृद्धवृद्धासम्म, व्यापारी, आर्मी, पुलिसले हात देखाइरहेका भेटिन्छन् ।
यहाँ हात हेराएर जानेहरुको भविष्य के हुन्छ, देखिँदैन, तर यी सडकपेटीमा भने वर्षौंदेखि अर्काको भविष्य भनिरहेका ज्योतिषी भेटिन्छन् ।
गोरखा घर बताउने ५६ वर्षीय कुमार कँुवरले रत्नपार्कमा ज्योतिषी पेसा गरेको ३० वर्ष भयो । ‘घरमै आर्मी र प्रहरीका उच्च अधिकारी समेत चिना र हात हेराउन आउँछन्,’ उनले भने, ‘आफ्नो विद्याको आधारमा सबैको सेवा गर्नु मैले उचित ठानेँ ।’


रत्नपार्क काठमाडौंको मुटु नै हो । बसपार्क पनि भएकाले यहाँ मानिसको निकै भीड लाग्छ । हजारौँको भीडमा एक–दुईले सडकपेटीका ज्योतिषीलाई आफ्नो हत्केला देखाइरहेका हुन्छन् । कोही विश्वासका साथ हात हेराइरहेका हुन्छन् भने कतिपय समयको सदुपयोग गरिरहेका हुन्छन् । त्यसैले यहाँका ज्योतिषी पनि व्यस्त व्यस्त नै देखिन्छन् । यहाँका ज्योतिषीले आफूले निम्न वर्गदेखि करोडपतिसम्मको हात हेरेको बताउँछन् ।
रामेछाप घर बताउने ५५ वर्षीय इन्द्रबहादुर रोक्का पनि यहीँका सडकपेटीमा सर्वसाधारणका भविष्य हेरिरहेका छन् । उनले सर्वसाधारणको भाग्य हेर्न थालेको १५ वर्ष भयो । ‘१५ वर्ष भयो, हरेक बिहान ७ बजे नै आउँछु, बेलुका साँझसम्म बस्छु । खाली बस्नुपर्दैन,’ उनले भने,
‘जसको हेरेको छु, उसको भविष्य थाहा पाउँछु । तिमीले भनेको मिलेन भनेर एकजना पनि आएको छैन ।’
रोकाको कमाइ पनि राम्रै छ । भन्छन्, ‘दिनमा हजार, १५ सय जति हुन्छ, कहिलेकाहीँ तीन हजारसम्म पनि पुग्छ । जेहोस्, गर्जो टरेकै छ ।’


त्यस्तै, नगरकोट घर बताउने ४७ वर्षीया हरिमाया भुर्तेल पनि ज्योतिषी हुन् । हरिमाया ६ वर्षदेखि यहीँ वरपरको सडकपेटीमा बसेर सर्वसाधारणको भाग्य र भविष्य बताउने गरेकी छिन् । हरिमाया आफूमा स्वस्थानीदेवीको शक्ति रहेको बताउँछिन् । भनिन्, ‘मलाई स्वस्थानीदेवीको शक्ति मिलेको छ, मैले मानिसको भूत, भविष्य र वर्तमान बताउन सक्छु ।’
हरिमाया पनि दिनभरि नै रत्नपार्कको पिपलबोटनजिकै भेटिन्छिन् । भन्छिन्, ‘मेरो दैनिकी मानिसहरूको हस्तरेखा हेरेरै बित्ने गर्छ ।’
हरिमायाको कमाइ पनि राम्रै छ ।
‘मेरा चार सन्तान छन् । मेरै कमाइले काठमाडौंमा छोराछोरी पढाएकी छु,’ उनी भन्छिन्, ‘तर, महिलालाई मान्छेहरु त्यति विश्वास मान्दैनन् । पुरुष ज्योतिषीलाई जतिको सहज छैन ।’
भmापामा घर बताउने ४४ वर्षीय गोविन्द न्यौपाने पनि यहीँ वरपर मानिसको भाग्य र भविष्य बताउने गर्छन् । न्यौपानेले ज्योतिषीको काम गरेको २४ वर्ष भयो । न्यौपानेले सबैसँग हात हेरेबापत पैसा नलिने बताउँछन् । ‘मैले यहाँ बसेर यो काम गरेको २४ वर्ष भयो । अशक्तहरूलाई भने म निःशुल्क हात हेरिदिन्छु,’ उनले भने, ‘कमाइ पनि राम्रै छ । दैनिक सात सयदेखि एक हजार रुपैयाँसम्म हुन्छ ।’

a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment