a
|
प्रहरी स्कर्टिङमा रहेका सवारी साधनमाथि गएराती सप्तरीको कोसीब्यारेजको भारदह र पूर्व–पश्चिम राजमार्ग खण्डकै मिथिला नगरपालिकास्थित ढल्केवरमा ढुंगा प्रहार भएको छ । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत हुँदा स्थितीलाई नियन्त्रणमा लिन दुवै ठाउँमा प्रहरीले दुई दर्जन बढी राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ । सो झडपमा परि केही यात्रु तथा प्रहरी र एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग छेउ भारदहस्थित कंकालिनी भगवती मन्दिर प्राङ्गणमा स्थानीय केही यूवाहरुले विजयादशमीको अवसरमा गएराती(शुक्रवार) सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । राती दश बजेबाट सुरु भएको सांस्कृतिक कार्यक्रमकै क्रममा प्रहरीले करिब ११ बजेबाट राजमार्गमा सवारीसाधन स्कर्टिङ थालेका थिए । तर, सुरक्षाकर्मीको बाक्लो उपस्थितीमा थालिएको स्कर्टिङमै रहेका सवारीसाधनमाथि केही उच्छृखंल यूवाहरुको समूहले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त भएको थियो ।
उक्त क्रममा प्रहरीले ढुंगा प्रहार गर्ने यूवाहरुमाथि लाठी चार्ज गर्दै सशस्त्र तथा नेपाल प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरेर प्रदर्शनकारीको भिडलाई तितर–वितर पारेका थिए । नेपाल प्रहरीले ५ राउण्ड रबर गोली र ९ सेल अश्रु ग्यास प्रहार गरेको भारदहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र खेरबारले जानकारी दिए । उनका अनुसार स्कर्टिङमा खटिएका सशस्त्र प्रहरीको दन्तकाली गण बरमझियाका टोलीले पनि केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको हो ।
सोही झडपको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि प्रहार गरेको ढुंगा लागेर कंकालिनी भगवती मन्दिरको धर्मशालाको सिसा फुटेको छ भने एक दर्जन प्रदर्शनकारीसमेत घाइते भएका छन् ।
प्रहरीका अनुसार झडपमा सशस्त्र प्रहरीका सहायक हवल्दारद्वय धनबहादुर खत्री र मो. फारुख तथा नेपाल प्रहरीका जवानहरु विजय राई, किरण कटेल र राजकुमार राजवंशी घाइते भएका छन् । घाइते पाँचै जनाको ठेलियास्थित धर्मेश्वर अस्पतालमा राती नै उपचार गरिएको प्रहरी नायव निरीक्षक खेरबारले जानकारी दिए । उनका अनुसार प्रदर्शनकारीको ढुंगा लागेर ७ वटा सवारी साधनको सिसा फुटेको छ ।
झडपपछि कंकालिनी मन्दिरमा भइरहेको सांस्कृतिक कार्यक्रमसमेत बिथोलिएको थियो । राजमार्गमा सवारी साधनको स्कर्टिङले गर्दा वैकल्पिक बाटोबाट विभिन्न गाउँका सयौं दर्शकहरु भारदहस्थित कोसी क्लोनीबाट घर फर्किए थिए । तर, कोसी क्लोनीमै रहेका सशस्त्र प्रहरीको अस्थाथी क्याम्पका सुरक्षाकर्मीले समूहमा घर जाँदै गरेकाहरुमाथि पनि अश्रु ग्यास प्रहार गरेको पीडितहरुले दाबि गरेका छन् ।
उता ढल्केवरमा पनि चौकमै आयोजन गरिएको दुर्गा पूजा मेलामा राती सांस्कृतिक कार्यक्रम आयोजन गरिएको थियो । र सोही कार्यक्रम हेर्न भेला भएका सर्वसाधारण तथा आन्दोलनकारीहरुले यातायात बन्द गराउन खोजपछि प्रहरीले अन्धाधुन्द गोली प्रहार गर्नुका साथै लाठी चार्ज गरेको थियो । संघीय समाजवादी फोरम नेपाल धनुषाका उपाध्यक्ष चन्देश्वर महतोदिएको जानकारी अनुसार प्रहरीले चलाएको गोलीको छर्रा लागी मिथिला नगरपालिका कुसुम बिछौनाका गणेश महतोसहित तीनजना घाइते भएका छन् । राती नाच हेर्न आएका सर्वसाधारण माथि समेत प्रहरीले लाठी चार्ज गरेको आरोप सद्भावना पार्टीका अध्यक्ष संजयकुमार सिंहले लगाएका छन् ।
प्रहरी उपरीक्षक रामदत्त जोशीका अनुसार आन्दोलनकारीले गरेको ढुंगामुढा लागी एक महिला यात्रु तथा एक चालक गम्भीर घाइते भएका थिए । भिडलाई तितरवितर गर्न प्रहरीले सामान्य बल प्रयोग गरेको जानकारी एसपी जोशीले दिए ।
यसैबीच मधेसी मोर्चाको अनिश्चितकालिन आन्दोलनको शनिवार ७१औं दिन सप्तरीको जनजीवन कष्टकर बनेको छ । दसैंको पछिल्लो तीन दिन सप्तरीका तिर्थस्थलहरुमा जाने सवारी साधनलाई बन्दकर्ताले अवरोध गरेको थिएनन् । तर, शुक्रवारदेखि पुन: बन्दकर्ताहरुले सप्तरीको भारदह, राजविराज, रुपनीसहितका ठाउँहरुमा टायर बालेर प्रदर्शन थालेका छन् ।
बन्दकै कारण सप्तरीमा पेट्रोलियम पदार्थ, खाना पकाउने एलपी ग्यास, औषधीसहितका आवश्यक सामग्रीहरुसमेत अभाव भएको छ ।
a
|
0 comments:
Post a Comment