अमेरीकन क्यानोनिङका सदस्य नुवाकोटमा अस्थायी घर बनाउँदै

a


कार्तिक २३, २०७२- नुवाकोट (ककनी)- भूकम्पबाट नेपालमा धेरै धनजनको क्षति भएको थाहा पाएपछि संयुक्त राज्य अमेरिका, एरिजेना युटाहका मार्क फिस्टर र किम फिस्टरलाई नेपाल पुगेर केही सहयोग गरौं भन्ने भावना जाग्यो ।

संयोगवश कम्प्युटर सफ्टवेयर इन्जिनियर मार्क र पूर्व शिक्षिका किम अहिले भूकम्प प्रभावित नुवाकोट ककनी गाविस हिले गाउँमा अस्थायी घर र विद्यालय निर्माणमा सक्रिय भएका छन् । धेरै घर भत्केको र पीडितका लागि घर पहिलो आवश्यकता भएको उनीहरूको ठम्याइ थियो । “विकट गाउँमा अस्थायी घर निर्माणमा केही सहयोग गर्न पाउँदा खुसी लागेको छ, पर्यटन र सहयोगमा सहभागी हुन पाउँदा खुसी छौँ,” दुईहप्ते सगरमाथा पदयात्राबाट फर्केपछि श्रम सहयोगमा जुटेको फिस्टर दम्पती भन्छ ।

श्रीमान्सँग कतारमा रहेकी अमेरिकाकी सेरी केन्लीलाई दोहामा धेरै नेपाली चिन्ने मौका पाएको र उनीहरूलाई भूकम्पले दुःख दिएको सुन्दा नमज्जा लागेको थियो । “त्यसैले केही न केही सहयोग गर्ने चाहनाअनुरुप यहाँ आइपुगेँ,” अस्थायी घर निर्माणमा जुटेकी केन्लीले थपिन् ।

डेढ दशकदेखि चिकित्सा सेवामा रहेकी लउरेन जेफरिस पनि बाँस, टिन बोक्दै र किला ठोक्दै घर बनाउने काममा खटिएकी छिन् । “स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण पनि गर्नेछु र थोरै भए पनि घर बनाउने काममा जुटेकी छु,” यसपछि दुईहप्ते अन्नपूर्ण पदयात्रा गर्ने सोचमा रहेकी उनले भनिन् ।

अमेरिकी क्यानोनियनिङ एकेडेमीमा आबद्ध दश जना अमेरिकी अहिले ककनी हिले गाउँमा अस्थायी घर र विद्यालय निर्माणमा जुटेका छन् । एकेडेमीका संस्थापक वरिष्ठ क्यानोनिङ प्रशिक्षक रिच कार्लसनले क्यानोनिङमा रुचि राख्ने अमेरिकी समुदायमा भूकम्पपीडित नेपालीलाई सहयोग गर्ने गरी छलफल चलाएपछि सो समूह ककनी आइपुगेको हो ।

“केही विद्यालय सामग्री, बल, लुगाजस्ता सामग्री पनि ल्याएका छौं, विभिन्न क्षेत्रका पीडितलाई करिब चार हजार अमेरिकन डलर पनि सहयोग गर्‍यौँ,” कार्लसनले भने । डरलाग्दा भिरबाट खस्ने झरनामा डोरी बाँधेर खेलिने साहसिक पर्यटनका रूपमा परिचित क्यानोनिङ खेलका लागि प्रशिक्षण दिन उनी वर्षैपिच्छे नेपालमा आउँछन् ।

कार्लसन यसपछि लमजुङको स्याँगेमा क्यानोनिङ प्रशिक्षणमा जानेछन् । ककनीमा सामूहिक क्यानोनिङ अभ्यासमा सो समूह सहभागी हुने फ्रेन्ड्स एडभेन्चर टिम प्रालिका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर लामाले बताए । अमेरिकी क्यानोनिङको सो समूहले हिले गाउँमा दश दिन बसेर बाँस, टिन, काठको घर एवम् स्थानीय गोर्वासी निमाविको आठकोठे भवन निर्माणमा श्रम गर्नेछ । सुखवती संस्थाले रु २० लाखमा सो विद्यालय बनाउन लागेको हो । ककनीमा १५ घर बनाउन सहयोग गरेका स्विट्जरल्यान्डका कास्पर ड्युरिजले सो क्षेत्रमा बनेका घर देखेर खुसी हुँदै थप सहयोग दिने बताए ।

फ्रेन्डस एड्भेन्चर टिम प्रालिका प्रबन्ध निर्देशक लामा, हिमालय म्याप हाउसका निर्देशक पवन शाक्य, सुखवती संस्थाका उपाध्यक्ष चिजमान गुरुङ, कोरियामा विद्यावारिधिमा संलग्न शैलेन्द्र कार्कीलगायतले ककनी क्षेत्रका झन्डै सयभन्दा बढी अस्थायी घर निर्माण गर्न सहयोग विदेशी साथीमार्फत सहयोग जुटाएका छन् ।

अस्थायी घरको छाना बनाउन बाँस, टिन, किला, बनाउने मिस्त्री र अन्य केही सामग्रीसहित झन्डै १५ हजारभन्दा बढीको सामग्री सहयोग गरिएको र बाँकी स्थानीय व्यक्ति आफैंले काम गर्नुपर्ने हिमालय म्याप हाउसका निर्देशक शाक्यले बताए ।

काठमाडौँबाट झन्डै ३८ किमी टाढाको तामाङ बस्तीको सो पिछडिएको बस्तीमा अस्थायी घर बनाउन सामग्री पाउँदा स्थानीय बासिन्दालाई ठूलो राहत मिलेको ककनी जगरेका जितबहादुर लामाले बताए । “भूकम्पपश्चात् कान्लामा पुरानो टिन खोजेर बारेर बस्यौं, सहयोग पाएपछि नयाँ घर बनायौ‌,” लामाले भने ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment