भारतका नेपालीभाषी भन्छन् नाकाबन्दी तत्काल हटाऊ

a


आश्विन १४, २०७२- संविधान घोषणाले खुसी बनेका नेपालीभाषी भारतीयले आफ्नो देशको सरकारले नेपालविरुद्ध गरेको अघोषित नाकाबन्दी तत्काल हटाउनु पर्ने माग गरेका छन् । भारतीय नेपालीभाषी साहित्यकार, पत्रकार, तथा राजनीतिक दलका अगुवाले ‘असल छिमेकी’ बन्न आफ्नो देशलाई सुझाएका हुन् ।
‘नेपालको आन्तरिक समस्यामा भारतले हस्तक्षेप नगरेकै जाती,’ सिलिगुडीका साहित्यकार सुकराज दियालीले भने, ‘इमानदार छिमेकीको भूमिका निभाउनुपर्ने बेलामा नाकाबन्दी गर्नु असान्दर्भिक हो ।’
नेपालले बहुप्रतीक्षित संविधान निर्माणलगत्तै नाकाबन्दीको सामना गर्नु परेकामा भारतीय नेपाली दु:खी बनेका छन् । ‘संविधान आउँदा हामीलाई खुसी लागेको थियो,’ दियालीले भने, ‘नेपाल र नेपालीको खुसीमा भारतले समेत साथ दिनुपर्थ्यो ।’ सिलिगुडीको नेपाली हाइस्कुलका शिक्षक शरद छेत्रीले नेपाल र भारतबीच वर्षौं पुरानो सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै नाकाबन्दीले यसलाई धूमिल बनाउने बताए ।
स्वर्णभूमि दैनिकका सम्पादक अशोक छेत्रीले नेपालमाथि लगाएको नाकाबन्दी तत्काल हटाउनुको विकल्प नभएको बताए ।’ भूपरिवेष्टित देशमा नाकाबन्दी गर्न नहुने अन्तर्राष्ट्रिय कानुनलाई भारतले उल्लंघन गर्न मिल्दैन,’ छेत्रीले भने, ‘यसको नकारात्मक असर भारतले नै बेहोर्नुपर्छ ।’ सुरक्षाको कारण देखाउँदै भारतले नाकाबन्दी गर्दा ८ दिनदेखि सीमावर्ती भारतीय बजार पानीटयांकी अस्तव्यस्त छ । दसैंको पूर्वसन्ध्यामा नेपाली उपभोक्ताको भीड जम्मा हुने उक्त बजार अहिले नेपाल छिर्न नपाएर थन्किएका ट्रक तथा कन्टेनरहरूले भरिभराउ छ ।
‘नाकाबन्दी गरेर भारतले नेपाललाई सोझै हेपेको हामीले ठानिरहेका छौं,’ भाकपा नेता तथा पूर्वसांसद सुमन पाठकले भने, ‘मोदी सरकारको यो ठूलो भूल हो ।’ प्रधानमन्त्री भएपछि दुई पटक नेपाल भ्रमणमा गएका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताप्रति सधैं आफ्नो मुलुकको सहयोग र सद्भाव रहने बताएको स्मरण गर्दै पाठकले थपे, ‘मोदीजीको बोली र व्यवहार फरक देखियो ।’ नाकाबन्दीले भारततिरका व्यवसायी र सर्वसाधारणसमेत असन्तुष्ट छन् । नेपालमा गएर मजदुरी गर्ने श्रमिकदेखि ठूला व्यापार/व्यवसायमा संलग्न भारतीय नागरिकले नाकाबन्दीले व्यवसाय डामाडोल बनेको उल्लेख गरे । पानीटयांकीका व्यवसायी बप्पी सिंहले भने, ‘यस क्षेत्रले मात्रै दैनिक लाखौं घाटा बेहोरिरहेको छ ।’ सीमावर्ती उक्त बजारका अधिकांश ग्राहक नेपाली हुन् । भारतीय सुरक्षाकर्मीले थोरै सामान किनमेलमा समेत कडाइ गरेको छ । चिनी किनेर घर फर्कंदै गरेका स्थानीय अन्जन मिश्रले सुरक्षाकर्मीबाट अनावश्यक सास्ती पाए । ‘एक किलो चिनीको २० भारु घूस दिनुपर्‍यो,’ उनले भने ।

a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment