a
 |

कार्तिक २३, २०७२- पूर्व ईङलिस मिडफिल्डर डेभिड बेकह्याम शुक्रबार काठमाडौंबाट टोयटाको हायस भ्यान चढेर भक्तपुरतर्फ जादै थिए । लण्डन निवासी ती ४० वर्षीय फुटबलरका आँखा जब अरनीको हाईवेको छेउछाउका पेट्रोल पम्पतर्फ मोडिएका बसमा परे उनी चकित परे । ‘के को लाइन हो यस्तो ?’ उनको साथसाथै भक्तपुरतर्फ गइरहेका नेपालीले भने, ‘डिजल भर्नेहरुको लाइन हो यो ।’ उनी अलमलिए । ‘किन ?’ उनले सोधे । बेकह्यामसहितको टोलीलाई नेपालबारे बताउन भ्यानमा राखिएका नेपाली सुजन सिजापतीले जवाफ दिए, ‘भारतले गरेको नाकाबन्दीका कारण ।’ आफ्नो निजी जेट विमानबाट ओर्लिएपछि अन्तराष्ट्रिय विमानस्थलबाट सोझै भक्तपुरको सल्लाघारी लागेका फुटबलर बेकह्यामले सल्लाघारीसम्म पुग्दा अरनीको हाईवेका दायाँबायाँका पेट्रोल पम्ममा इन्धनका लागि लाइन बसेका सवारी साधन र बाइकलाई निकै चाख मानेर हेरे । अझ उनलाई बसको छतमा खाँदिएर मान्छेहरु भक्तपुर हँुदै बनेपातर्फ गइरहेको र त्यताबाट कोटेश्वरतर्फ आइरहेका नेपाली यात्रुहरुको दृश्यले झनै छोयो । डबल डेकर बस गुड्ने लण्डन सहरका बासी बेकह्यामले लगेज राख्न बनाइएका छतमा यात्रु बसेको र लाइन बसेका बसको फोटो आफ्नो क्यामराबाट खिच्न चुकेनन् । टोयटाको त्यो पर्यटक बोक्ने हरियो नम्बर प्लेट भएको माइक्रोमा बेकह्यामलाई बीबीसीको डकुमेन्ट्री बनाउने टोलीले पछ्याइरहेको थियो । बेकह्याम मात्रै होइनन् । ती पत्रकारहरु समेत यात्रुले कोचाकोच बस र त्यस्तै अवस्थाको छत देखेर भनिरहेका थियो, ‘ओ हो यो त राम्रो स्टोरी पो बन्ने रहेछ ।’ सल्लाघारी पुगेपछि उनले ट्याम्पु चलाउने इच्छा देखाए । वास्तवमा यो ‘आइटनरी’मा थिएन । उनी ट्याम्पु चढेर भूकम्प प्रभावित भक्तपुरको श्री पद्म उच्च माविसम्म जाने कार्यक्रम थियो । यसका लागि आयोजकले तीनवटा सफा ट्याम्पु बुक गरेका थिए । इन्धन अभावको मार खेपिरहेका ती ट्याम्पुलाई दिनको ५ हजार रुपैयाँ भाडा तिर्ने सर्तमा शुक्रबारको त्यो कार्यक्रमका लागि ‘स्ट्यान्ड वाइ’ अवस्थामा राखिएको थियो । जिज्ञाषु स्वभावमा आफैं चालक सिटमा बसेका उनले सुरुमा चलाउन जानेनन् । रेस र क्लजको तालमेल नमिलेकाले ट्याम्पु हुत्तियो । करिब साढे ६ अर्ब रुपैयाँ बराबरको निजी बमबार्डियर जेटबाट यात्रा गर्ने फुटबलरले केही छिनमै ट्याम्पु सम्हाले । ट्याम्पु केहीबेरमा स्कुलमा पुग्यो । उनले विद्यार्थीसँग फुलबल र टेबलटेनिस खेले । उनीहरुका प्रस्तुति हेर्दै केही घन्टा भक्तपुरमा बिताए । विमानस्थलमा पनि आफ्ना फ्यान देखेका उनले जब भक्तपुर दरबार स्क्वारमा सुरक्षाकर्मीले सम्हाल्नै नसक्ने आफ्ना फ्यान देखे, उनी तीन छक परे । अत्याधीक भीड देखेपछि बेकह्यामका सहायकले ठूलो भीडले ‘दुर्घटना हुन सक्ने’ भन्दै फुटबल खेल नै रद्द गर्न लजेस्टीक र ग्राउन्ड सपोर्टको जिम्मा लिएको हिमालयन इनकाउन्टर्सका अपरेशन म्यानेजर सुजन सिजापतीलाई भने । सिजापतीले यो कार्यक्रमका लागि चुनेको स्थानीय क्लबका पदाधिकारी र स्वयंसेवक परिचालन गरेपछि कुनै अप्रिय घटना भएन । तर, भीड यति बढ्यो कि भक्तपुरबाट फर्किदा उनलाई भ्यानमा चढाउन सकिएन । उनलाई लगेज राख्ने ठाउँको पछाडिको ढोकाबाट गाडी चढाइयो । भ्यान भक्तपुरबाट फेरि अरनीको राजमार्गमा झर्यो । बीबीसीको टोलीले उनको अन्तवार्ता लिन थाल्यो । उनलाई अनुभव, फ्यान आदिबारे सोधियो । जवाफमा उनले नेपालमा पनि फुटबलका अत्याधिक फ्यान देखेकोमा आफू निकै प्रभावित भएको बताए । स्कुलमा पुगेका बेला उनले छोटा–छोटो अंग्रेजी वाक्यमा विद्यार्थीहरुलाई प्रश्न गरेका थिए । ती विद्यार्थीहरुले भनेका कुरा साहै्र घतलाग्दा भएको बताउँदै उनले भूकम्प गएको ६ महिना बित्दा पनि अझै पुननिर्माण हुन नसकेकोमा दुख लागेको बताए । भ्यान कोटेश्वरबाट सिनामंगल हुँदै गौशाला पुग्यो । गौशालामा जाम थियो । गौशालाको जाम छिचोल्दै बेकह्यामको कारकेड बत्तिसपुतलीमा रहेको होटल द्वारिकाज पुग्यो । होटल बाहिर सयौं फ्यान उनलाई कुरिरहेका थिए । उनी हात हल्लाउँदै फटाफट भित्र छिरे । राति उनका लागि राखिएको नेपाली खानासहितको डिनर कार्यक्रममा गायिका आनी छोइङ उपस्थित थिइन् । उनलाई युनिसेफले निम्त्याएको थियो । आनीले बेकह्यामलाई नेपालले पछिल्लोपटक भोगेको नाकाबन्दी र भूकम्पको असरबारे बताइन् । खाना खानुअघि होटलका वेटर करुवामा रहेको एइला माटोको सली (प्याला) मा हालेर बाँढ्दै थिए । बेकह्यामले वेटरसँग करुवा मागे र, आफै नेवारी शैलीमा प्यालामा खन्याए । उनलाई एइला मिठो लागेछ । फेरि थपेर दुइ सट लगाए । शनिबार बिहान ७ बजे उनी फर्किने कार्यक्रम थियो । ६ बजेतिर उनी त्यही टोयटाको भ्यान चढेर विमानस्थलतर्फ लागे । बिहान ४ बजेदेखि नै होटलबाहिर उनका प्रशंसक भेला भइसकेका थिए । तर, कसैले पनि उनीसँग फोटो खिचाउन वा अटोग्राफ लिन पाएनन् । विमानस्थलमा पनि उनका फ्यान पुगिसकेका थिए । उनलाई सोझै विमानस्थलको भीआईपी कक्षमा पुर्याइयो । प्रहरीको अनुरोधमा कसैलाई पनि भीआइपी पास दिइएको थिएन । तैपनि, विमानस्थलका डिआइजी विजय कायस्थका छोरा र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालकी छोरीले बेकह्यामलाई भेटे ।
a
 |
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment