a
![]() |
म्याच फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल खेलाडी तथा पदाधिकारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको छ । जन्मकैद सजायको मागसहित राज्यविप्लव मुद्दा दायर भएको हो ।
राज्यविरुद्धको अपराध तथा सजाय ऐनको दफा ३ को उपदफा १ अनुसार ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो ।
राज्यविरुद्धको अपराध तथा सजाय ऐनको दफा ३ को उपदफा १ मा भनिएको छ, ‘कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा निजलाई जन्मकैद हुनेछ ।’
नेपालको कानुनअनुसार जन्मकैद भनेको २० वर्ष सजाय हुन्छ । प्रहरीले प्रस्ताव गरेकोभन्दा कडा दाबीसहित जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।
प्रहरीले राज्यविरुद्धको अपराध तथा सजाय ऐनको दफा ३ को उपदफा ३ अनुसार मुद्दा चलाउन राय दिएको थियो । दफा ३।३ मा सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा आघात पार्ने षड्यन्त्र गरेमा जन्मकैद वा १० वर्षसम्म कैद हुने प्रावधान छ ।
‘उनीहरूले सार्वभौमसत्ता र राष्ट्रिय एकतामा खलल पार्ने षड्यन्त्र मात्र गरिसकेकाले हामीले ३।१ अनुसार मुद्दा दायर गरेका हौँ,’ काठमाडौंका जिल्ला न्यायाधिवक्ता लोकराज अधिकारीले नयाँ पत्रिकासँग भने । अब सोमबारदेखि अदालतमा बयान सुरु हुन्छ । बयान सकिएपछि उनीहरूको मुद्दामा बहस हुनेछ । बहस सकिएपछि न्यायाधीशले थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा छाड्ने आदेश दिनेछन् ।
तिहारअघि दुई दिन मात्र सरकारी कार्यालय खुल्नेछ । दुई दिनमा बयान र बहस नसकिए पक्राउ परेका खेलाडीको तिहार प्रहरी हिरासतमै बित्नेछ । गत २७ असोजमा पक्राउ परेका नेपाली फुटबल टिमका निलम्बित कप्तान सागर थापा, गोलकिपर रितेश थापा, सन्दीप राई तथा पूर्वराष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र अञ्जन केसीसहित राष्ट्रिय टिमका पूर्वफिजियो डेजिव थापालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको हो । उनीहरूमध्ये अञ्जन र रितेशविरुद्ध बलियो प्रमाण छ । उनीहरूले अन्तर्राष्ट्रिय म्याच फिक्सरसँग पैसा लिएको कागजपत्र नै प्रहरीले पेस गरेको छ । वेष्टर्न युनियन मनी ट्रान्सफरबाट उनीहरूले पैसा लिएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
a
![]() |


0 comments:
Post a Comment