a
![]() |
कार्तिक २५, २०७२- एमाओवादीका महासचिव कृष्णबहादुर महराले देशभक्त शक्तिहरुबीच संयुक्त मोर्चाबन्दीको आवश्यकता रहेको र अहिलेको सरकार त्यसकै एउटा संकेत भएको बताएका छन् । तर, यसलाई लिएर एमाले र एमाओवादी एकीकरण हुन लागेको भनेर गलत प्रचार गरिएको पनि उनले बताए ।
कार्यकर्ता भेटघाटका क्रममा पर्वत आएका महराले भने, ‘मुलुकलाई आवश्यक पर्दा निकास दिन गरिएको सहकार्यलाई गलत प्रचार गरिएको छ । हाम्रो पार्टी मन लाग्दा जे पनि गर्ने होइन, एकता भए पनि पहिलो चरणमा माओको बिचार मान्नेहरुबीच बृहत छलफल हुन्छ, त्यसपछि मात्रै अरु कम्यूनिष्टहरुसँग छलफल गरेर अघि बढ्छौं ।’
विगत दश वर्षयता माओवादी दलाल तथा नोकरशाहहरुको घेरामा परेका कारण पार्टी बिग्रिएर धेरैपछि धकेलिएको भन्दै अब शुद्धीकरण गरेर अघि बढ्दै श्रम र उत्पादनमुखी भएर अघि बढ्ने बताए ।
महराले अहिले एमाओवादी तीनवटा स्वार्थ बोकेर सरकारमा गएको उल्लेख गर्दै ती स्वार्थ जसरी भए पनि पूरा गराएरै छोड्ने बताए । ‘ठीक ढंगले संविधान लागु गर्न, राष्ट्रिय राजनीतिमा हस्तक्षेप बढाउन र जनतालाई राहत तथा सेवा गर्न सरकारमा गएका हौं,’ उनले भने, ‘हामी नभए संविधान लागु हुनेवाला छैन ।’
कांग्रेस र एमाले मिलेर पुरानो संविधान ब्युत्याएर द्वन्द्वकालका मुद्दा लगाएर आफूहरुलाई जेल हाल्ने तयारी गरेकाले हदैसम्म लचिलो भएर संविधान जारी गरेको भन्दै उनले भने, ‘संविधान नबनेको भए अहिले हामी जेल जाने थियौं ।’
तराईमा जारी आन्दोलनका मुख्य माग सम्वोधनको तयारी भइरहेको बताउँदै उनले केही दिनमा तराईको आन्दोलन सकिने पनि बताए । ‘आन्दोलनकारीहरुका दुइटा मुख्य माग पूरा भइसकेका छन्, सीमांकनको कुरा पनि अब समाधान हुन्छ । तिहार लगत्तै औपचारिक वार्तामा बसेर सबै समस्या समाधान गरिन्छ,’ उनले भने । तराईको समस्या समाधानका एमाले कठोर बन्दा संक्रमणकाल लम्बिएको पनि महराले आरोप लगाए ।
भारतले गरेको नाकाबन्दीलाई सबै नेपाली एकताबद्ध हुने अवसरका रुपमा आफ्नो पार्टीले लिएको उनले बताए । ओली नेतृत्वको सरकारले खुट्टा कमाउन नहुने भन्दै उनले भने, ‘ओलीले कतिबेला सम्म खुट्टा टेक्छन्, हेर्न बाँकी छ । अहिले राष्ट्रिय स्वाधिनताका पक्षमा दह्रो खुट्टा टेक्न सके हामी छिट्टै आत्मनिर्भर बन्छौ ।’
a
![]() |


0 comments:
Post a Comment