निगमले विराट पेट्रोको तेल नकिन्ने

a


नेपाल आयल निगम विराट पेट्रोलियम प्रालिबाट डिजेल–पेट्रोल नकिन्ने निष्कर्षमा पुगेको छ । हालको खरिददरभन्दा चार गुना महँगो मूल्य पेस गरेको विराटलाई प्रबन्ध निर्देशक गोपालबहादुर खड्का एक्लैले निर्णय गरी तेल ल्याउन स्वीकृति दिएका थिए ।



तर, सर्वत्र आलोचना भएपछि विराटको तेल नकिनी सोझै उपभोक्तालाई बिक्री गर्न दिन सकिने निगमको निष्कर्ष छ । विराट पेट्रोले भने आफ्नो तर्फबाट सम्झौता खारेज गरेको जनाएको छ ।



निगमका कर्मचारीले विराटलाई तेल किन्न २० करोड रुपैयाँ दिएको पेस्कीसमेत चाँडै फिर्ता गराउन पहल गर्नुपर्ने बताएका छन् । विराटबाट निकै महँगोमा तेल किनेर सस्तोमा उपभोक्तालाई बेची संस्थालाई करोडौँ नोक्सान पुर्‍याउन लागेको विषय बाहिर आएपछि प्रबन्ध निर्देशक खड्का विराटबाट तेल किन्न हच्किएको स्रोतको दाबी छ ।



स्रोतका अनुसार शुक्रबार साँझ विराट पेट्रोबाट तेल नकिन्ने विषयमा निगम अधिकारीको समान धारणा बनिसकेको छ । ‘विराटले ल्याएको तेल निगमले नकिन्ने निष्कर्ष निस्किएको छ,’ स्रोतले भन्यो, ‘उसले तेल ल्याएर आफ्नो हिसाबले बेचोस् भन्ने छ । बरु उसलाई तेल बिक्रीका लागि निगमले सहजीकरण गरिदिने भन्ने छ ।’



विराटले भारतको सिलगुडीबाट ल्याउने डिजेल–पेट्रोल झापाको चारआलीसम्म ढुवानी गरिदिने सम्झौता छ । चारआलीमा निगमको कार्यालय छ, तर तेल भण्डारण गर्ने ठाउँ छैन । भारतको नाकाबन्दीका बाबजुद एउटा कम्पनीले भारतबाटै इन्धन ल्याउने, तर निगमले ल्याउन किन नसक्ने भन्दै निगमका कर्मचारी प्रबन्ध निर्देशक खड्को निर्णयप्रति रुष्ट छन् ।



‘एउटा कम्पनीले भारतबाटै तेल ल्याएर दिन सक्ने, तर झन्डै आधा शताब्दीदेखि भारतसँग तेल कारोबार गरिरहेको संस्थाले ल्याउन नसक्ने भन्ने हुँदैन,’ स्रोतले भन्यो, ‘त्यसैले भारतबाट तेल ल्याउन सकिन्छ भने निगमले नै पहल गर्नुपर्छ भन्ने निष्कर्ष छ । तर, भारतबाट निजी कम्पनीले ल्याएको तेल निगमले किन्न हुँदैन भन्नेमा सबै कर्मचारी एकमत छन् ।’



निगमले विराटबाट प्रतिलिटर पेट्रोल १ सय ९९ र डिजेल १ सय ८७ रुपैयाँमा खरिद गर्ने (भन्सारबाहेक) गरी सम्झौता गरेको थियो । भन्सारसमेत जोड्दा उक्त तेलको खरिद मूल्य पेट्रोल २३० रुपैयाँ ७१ पैसा र डिजेल १९३ रुपैयाँ ८६ पैसा प्रतिलिटर पुग्छ । जबकि भारतकै इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट निगमले भन्सारसहित प्रतिलिटर पेट्रोल ७६ रुपैयाँ ६५ पैसा र डिजेल ५९ रुपैयाँ ३३ पैसामा खरिद गर्दै आएको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment